सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आराध्य भट्टराई हो। म कक्षा ६ को परीक्षा दिएर बसेको छु। लकडाउनका कारण परीक्षाफल सुन्न पाएको छैन। राम्रै हुन्छ भन्ने आशा छ।
हामी कीर्तिपुर नगरपालिका वडा नं. ७, इटागोलमा बस्छु। मेरो परिवारमा म, असीम दाइ, बाबा र ममी गरेर चारजना छौं।
मेरो घरको हजुरबा, हजुरआमा सर्लाहीको हरिवन गाउँमा हुनुहुन्छ। मावली हजुरबा, हजुरआमा कीर्तिपुर, चारघरेमा बस्नु हुन्छ। हामी उहाँहरूसँग टेलिफोनमा कुरा गरिरहन्छौं। उहाँहरू हामीलाई सुरक्षित बस्नु भन्नु हुन्छ। हामी पनि त्यसै भन्छौं।
उहाँहरूकाे कुरा सुन्दा सहरमा भन्दा गाउँमा खुला भएजस्तो लाग्यो। बाहिरका मानिसहरूसँग भने उहाँहरूको भेटघाट छैन। गाउँकै मानिससँग पनि टाढाबाट मात्र कुरा गर्छौं भन्नु हुन्छ।
बाबाले नेपालको डिजिटल पत्रिका सेतोपाटीबाट मजस्ता साथीहरूले लेखेको पढेर सुनाइ दिएपछि मलाई पनि लेखौं लेखौं लाग्यो। हुन त म हरेक साँझ दिनभरीका कुरा सम्झिएर डायरी लेख्दैछु।
कीर्तिपुर नगरपालिकाले लकडाउनमा पालिकाभित्रका बालबालिकाबीच अनलाइन चित्रकला प्रतियोगिता गराउने रे। बाबाले यो खबर दिएपछि म अहिले कम्प्युटरमा चित्र बनाउँदैछु। चित्रकला कोरोनामै आधारित छ। कापीमा पनि कहिलेकाँही पेन्सिल चित्र कोर्ने गरेको छु। मलाई प्रतियोगितामा भाग लिन मन छ। एउटा चित्र त यहाँ पनि पठाएको छु।
हामी चारैजना घरमा यसरी लामो समय त के दुई दिन पनि बसेको मलाई याद छैन। जागिरका कारण ममीबाबा सधैं व्यस्त रहनुहुन्थ्यो। हामी पनि स्कुल, कलेज जान्थ्यौं। यतिबेर भने हामी सबैजना घरमै छौं। मलाई त लकडाउन रमाइलो पो भइरहेको छ।
कोर्सको किताब पढ्नु परेको छैन। किताब नै छैनन् के पढ्नु। वर्षभरी पढेका किताब पढ्नै मन छैन। म अलिअलि बाहिरी किताब पढिरहेको छु। अंग्रेजीमा लेखिएका कमिक्स पढ्न मनपर्छ।
हाम्रो घरअगाडि र पछाडि खाली खेत छ। त्यहाँ हामी परिवारका सदस्यहरू ब्याडमिन्टन खेल्न जान्छौं। साथीहरूको हुल भएर खेल्न मिल्दैन। हामी टोलका मिल्ने साथीहरू टाढैबाट कुरा गर्छौ र ब्याडमिन्टन जस्ता टाढाबाट खेल्न मिल्ने खेलहरू खेल्छौं।
मेरा साथीहरूका घरमा हाम्रो घरमा जस्तै आफ्नो परिवारबाहेकका मानिसहरूको आवतजावत छैन। त्यसैले हामीलाई हाम्रा बाबाआमाले सामाजिक दुरी कायम गरेर खेल्ने छुट दिनुभएको छ। उहाँहरूको निगरानी जतिबेर पनि भैरहेको छ।
मेरो ठूलो ममीको परिवार शान्तिनगर बस्नु हुन्छ। त्यहाँ हाम्रो जस्तो खुला वातावरण छैन। त्यसैले उहाँहरू जतिबेर पनि घरमा नै बसेका छौं भन्नुहुन्छ। हुन त हामी पनि धेरैजसो घरमा नै छौं।
