कहिलेकहीँ आमा भन्नु हुन्थ्यो, ‘खराब समय झ्याली पिटेर आउँदैन।’
भर्खरै बुढानिलकण्ठ स्कुल काठमाडौंबाट कक्षा ५ को परीक्षा सकेकी मैले पनि कहाँ सोचेकी थिएँ र, परीक्षा सकेर घर आउँदा यसरी घरभित्रै थन्किएर बस्नु पर्ला भनेर?
हुन त चैत महिनाको सुरूतिर नै हामीले कोरोनासम्बन्धि धैरै हल्ला सुनेका थियौं। हामी छात्राबासमा नै पढ्ने भएकाले बाहिरका कुरा त्यति धेरै थाहा पाउन गाह्राे हुन्छ।
चैत अन्तिमतिर भने विद्यालयबाट वार्षिक परीक्षा अलि चाँडो सकेर चाँडै बिदा गर्ने सूचना आयो। यो सूचनाले मलाई खुसी र दुःखी दुवै बनायो। एकातिर समय तालिकाभन्दा पहिले नै परीक्षा दिनुपर्ने भएकाले तयारी नपुग्लाकी भन्ने सोचेर दुःखी थिएँ भने अर्कोतर्फ परीक्षा सकेर चाँडै घर जान पाउने खुसी थियाे।
२०७६ सालको फागुन ३० गते नै मेरो परीक्षा सकियो। मेरो स्कुलमा पढ्ने कति दाइदिदीहरूको परीक्षा भने चैत ५ गतेसम्मै चलेको थियो। परीक्षा सकेर घर आउँदा म अति नै खुसी थिएँ। घरमा परिवारसँग बसेर अर्कै स्कुल पढिरहेकाे मेरो भाइको भने परीक्षा चलिरहेको थियो। भाइ परीक्षाको तयारीमा रहेको हुनाले उसको परीक्षा नसकिँदासम्म म घरमा पनि खुलेर रमाउन पाएकी थिइनँ।
केही दिन घरमा बसेपछि मामाघर गएँ। तर एक्कासि लकडाउनको निर्णय भएपछि भोलिपल्ट बिहानै ५ बजे आमा र बुबा मलाई लिन मामाघर आउनुभयाे। त्यतिबेला म सुतिरहेकी थिएँ। आमाबुबाले मलाई उठाउँदै भन्नुभयो, ‘अहिले ६ बजेबाट लकडाउन सुरू हुन्छ, कतै हिँडडुल गर्न मिल्दैन। त्यसैले अहिले नै घर जानुपर्छ।’
उहाँहरूको कुरा सुनेर निद्राबाट भर्खरै ब्युँझिएकी म अक्कक न बक्क भएँ। एक त राम्रो निद्रा पनि राम्रोसँग नखुलेको, अर्को कहिले नसुनेको लकडाउन। म आमाबुबासँग केही नबोली गाडीमा बसेर घर आएँ। अनि सुरू भए लकडाउनका दिनहरू!
त्यस दिनदेखि आमा पनि विद्यालय जानुभएको छैन। न त बुबा नै अफिस जानुभएको छ। बुबा घरमै बसेर अफिसको काम गर्नुहुन्छ। आमा लगायत परिवारका हामी सबै घरभित्र नै छौं। यो समय न कोही हाम्रो घरमा आउँछन्, न हामी नै कसैको घरमा जान्छौं। घरमा अत्यावश्यक कुरा चाहिएमा आमा वा बुवा मास्क, पञ्जा लगाएर निस्कनुहुन्छ र छिटै फर्कनुहुन्छ। हामीलाई बेलाबेलामा साबुनपानीले हात धुन लगाउनुहुन्छ।
लकडाउन भएको पनि तेस्रो हप्ता बितिसक्यो। यो अवधिमा म र भाइले घरमै बसेर धेरै राम्रा कामहरू सिकिरहेका छौं। मलाई नयाँ नयाँ परिकार बनाउन सारै मनपर्छ। मेरो भाइ भने घरको सरसफाइ गर्ने काममा अघि सर्छ। हामीले घरमा बसेर घरको काम सिकिरहेका छौं। यो समयमा धेरै किताब पढिसकेका छौं। कहिलेकाहीँ घर वरिपरिका दृष्यहरू खिचेर भिडिओ पनि बनाउँछौं।
समयको सदुपयोग गर्दै कहिले फिल्म हेर्छाैं त कहिले गीत सुन्छौं। यति मात्र कहाँ हो र? ड्रइङ कापीमा राम्रा राम्रा चित्रहरू कोर्यौं र रङ समेत भरेका छौं।
बिहान उठेर बुबासँग जुम्बा गर्नुको मजा झन् बेग्लै छ। लकडाउनका कारण लामो समय घरभित्रै बस्नु पर्दा स्कुल र साथीहरूको सम्झना आउँछ। कहिलेकाहीँ आफ्ना मिल्ने साथीहरूलाई म्यासेन्जरमा कल गर्छु। अनि लकडाउनमा घर बसाइको अनुभव साटासाट गर्छु।
यसैबीच घरीघरी मन पोल्छ अनि सोच्छु, ‘चाँडै कोरोनाको महामारीको अन्त्य भई नयाँ किताब बोकी कक्षा ६ मा पढ्न जाने कहिले होला?’
(कृतिशा सिंह बुढानिलकण्ठ स्कूल, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)