सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना संक्रमण रोक्न देशमा लकडाउन छ। पोखरामा पनि लकडाउनका कारण सडकमा मानिसको चहलपहल छैन। गत वर्षहरूमा हाम्रो घर लेकसाइडतिर यतिखेर नयाँ वर्ष मनाउन धेरै मानिसहरू आउँथे। तर अहिले घर नजिकैका छिमेकीहरूलाई देख्नसमेत गाह्रो भएको छ।
दैनिक काम गरेर गुजारा चलाउनेहरूलाई अहिले एक छाक खानका लागि पनि मुश्किल छ। त्यसैले स्थानीय सरकार र मनकारीहरूले अहिले तिनीहरूलाई राहत बाँड्ने काम गरेका छन्।
म एक साँझ सामाजिक दुरी कायम गरी घर नजिकैको फेवाताल हेर्न गएको थिए। ताल निकै सफा र सुन्दर देखिन्थ्यो तर शान्त फेवाताललाई के थाहा, अहिले विश्व नै कोरोनाले आक्रान्त छ भनेर। सधैं लेकसाइडमा देखिने झिलिमिली होटेल र रेस्टुरेन्टहरूले उज्यालो अहिले छैन। लकडाउनले मानिसलाई मात्र होइन, प्रकृतिलाई पनि ठूलो प्रभाव परेको छ।
लकडाउनको समयलाई मैले पढ्न, खेल्न र दैनिक काममा अभिभावकलाई सघाउन सदुपयोग गरिरहेको छु। कोरोनाको समाचार सुन्दा अहिले विश्वको हालत कस्तो भयो होला भनेर सोचमग्न हुन्छु। याे समयमा मैले आफ्नो विद्यालय एसओएसका सर, मिस र मेरा साथीहरूलाई मिस गरिरहेको छु। मैले अनुमान मात्र गर्न सक्छु कि अहिले विद्यालय र कक्षाकोठाको अवस्था कस्तो भयो होला।
लकडाउनको समयमा मैले विभिन्न कथाका किताबहरू पढिरहेको छु। ती कथा सानी बहिनीलाई सुनाइराख्छु। बहिनी भर्खर स्कुलमा अक्षर चिन्न सिक्दै थिइन्। लकडाउनको समयमा उनले सिकेका कुरा बिर्सिन्छिन् कि भनेर म बिहान बेलुका उनलाई पढाउँछु। म र बहिनी कहिलेकाहीँ गार्डेनमा फुटबल खेल्छाैं। बाबा र मामु पनि हामीसँगै ब्याडमिन्टन खेल्न आउनुहुन्छ। मलाई मामुले खाना पनि बनाउन सिकाउनुहुन्छ।
फुर्सदमा हजुरबुवा र हजुरआमासँग पुराना दन्त्य कथा सुन्छु। दिउँसो गितारका नयाँ नयाँ टेक्निक सिक्दैछु। साझँ जब म खेल्नका लागि घर बाहिर आउँछु, लेकसाइडको अध्याँरो र सुनसान सडक देखेर नरमाइलो लाग्छ। यदि अहिले लकडाउन नभएको भए म कक्षा सातको किताब कापी किन्न र नयाँ ड्रेस सिलाउन व्यस्त हुन्थे। त्यसरी किनेका नेपाली र ईंग्लिशका नयाँ पुस्तकमा भएका कथा, कविता पढ्दा निकै आनन्द लाग्थ्यो।
गत चैतको लामो बिदामा हामीले सौराहा घुम्न जाने योजना बनाएका थियौं। कोरोनाको कारण त्यो सम्भव हुन सकेन। मामुबाबाको व्यस्तताका कारणले अरू बेला हामीलाई समय दिन सक्नुहुने थिएन। लकडाउनको कारण हामीले पर्याप्त समय पाएका छौं।
कहिलेकाहीँ त मनमनै सोच्दा यस्तो पनि लाग्छ कि प्रकृतिले आफ्नो बचाउका लागि कोरोना रोग फैलाएको हो। अहिले हाम्रो वातावरण स्वच्छ छ र पृथ्वीको ओजन तह पनि बाक्लिँदै गएको छ। जुन तह मानिसले खर्बौं पैसा खर्च गरेर पनि बनाउन सक्दैन थे।
वैज्ञानिकहरूले कोरोनाको औषधी पत्ता लगाएर छिट्टै यो रोगलाई विश्वबाट हटाएको हेर्ने ठूलो इच्छा छ। वैज्ञानिकहरूलाई यस काममा सफलता मिलोस्।
(प्रियदर्शन पहारी पोखरास्थित एसओएस हर्मन माइनर विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)