सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म अहिले काठमाडाैंमा बस्छु। कक्षा ६ को परीक्षा दिएर बसेकी छु। मेरो परीक्षा चैत १३ गतेदेखि सुरू हुनेवाला थियो। कोरोना भाइरसका कारण फागुन २७ गतेबाट सुरू भयो। चैत ५ गते सकियो। हाम्रो रिजल्ट पनि लकडाउनकै कारणले भएन।
हाम्रो आफ्नै व्यापार छ तर लकडाउनका कारण बन्द भयाे। मेरो भाइ तीन वर्षको छ। अहिले हामी सबै घरमै छौं। वार्षिक परीक्षा पछि सबै परिवार बिराटनगर जाने कुरा थियो। बिराटनगरमा मेरो हजुरबुवा हजुरआमा लगायत सबै आफन्तहरू हुनुहुन्छ। कोरोनाका कारण त्यो पनि गर्न पाइएन। अहिले हामी घरमै बसिरहेका छौं।
यति बेला घरमै बसेर विभिन्न विषयको बारेमा युट्युबमा पढिरहेकी छु। मोनालिसा, इजिप्टको पिरामिड, आदिका बारेमा भिडिओहरू हेरेँ। पहिला त मलाई मोनालिसा एउटा चित्र हो भन्ने थाहा थियो। तर अहिले लियोनार्दो दा भिन्चीले सन् १५०५ मा बनाउन सुरू गरेकाे भन्ने थाहा भएको छ। उनलाई सबभन्दा धेरै समय ओठ बनाउन १२ वर्ष लागेको रहेछ। मोनालिसा को हुन्? भन्ने बारेमा पनि धेरै कथा रहेछन्। मोनालिसाको वास्तविक तस्बिर पेरिसको 'लुभ्र म्युजियम' मा राखिएको रहेछ।
पिरामिडका रहस्यहरू पनि एकदमै रमाइला लागे। पिरामिड त्रिकोण आकारका छन्। ती नजिकबाट हेर्दा नमिलेको जस्तो तर परबाट हेर्दा एकदमै मिलेको देखिने रहेछ। आजभन्दा ४ हजार वर्ष अगाडि केही उपकरण नभएको समयमा त्यति ठूला पिरामिड कसरी बने होला भन्ने कुराको जवाफ अझैं भेटिएको रहेनछ। सबैले यसरी बनेको हुनसक्छ मात्र भन्छन्।
युट्युबमा यस्ता भिडिओ हेर्नेसँगै यति बेला म घरको काम पनि सिकिरहेकी छु। चिया पकाउने, घर सफा गर्ने, लुगा धुने कामहरू जानिरहेकी छु। भाइ मसँग खेल्छ। उसलाई पनि धेरै कुरा सिकाइरहेकी छु। भाइलाई क, ख लेख्न सिकाउँछु। ऊ भर्खरै स्कुल जान थालेको छ। हामी यति लामो समय कहिल्यै यसरी सबै सँगै बसेका थिएनौं। अरू बेला दिउँसो स्कुल गइहाल्नुपर्थ्यो। यो लकडाउनका कारण सबै सँगै बस्न पाएका छौं।
आमालाई घरको काम गर्न, भाइलाई हेर्न, खाना खुवाउन कति गार्हो हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ। बाबा पनि दिनभरी घरमा हुँदा रमाइलो भएको छ। बाबाले आफूँ सानो हुँदाको कथा, गाउँघर, साथीहरू र स्कुलको बारेमा पनि सुनाउनु हुन्छ। बाबाको कुरा सुन्न रमाइलो लाग्छ।
हामी बेलुका समाचार हेर्छौं। कोरोनाको कारण विभिन्न देशमा मान्छेको मृत्यु भएको खबर सुन्दा धेरै नराम्रो लाग्छ। हाम्रो देशमा पनि कोरोनाको बिरामी भेटिएको छ। अहिले सबैतिर लकडाउन भएको छ। हाम्रो स्कुल जस्तै सबै स्कुलहरू बन्द भएका छन्। यसलाई फैलिन नदिनको लागि हामीलाई घरमै बस्नुपर्छ भनिएको हो।
भाइ बाहिर खेल्न र घुम्न जाने भनेर जिद्धी गरिरहन्छ। यति बेला बाहिर जानु हुँदैन भन्ने उसलाई थाहा छैन। हामी उसलाई भुलाउन म्यासेन्जरमा आफन्तसँग कुरा गराउछौँ। फिल्म हेर्न पनि भन्छौं तर ऊ मान्दैन। उसले मन पराएका कुराहरूसँग खेल्छौं।
कोरोना भाइरस छिट्टै हराओस् र लकडाउन पनि खुलोस्। कसैलाई दुःख कष्ट नपरोस्। स्कुल छिट्टै खुलेर साथीभाइसँग खेल्न र पढ्न पाइयोस्।
(सम्पदा सुवेदी बेबिलोन नेसनल स्कुल, शान्तिनगर, काठमाडौमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)