कम्प्युटर र मोबाइलका बारेमा मलाई बाबा र ममी भन्दा धेरै आउँछ। उहाँहरूलाई म बेलाबेलामा सिकाइदिन्छु। बाबाले कहिलेकाँही रमाइलो भिडियो देखाउनु हुन्छ। उहाँले साहित्य र पत्रपत्रिका सश्वर वाचन गरेको सुन्न मन पर्छ। हामीसँगै बसेर उहाँले वाचन गरेको सुन्छौं।
हामी परिवारका चारजना भएर मोबाइलमा लुडो पनि खेल्छौं। बाबालाई ढंग पुर्याएर खेल्न आउँदैन। हामी कुन बेला कुन गोटि चाल्ने भनेर सिकाइदिन्छौं। यसो गर्दा कहिलेकाँही उहाँले पनि जित्नु हुन्छ। धेरैजसो असीम दाइले जित्नु हुन्छ। लुडो खेलमा चाल चल्न जान्नु पर्छ। अरूलाई हराउन बुद्धि लडाउनु पर्छ।
आजकल हामीलाई युट्युबले खाना पकाउन सिकाउँछ। हामी सबै मिलेर खाना पकाउने र सरसफाइमा लाग्छौं। मलाई पकाउन र भाँडा माझ्न मन पर्छ। भुइँ पुछ्न त्यति जाँगर चल्दैन तर कहिलेकाँही भुइँ पनि पुछ्छु।
पूरै समय घरमा बस्नु पर्दा टेलिभिजन र कम्प्युटरमा अलि बढी नै लत लागेजस्तो भएको छ। म कम्प्युटरमा गेम खेल्छु र मुभी हेर्छु। साउथ इण्डियन फिल्म पनि हेर्छु। अब नेपाली फिल्म हेर्ने पनि सल्लाह भएको छ। सबैजना भए नेपाली फिल्म पनि हेर्छौं।
हामी टेलिभिजन, रेडियो र अखबारमा समाचार पनि हेर्छौं, सुन्छौं, पढ्छौं। समाचारमा मानिसहरूले दुःख पाएको थाहा पाउँदा मन खिन्न हुन्छ। मजस्तै बालबालिकाले दुःख पाएको खबरले पनि मलाई नरमाइलो लाग्छ। सबैजना उत्तिकै खुसी हुन पाए कस्तो रमाइलो संसार हुन्थ्यो जस्तो लाग्छ।
बेलाबेलामा हामी हात धुन धारामा गैइरहन्छौं। मलाई हात धुँदा २० सेकेन्ड लगाएर भाँति पुर्याएर मिचीमिची हात धुनुपर्छ भन्ने थाहा छ। हात धुने बेलामा गुनगुनाउने एउटा गीत पनि बनाएको छु आफैंले। यो गीत यसप्रकार छ,
दुई हात जोडेर हात धुने बानी
पछाडिको भागमा फोहर छ ठानी
औंलाहरुको बीचमा किटाणु छ ठानी।
दुई हात जोडेर हात धुने बानी
बुढी औंला र नङहरूमा फोहर छ ठानी
हात सबै मिचीमिची धुने, मिचीमिची धुने।
लकडाउनका बेला मेरो अनुभव डायरीमा लेखेर सेतोपाटीमा छाप्न पठाउन पाउँदा मलाई धेरै खुसी लागेको छ। पक्कै छापिन्छ होला। छापियो भने यसलाई म मेरो परिवार र धेरै साथीहरूलाई पढ्न भन्छु। एउटा कुरा, सेतोपाटीले हामीलाई केटाकेटी भनेको त्यति मन परेन। केटाकेटीभन्दा ठूला मानिसले हामीलाई होच्याएजस्तो लाग्छ। बालबालिका भनिदिए हुन्थ्यो भन्ने मेरो सुझाब छ। नानीबाबु भनेको चाहीँ राम्रो छ।
(आराध्य डिएभी शुशिल केडिया विश्वभारती उच्च माविमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)