सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सुप्रिया पौडेल हो। मेरो घर अर्घाखाँची जिल्ला, भूमिकास्थान नगरपालिकाको वडा नम्बर ९ चरेपानीमा पर्छ। मैले कक्षा २ सम्म ढिकुरामा रहेको श्री सिद्ध गुफा प्राथमिक विद्यालयमा पढेकी हुँ।
जंगलकाे बाटो साना दुई खोल्सा तरेर झन्डै २०-२५ मिनेट हिँडेपछि बल्ल स्कुल पुगिन्थ्यो। मेरो घर पहाडको झन्डै टुप्पैमा हो। घरमाथि पैंयू, कटुस, खस्रु र गुराँसको घना जंगल छ। स्कुल भने गाउँको बीचमा छ।
गुणस्तरीय पढाइको खोजीमा मेरो परिवार चरेपानीबाट सन्धिखर्क आएको हो। हामी जस्तै हाम्रा छिमेकीहरू प्रायः कोही काठमाडाैं, कोही बुटवल त कोही सदरमुकाम सन्धिखर्क झरेका छन्। सदरमुकामको बसाइ, बोर्डिङ स्कुलको शुल्क, भरपर्दो रोजगार र व्यापार पनि राम्रो नभएपछि हाम्रै लागि भनेर बाबा विदेशिनुभयाे। म दुई वर्ष पनि भइसकेकी थिइनँ। भाइ त ममीको पेटमा जम्मा एक महिनाको थियो रे।
मेरा काका पहिल्यैदेखि विदेशमा हुनुहुन्थ्यो। उहाँले भिसा मिलाएर बाबा जानु भएको हो। हाम्रो बाबाजस्तै गाउँका धेरैजसो अंकल र ठूलो बुवाहरू विदेशतिरै हुनुहुन्छ। प्रायः दुई वर्षको अन्तरालमा बाबा दसैंमा नेपाल आउनुहुन्छ। परार साल आउनुभएको थियो।
यो वर्षको मङ्सिरमा आउने कुरा थियो। हेरौं! के हुन्छ। मेरो बाबा दुबईको एउटा सुपर स्टोरमा काम गर्नुहुन्छ। पहिला दिनको ४ घण्टाका दरले दिनको जम्मा ८ घण्टा मात्रै काम गर्नुपर्थ्यो। कोरोनाले गर्दा धेरैको रोजगारी गुमेपछि अहिले १२ घन्टा काम गर्नुपर्छ। कहिले जागिरबाट निकालिदिन्छ त्यो पनि ठेगान छैन रे।
बाबाले चिनेकै ९-१० जना अंकलहरूको जागिर फुस्की सक्यो। तर नेपाल आउन पाउनुभएको छैन रे। सरकारले आउन नदिएकाले। बचाएको पैसा पनि सकिनै लाग्यो होला। हामीजस्तै उहाँहरूका पनि छोराछोरी होलान्। बोर्डिङ स्कुल पढाउनै पर्दो हो। सरकारी स्कुल गतिला भइदिएको भए अलि धेरै सजिलो हुन्थ्यो होला है? सबैको घर पनि छैन होला। कोठा भाडा पनि तिर्नै पर्यो। न नेपाल आउन पाउने न काम नै पाउने? कस्तो अफ्ठ्यारो!
त्यस्ता समस्या समाधान गर्न कसलाई भन्ने होला? नेपाल सरकारले केही गर्ला त? म यस्ता अनेकौं कुरा सम्झिन्छु। डर लाग्छ। धन्न मेरा बुवाको जागिर फुस्केको छैन।
बाबाले हरेकपटक नेपाल आउँदा हामीलाई नयाँ लुगा, जुत्ता ल्याइदिनुहुन्थ्यो। थरीथरीका मिठाई-बिस्कुट पनि ल्याइदिनुहुन्थ्यो। हामीलाई पढ्न सजिलो होस् भनेर बाबाले ल्यापटप पनि ल्याइदिनुभएको छ। मैले अहिले यो लेख पनि यही ल्यापटपबाट लेख्दैछु। मलाई नेपाली टाइप गर्न नआउने हुँदा मैले युनिकोड नेपाली कन्भर्टर भन्ने सफ्टवेयरको प्रयोग गरेकी छु। यसमा रोमनमा टाइप गरेपछि आफैं नेपालीमा कन्भर्ट हुन्छ। फुर्सदका बेला मेरी ममीले कविता टाइप गर्न पनि यही सफ्टवेयरको प्रयोग गर्नुहुन्छ।
मेरो ममी कविता लेख्नुहुन्छ। ममीका कविता प्रायः बाबालाई 'डेडिकेटेड' गरेर लेखिएका हुन्छन्। एउटा गीत छ नि 'सुन साइँली, सुन साइँली..चालिस कटेसी रमाउँला' भन्ने, हो त्यस्तै खालका हुन्छन् मेरी ममीका कविताहरू पनि।
