सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चैत ५ गते साँझ ७ बजेतिरको कुरा। म मेरी एक बहिनीलाई एसइई परीक्षाको लागि शुभकामना दिन स्न्यापच्याट खोलेर च्याट मेसेजहरू हेर्दै थिए। अकस्मात, एसइई स्थगित भएको देखेँ।
परीक्षाको १०-१२ घण्टा अगाडिको यो समाचारले उनीहरूलाई कस्तो भयो होला, सोच्नै सकिनँ। आफू पनि त्यस्तै विद्यार्थी। मनमा चिसो पसिहाल्यो।
चैत ११ गते लकडाउन सुरू भएसँगै यसले राम्रा-नराम्रा दुवै रूप देखायो। रोग लाग्न र सर्न नदिन लकडाउन र सामाजिक दुरी कायम गर्नुकाे विकल्प थिएन। श्रमिक, जागिरे र व्यापारिका आ-आफ्नै समस्या र दुःख छ।
दैनिक कमाएर खानेहरूलाई अन्योल मात्र हैन, खान, बस्न, रोजगारी, पैसा लगायत सबै कष्ट हुन थाल्यो। घर फर्किन गाडी सबै बन्द। भोक, प्यास र दुरीको पर्वाह नगरी मानिसहरू हिँडेरै घर जाने क्रम सुरू भयो। जागिरे र उद्यमीहरूलाई भने घर बस्दा छटपट भइरहेको छ। अनि व्यापारिहरू आफ्नो घाटाको हिसाब किताब गर्दै दुःखी छन्।
यसैबीच १०, ११ र १२ का विद्यार्थीहरूलाई पनि महामारीको असरले औधी पिरोलेको छ। परीक्षा हुन लागेका हामी सबै निरन्तर तयारीमा थियौं। अब हामीलाई परीक्षाको अनिश्चितताका कारण पढ्न मन नलाग्नु अनि आलटाल गरेको देखेपछि बाबाआमाले 'खै पढेकाे' भनि कचकच गर्नु दुवै स्वभाविक नै हो।
यस्तो बेला पढ्नमा एकाग्रता ल्याउन सार्है गाह्रो। काम कम अनि फुर्सत, गफ र चिन्ता बढी। त्यसमाथी मोबाइलसँगै वाइफाइ हुँदा त समाचार हेर्यो, साथीसँग च्याट गर्यो, गीत सुन्यो अनि पढाइचाहिँ थोरै।
यति सबै हुँदा पनि मनभित्र परीक्षा र पढाइकाे पिरले सताइरहने रहेछ। भविष्यमा अरू नै देशमा गएर पढ्ने सोचेकाहरूलाई अब कहिले, कसरी, कहाँ जाने भनेर बेग्लै चिन्ता होला। यी सब समस्याका कुराहरू मैले भनेर पनि साध्य छैन।
त्यसैले, अब परीक्षा कसरी लिने, के गर्दा विद्यार्थी, शिक्षक र सरकारलाई सहज हुन्छ भन्ने कुरा त सरोकारवालाले सोचिरहनु भएको छ होला। तर परीक्षा लकडाउन खुलेलगतै भयो भने धेरै विद्यार्थीलाई नोक्सान अवश्य हुन्छ। कतिपय विद्यार्थीहरू ट्युसन पढिरहेका थिए। उनीहरूको पढाइ आधा मै बन्द भएको छ। ट्युसन पूरा हुँदा त राम्रै अंक ल्याउँछु भन्ने सोचेका होलान्। लकडाउन लगतै परीक्षा हुँदा सपना चकनाचुर होला।
कतिपय काठमाडाैं बाहिरका विद्यार्थी साथीहरू आफ्नो घरगाउँ फर्किएका छन्। उनीहरूलाई तुरुन्त काठमाडाैं आइपुग्न पनि कठिन होला। अहिलेको सामाजिक दुरी कायम गर्ने, जिल्ला र प्रदेशका नाका खोल्ने कुरा पनि भने जस्तो तुरून्त सहज नहोला। यसरी हजारौं विद्यार्थीकाे परीक्षा कसरी गर्ने भन्ने पनि सरकारले पक्कै सोचिरहेकै होला।
करिब दुई हप्ताअगाडि कान्तिपुर दैनिकमा कक्षा १२ को परीक्षा वैशाखमै हुने खबर आयो। कहिले हुने लेखेको थिएन। यस्ता कुराले मन अशान्त हुन्छ। सामाजिक सञ्जालहरूमा कति मानिस त्रास र भ्रमपूर्ण कुरा पनि फैलाउने गर्छन्।
सबै सचेत नागरिकहरू आ–आफ्नो ठाउँमा जिम्मेवार र विवेकी हुन जरूरी छ। सकारात्मक सोच र व्यवहारको खाँचो छ। हामी विद्यार्थीले त परीक्षा सरेको मौकालाई भरपुर सदुपयोग गर्नुपर्छ। तयारीमा लापरवाही नगरौं। कोरोनाबाट बच्न घरमै सुरक्षित बसौं।
(दिविता गड्तौला सेन्ट जेवियर्स स्कुल, जाउलाखेल, ललितपुरमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)