सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
२०७६ साल चैत ५ गते मेरो परीक्षा सकियो। ६ गतेदेखि विद्यालय बिदा भयो। बिदा भएको केही दिनपछि नै देशमा लकडाउन भयो। मैले मेरो ममीलाई किन लकडाउन गरिएको भनेर सोधेँ।
ममीले भन्नुभयो, 'छोरी चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस अहिले विश्वभर फैलिरहेको छ। एक व्यक्तिबाट अर्कोमा र अर्कोबाट अर्को हुँदै अनेकौंमा सर्ने भएकाले यसबाट सुरक्षित हुन घरभित्रै बस्न सरकारले लकडाउन घोषणा गरेको हो।'
कोरोनाको कारण ममी पनि अफिस जानुभएन। यो समय मैले मेरो परिवारसँग बिताउन पाएँ। कहिले पुस्तक पढेँ, कहिले चित्र बनाएँ, कहिले कविता लेखेँ। कहिले टिभी हेरेँ, कहिले नाचेँ त कहिले गीत गाएँ। कहिले ममीलाई मिठामिठा खानेकुरा बनाउन सघाएँ पनि।
कहिलेकाहीँ भने असाध्यै 'बोर' लाग्यो। ममीले मलाई बोर नमान्न भनिरहनुहुन्थ्यो, 'नानु हामीमात्र हैन, संसारभर नै यस्तै भैरहेछ। हामी घरभित्रै बसेर कोरोनालाई भगाउनुपर्छ। बरू सृजनात्मक काममा लाग। तिमीलाई जे गर्न मन छ, बोर नमानिकन गर।'
बाबाले पनि एकछिन पढ्, एकछिन खेल भन्नुहुन्थ्यो। मलाई लकडाउनका बेला एक किसिमले धेरै कुरा गर्ने अवसर पाएजस्तो पनि लाग्यो।
एकदिनको कुरा हो, ममी र म करेसाबारीमा बिरूवा रोप्न गयौं। ममीले विरूवा, फूलहरू रोप्नु भयो। मैले पनि त्यसमा पानी हाले। ममीले कुटोले खनेको देखेर मलाई पनि रहर लाग्यो। मैले गमलाको माटो कोट्याएर मिलाएँ। करेसाबारी पनि खनेँ। एकछिनमा गलेँ।
म गलेपछि ममीले 'ल छोड तिमी गल्यौ, पहिलोचोटी कुटो समाएकोले' भनेर खन्न थाल्नुभयो। करेसाबारी हामीले राम्रो बनायौं। काम सकेर साबुनपानीले २० सेकेन्डसम्म मिचेर हात धोयौं। म माथि कोठा गएर टिभी हेर्न थालेँ।
बेलुकी ७ बजे हामीले खाना खायौं। ८ बजेको समाचार हेर्दै गर्दा मेरो हात पोलेजस्तो गर्यो। यसो हेरेको पानी फोको जस्तो देखेँ। मैले ममीलाई हात पोलेको र फोको उठेको भनेर देखाएँ।
ममीले 'तिम्रो हातमा पानी फोका होइन, ठेला उठेको हो। तिमीले आज पहिलोचोटी खनेकी हुँदा यस्तो भएको हो' भन्दै मुस्कुराउनु भयो। मैले ठेला भन्ने शब्द कहिल्यै सुनेकी थिइनँ। ममीलाई ठेला कसरी उठ्छ भनेर सोधेँ।
'तिमीलाई थाहा छ छोरी? किसानहरूले खेत खन्दा धेरै मिहेनेत गर्छन्। छोरी, जीवनमा मिहेनेत गर्नलाई धेरै दुःख गर्नुपर्छ। किसानहरूले पनि खेत खन्दा उनीहरूको हातैभरि ठेला उठेका हुन्छन्। तिमीलाई यही एउटा ठेलाले यति पोल्यो भने आफैं सम्झ त किसानहरूको हातमा उठेका ठेलाहरूले कति धेरै दुख्छ होला?,' ममीले मेरो हातमा तेल लगाइदिँदै फेरि भन्नुभयो, 'छोरी जब कुनै भारी सामान बोक्दा तिम्रो हातमा जोडको दबाव पर्छ तब ठेला उठ्छ। तिम्रो हातले कहिल्यै कुटो नसमातेकाले हातमा ठेला उठ्यो। किसानहरूले त कुटो मात्र नभएर कोदालो, हलोको प्रयोग गर्छन्। यस्तो गर्दा उनीहरूको हातमा पनि जोडले प्रेसर पर्छ र ठेला उठ्छ।'
मलाई किसानहरूको कति ठूलो योगदान हुँदो रहेछ भन्ने लाग्यो। किसान नभए त हामीलाई पेट पाल्न पनि कति गारो हुने रहेछ। उनीहरूलाई हामीले सम्मान गर्नुपर्छ र उनीहरूले गरेका कामबाट प्रेरणा लिनुपर्छ। किसानहरू त दिनरात, हिउँद-वर्षा केही पनि नभनिकन काम गर्छन् र देशभरिका मानिसको पेट पाल्ने काम गर्दा रहेछन्। यिनीहरू त कर्मवीर रहेछन्। ठेला उठ्नु भनेको त मिहेनत रहेछ। मैले कुराको अर्थ लगाएको सुनेर ममी दंग पर्दै भन्नु भयो, 'मेरी छोरी कति बुझ्झकी।'
मैले फेरि भने, 'ममी यो लकडाउन बेला घरको महत्व कति रहेछ बुझेँ। घर बनाउने मान्छे पनि महान है ममी? घरलाई हामीले स्याहारे पो घरले पनि हामीलाई सुरक्षित राख्ने रहेछ। लकडाउनको समयमा मैले धेरै कुरा सिक्न पाएँ। स्कुल खुलेको बेलामा त स्कुल जाँदा आउँदा र होमवर्क गर्दै ठिक्क हुन्थ्यो।'
ममी मेरा कुरा सुनेर मुसुमुसु हाँसिरहनुभयो। यस्तै फुर्सदका बेलामा त धेरै कुरा सिकिने रहेछन् नि। अब त म बोर मान्दिनँ जस्तो लाग्यो। काम गर्ने मानिसलाई सम्मान गर्ने र आफ्नो घर वरपर सफा राख्नुपर्ने भावना पलायो। घर सफा राखे आफू पनि स्वस्थ होइन्छ र मिहेनत गर्ने मानिसको सम्मान गरे आफू पनि मिहेनति होइने कुरा बुझें।
रातको ९ः१५ बजिसकेको हुँदा ममी, बाबाले सुत्न जाऊ भन्नुभयो। त्याे दिन धेरै कुरा सिक्न पाएकीले म पनि खुसी भएँ। अब कोरोनालाई जित्न लकडाउनमा बोर नमानी नयाँ नयाँ कुरा सिक्ने प्रण गर्छु।
(प्रलिशा अधिकारी इपिएस स्कुल, मिनभवन काठमाडाैंमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)