मेरा बुवा गीत गाउनु त हुन्न तर मलाई कताकता त्यो गीत मेरै बुवाले गाएको झैं लाग्छ। मलाई मेरी ममीजस्तै हिम्मतवाली र बुवाजस्तै मिहेनेती बन्नु छ।
कोरोनाले गर्दा लकडाउन भएसँगै म यो पटक चरेपानी जान सम्भव भएन। बिदामा घर गएका बेला हजुरबुवाले हामीलाई ज्ञानगुनका कथा, गाउँखाने कथा, उखानटुक्का आदि सुनूँसुनूँ लाग्नेगरी सुनाउनुहुन्छ। हजुरआमाले मेलापात जाँदाका, हाटबजार र माइतमावलका पुराना कुरा सुनाउनुहुन्छ। मलाई अरूका कुरा सुन्न खुब रमाइलो लाग्छ। लकडाउन बेला म हजुरबुवा र हजुरआमालाई खुबै मिस गरिरहेकी छु।
घर जान सम्भव नभएपछि हामी मामाघर, घोचेखोला गयौं। लकडाउनले चरेपानीमा बनैभरी गुराँस फूलेको हेर्न नपाए पनि मामाघरमा लामो समय बस्ने मौका जुर्यो। सानी ममीले बिहे र मामा इन्जिनियरिङ पढ्न अमेरिका गएपछि आजकल मामाघरमा बुढा भएका हजुरबुवा र हजुरआमा मात्रै हुनुहुन्छ। त्यसैले त हजुरबुवा कहिलेकाहीँ भन्ने गर्नुहुन्छ, '१२ छोरा १३ नाति बुढाको धोक्रो काँधैमाथि।'
बुढेसकालमा छोराछोरीसँग बस्न नपाए पनि उहाँहरूको प्रगती देखेर खुसी हुनुहुन्छ। अस्ति भन्दै हुनुहुन्थ्यो, 'मैले दुःख गरेकै कारण आज मेरा छोराछोरीको जीवन सजिलो भएको छ। नामदाम भनेको बिस्तारै कमाउँदै जालान्।'
मामाघरको हजुरबुवा र हजुरआमा प्रायः खेतीपाती, वस्तुभाउमै दिनभर व्यस्त रहनुहुन्छ। आफूले सकुन्जेल हातखुट्टा चलुन्जेल काम गरेरै खान्छौं भन्नुहुन्छ। फुर्सद भएका बेला आफूले गरेका दुःखका अनेक कहानी सुनाउनुहुन्छ। त्यस्ता काहानी कुनै आँशु नै खस्ने खालका हुन्छन् त कुनै चाहिँ हाँसो उठ्ने। अचम्म लाग्ने खालका हुन्छन्।
म अलि चुल्बुले भएकैले गर्दा उहाँहरूले धेरैजसो मलाई सम्झाउने गर्नुहुन्छ, 'मिहिनेत गर्दै जानुपर्छ। साथीहरूसँग मिल्नुपर्छ। बोल्न पायो भने प्याच्च बोल्नु हुँदैन। खान पाइयो भनेर क्वाप्प खानु हुँदैन। बस्न पाइयो भनेर थ्याच्च बस्नु हुँदैन। आत्तिनु हुँदैन। मात्तिनु हुँदैन।'
सबैचाहिँ अहिले सम्झिन तर यस्तै-यस्तै भन्नु हुन्छ।
आजकाल सेतोपाटीमा मजस्तै उमेरका केटाकेटीहरूको लेख पढ्ने गरेकी छु। धेरै जसोले फिल्म हेरेको, चित्र बनाएको, इन्टरनेटमा कथा सुनेको, कथा पढेको, मिदासबाट पढेको, खाना र खाजा पकाएको आदि इत्यादी लेखेका छन्।
मैले पनि लकडाउन बेला फिल्महरू हेर्ने, चित्र कोर्ने, समाचार पनि हेर्ने गरेकी छु। खाना र खाजा त म पहिले नै पकाउने गर्थेँ। तर ममीले पकाएको जस्तो मिठो नभए पनि खानै नहुने भने हुँदैनथ्यो। आजकाल त म नियमितजस्तै खाना पकाउने गर्छु। ममी, हजुरबुवा र हजुरआमा मकै गोड्न व्यस्त भएको बेला त झन् मैले बिहान बेलुकै खाना पकाएर खुवाएको। दिउँसोको खाजा पनि।
आजकाल कहिलेकाहीँ हजुरबुवासँगै जंगलमा घाँस काट्न जान्छु। घाँस काट्न जाँदा सबैलाई पुग्नेगरी काफल र ऐंसेलू पनि टिपेर ल्याउँछु। कहिले ऐंसेलु र काफल नुनखोर्सानीमा साँधेर खान्छौं। कहिलेकाहीँ त्यत्तिकै। सार्है मीठो हुन्छ। तपाईंले खानुभएको छ?
