सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना भाइरस महामारी कारण घरभित्रै बस्दा मैले खाना पकाउन सिकेँ। जसकारण आज म ममीलाई भन्न सक्छु, 'ममी आज म खाना पकाउँछु।' हाम्रो चार जनाको सानो परिवार छ।
डेरीको पसल भएकाले बाबा बिहान-बेलुका पसल खोल्न जानुहुन्छ। ममीकाे भने स्कुल बिदा भएकाले कहिलेकाहीँ बाबासँग पसल जानुहुन्छ। नभए हामीसँग घरमै बस्नुहुन्छ।
मलाई असाध्यै माया गर्ने मेरो दाइ सधैं पढ्नमै व्यस्त हुन्छ। बाबाले दाइलाई मोबाइलमा गेम खेल्न र टिभी हेर्न दिनुहुन्न। सायद! अर्को वर्ष एसइई दिने भएर होला। अहिले स्कुल बिदा भएकाले दिउँसाेको समयमा भने हामी कहिले चेस, क्यारामबोर्ड खेल्ने र चित्रहरू बनाउने गर्छौं।
स्कुल बिदा भएको दुई-चार दिन त मोबाइलमा गेम खेल्ने, टिभी हेर्ने गरेरै बिताउँथे। भोक लाग्यो भने ममीलाई भोक लाग्यो भनेपछि जे भन्यो त्यही बनाएर दिनुहुन्थ्यो। एकदिन सायद मेरी प्यारी ममीलाई सन्चाे रहेनछ कि के हो! सदाझैं बिहान नौ बजेतिर मैले ममी भोक लाग्यो भन्दै कराउँदा अकस्मात ममीले भन्नु भयो, 'बावु अब तिमी पनि ठूलो भयौ। तिमीले आफैं बनाए पनि त हुन्छ।'
त्यसपछि म सरासर किचनमा गए। तर आफूलाई चिया त बनाउन आउँदैनथ्यो। किचनबाट एउटा चाउचाउ झिकेँ र खान थाले। ममीले थाहा पाउनु भएछ।
कराउनुभयो, 'बिहानै काँचो चाउचाउ खाएर पेट दुख्छ।' त्यसपछि सकिनसकी बिस्ताराबाट उठेर किचनमा गएर खाना बनाउन थाल्नुभयो। ममीलाई आफू बिरामी भएर बस्दा पनि मेरो पेट दुख्छ भन्ने चिन्ता छ। एकछिन आराम गर्न पाउनु हुन्न।
म भने १२ वर्षको हुँदासम्म केही बनाएर खान सक्दिनँ।
त्यसपछि मैले सोचेँ, 'अब म पनि बिदामा खाना पकाउन सिक्छु। जसको कारण कहिलेकाहीँ ममीलाई सघाउन सक्छु।' भोलिपल्टै बिहान ममी किचनमा खाना बनाउन जाँदा म पनि ममीसँगै किचन गएँ।
ममीलाई खाना बनाउन सिकाउन भनेँ। ममी अचम्म मान्नुभयो र हाँस्दै भन्नुभयो, 'हो? ल आऊ। स्कुल पनि कोरोनाका कारण कहिलेसम्म बिदा हुने थाहा छैन। मोबाइलमा गेम मात्र खेलेर बस्नु भन्दा किचनको काम पनि सिक्छौ। पछि कहिलेकाहीँ बाबा र म पसलको काममा व्यस्त भएको बेला आफैं बनाएर खान पनि सक्छौं।'
पहिलो दिन मैलै भात र दाल पकाउन सिकेँ र ममीलाई भने, 'भोलि बिहानको भात र दाल म पकाउँछु।'
भोलिपल्ट किचनमा गएर भात र दाल कुकरमा ठिक्क पारे तर ग्यास बाल्न आएन। फेरि ममीलाई ग्यास बाल्न बाेलाएँ। भात र दाल बसालेँ। त्यसैदिन ममीले काउली, केराउ र आलुको तरकारी बनाउन सिकाउनुभयो।
पहिलो पल्ट भएर होला भात साह्राे भएछ तर दाल भने राम्रोसगँ बनेछ। सबैले घरको सानो मान्छेले पकाएको भात भन्दै मीठो मानेर खानुभयो। छोराछोरीको सानो कामले पनि ममीबाबालाई कति खुसी बनाउँदो रहेछ।
मैले भात र दाल बनाएको ममीले मामाघरसम्म भन्न भ्याउनुभएछ। मामाले फोन गरेर बिदाको बेला यस्तै नयाँनयाँ काम गर्नुपर्छ भन्दै बधाइ दिनुभयो। यसरी दिनदिनै नयाँ नयाँ तरकारी बनाउन सिक्दैछु।
आजभोलि त कहिलेकाहीँ एक्लै खाना बनाउँछु। अब भविष्यमा कसैले मलाई यस्तो मीठो खाना बनाउन कहाँ सिकेको भनेर सोधे सबैलाई भन्न सक्छु, '२०७६ साल, चैत महिनामा कोरोना भाइरसको महामारी फैलिएर घरभित्रै क्वारेनटाइनमा बस्दा ममीबाट सिकेँ।'
मजस्तै सबै साथीहरूलाई भन्न चाहन्छु, 'मोबाइलमा गेम खेलेर र टिभी हेरेर मात्र बस्नुभन्दा केही नयाँ कार्य गरौं। मजा आउँछ।'
(अंकित पौडेल सौरदिप बोर्डिङ स्कुल, बनस्थलीमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)