सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम स्मृति कँडेल हो। १३ वर्षकी भएँ। गुल्मीको श्री शृङ्गा माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छु। हाम्रो परीक्षा सकिए पनि नतिजा प्रकाशन हुन सकेको छैन। अहिले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएकाले लकडाउनको घोषणा गरिएको छ।
यसकारण हाम्रो विद्यालयको पठनपाठन पनि रोकिएको छ। चैत ६ गतेदेखि विद्यालय बन्द भएको छ।
सुरूमा त विद्यालय जान नपरेकाले मन फुरूंग भएको थियो। पछिपछि भने हामीजस्ता विद्यार्थीको शैक्षिक अवस्था कस्तो हुने भन्ने चिन्ता लाग्न थाल्याे। विद्यालय बन्द भएका कारण साथीभाइसँग रमाएर पढ्न नपाए पनि घरमै स्वः अध्ययन गर्ने मौका मिलेको छ। म पनि घरमै बसी स्वः अध्ययन गर्छु। युट्युबमा विभिन्न विषयका भर्चुअल क्लास हेर्छु। विद्यालयमा संचालन भएको सात दिने अभिनय कक्षा पनि लिएकी थिए।
दिउँसोको समयमा म र घरका अन्य सदस्य मिलेर विभिन्न चेतनामुलक नाटक बनाएर युट्युबमा राख्छौं। आफन्त, शिक्षकशिक्षिका र साथीहरूले राम्रो छ पनि भन्नुभएको छ।
साँझपख ब्याडमिन्टन खेल्छु र खाना खाएपछि विभिन्न लेख जस्तै, कथा कविताहरू लेख्छु। मैले पनि केही कविता लेखेकी छु। 'मेरो देश' शिर्षकमा हिजो लेखेको कविता यस्तो छ:
यो देश मेरो मुस्कुराउँछ हिमालको काखैमा
प्रकृतिका सुन्दर दृश्य यी मेरा आखैँमा
सगरमाथा सर्वोच्च शिखर यही नेपालैमा
गुराँस फूल्छ कोइली गाउँछ पहाड लेकैमा
तराइका फाँट देशको अन्न भण्डार
नेपालैका जनक बुद्ध प्रसिद्ध संसार
नदी र नाला झरना बग्छ मोतिझैं सरर
वन र जंगल अनेक प्राणी मन मेरो फरर
नेपाली पुर्खा वीर गोर्खाली विश्वमै चर्चित
वीरहरूको साहसले गर्दा छौं हामी हर्षित
यसरी लकडाउनको सदुपयोग गर्ने हो भने विद्यार्थीका लागि फाइदाजनक हुन्छ भन्ने कुरा बुझेकी छु। त्यसैले लकडाउनले आफूमा नकारात्मक असर गरेको अनुभव गरेकी छैन।
सेताेपाटीमा हाम्रा कुराहरू पनि प्रकाशन हुन्छन् भनेर मलाई मामाले जानकारी दिनु भएपछि मैले यो समयमा गरेका कुरा लेखेकी हुँ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)