लकडाउन चाँडै खुल्यो भने अर्घाखाँची आउनुस् है? काफल र ऐंसेलु खान अनि गुराँसका थुँगाको मह चुस्न। निम्तो त चुल्है, निम्तो।
परीक्षा सकिएपछि बुटवलको बुढा मामाघर, कपिलवस्तुमा हुनु भएको कान्छा हजुरबुवाको घर अनि त्यतैबाट मौका मिलाएर लुम्बिनी घुम्ने योजनालाई कोरोनाले चकनाचुर बनाइदियो। सानी ममीले पनि काठमाडाैं घुम्न बोलाउनुभएको थियो। मलाई भुकम्पले ढलेर बन्दै गरेको धरहरा, चिडियाखाना, पशुपतिनाथ, बौद्ध र स्वयम्भुनाथ अनि काठमाडाैं, ललितपुर र भक्तपुर दरबार स्क्वायर घुम्न पनि असाध्यै मन थियो। सबै मनमै रह्यो।
आजभोलि फोन गर्दा, टिभी र रेडियोबाट घरभित्रै बस्न, विदेशबाट कोही आएको भए सतर्क हुन, ज्वरो आएको भए खबर गर्न, हात धुन, बिना काम घरबाहिर नजाने सूचना बजिरहन्छन्। अरू सबै ठीकै हो तर घरबाहिर ननिस्कन भनेको त्यति ठीक होइन भनेर घरमा कुरा गरेको मैले पनि सुनेकी छु।
सायद ती सुचना सहरका मान्छेलाई भनेर बनाइएका होलान्। यदि घरबाट बाहिर ननिस्कने हो भने हाम्रा वस्तुभाउ सबै मर्दैनन्? हाम्रा खेतबारीका मकै कसले गोडिदिन्छ्न्? त्यसैले यस्ता खालका सुचना सहर र गाउँका लागि भनेर छुट्टा-छुट्टै बनाएको भए बढी प्रभावकरी हुन्थ्यो भन्ने हजुरआमाका कुरा मलाई पनि सही नै लागेको छ। यस सम्बन्धमा तपाईंको धारणा के छ कुन्नी?
मैले सबै कुरा त बुझेकी छैन तर यतातिर पनि मान्छे एकअर्काको घरमा आउजाउ भने गर्दैनन्। बजार र यताउता कसैकोमा नजाने भए पनि हामीलाई ममीले साबुनपानीले मिचीमिची हात धुन र तातो पानी पिउन लगाइरहनुहुन्छ।
अब त स्कुल बिदा भएको पनि धेरै दिन भैसक्यो। कहिले बिदा होला भनेर कुरेर बस्ने मलाई आजकाल स्कुल जान खुबै मन लागेको छ। मन लागेर के गर्नु? कोरोनाको महामारी अझै सकिएको छैन। आजकाल मैले मेरा साथीहरूलाई पनि खुबै मिस गरिरहेकी छु। कसैकसैलाई फोन पनि गर्ने गर्छु।
स्कुलमा रमाइलो गरेको, खेलेको, खाजा साटेर खाएको याद आइरहन्छ। फेरि कहिले आउने होलान् त्यस्ता दिन? अहिले पनि म बेखुसी छैन। मामाघरमै बस्न पाइएको छ। न होमवर्क गर्नुपर्ने झन्झट। न त केही कण्ठ नै गर्नुपर्ने। घरमा काम सघायो, पढ्न मन लाग्दा पढ्यो, जे मन लाग्छ त्यही पढ्यो, लेख्न मन लाग्दा लेख्यो, चित्र बनाउन मन लाग्दा बनायो। सुत्न मन लाग्दा सुत्यो। पढे-लेखेका कुरा न कसैले सोध्ने, न परीक्षा नै दिनुपर्ने। यसरी पो मजा हुँदो रहेछ पढ्न। जति लकडाउन हुन्छ त्यतिन्जेल सचेत भएर सावधानी अपनाएर बस्ने। सकिएपछि त फेरि उही त हो।
लेख्ने बानी छुट्ने पो हो कि भनेर अलि पहिलेदेखि नै ममीले मलाई दैनिकी डायरी लेख्न भन्नुभएको थियो। सुत्ने बेलामा कसले लेखोस् भनेर सुरूमा त टेरेकै थिइनँ। ममीले फेरि अर्को 'आइडिया' निकाल्नु भयो। साँझ ६ बजेभित्र लेखिसक्नुपर्ने। खाना खाएपछि सबैलाई सुनाउनुपर्ने। कुरो मलाई पनि चित्त बुझ्यो।
नयाँ वर्षको सुरूवातसँगै ममीको सहयोगमा मैले दैनिकी लेखन सुरू गरेकी छु। एक दिन नेपालीमा लेख्यो भने अर्को दिन अंग्रेजीमा। लेख्यो अनि सबैलाई सुनायो। ममीले लेखेको पनि हामीलाई सुनाउनुहुन्छ। साह्रै रमाइलो हुने रहेछ। तपाईं पनि लेख्नु हुन्छ दैनिकी?
(सुप्रिया पौडेल गौरी शंकर बोर्डिङ स्कुल अर्घाखाँची, सन्धिखर्कमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)