सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम एभान्जोलिना कार्की हो। म श्री जुगल इङ्लिस मिडियम स्कुल कपन, काठमाडौंमा कक्षा दशमा अध्ययनरत छु। मलाई नियमित पढाईको साथै अतिरिक्त क्रियाकलापमा गीत-संगीत, कलाकारिता र साहित्य मन पर्छ।
अहिले विश्वभर कोरोनाका कारण हाम्रो विद्यालय मात्रै नभएर देश नै लकडाउनमा छ। हामी लाखौं विद्यार्थीको पठनपाठन ठप्प छ। सधैं नियमित विद्यालय जानुपर्ने हामी घरमै बस्नुपरेको छ। कोरोनाको अज्ञात भयले हामी जस्ता बालबालिका मात्रै नभएर संसारभरका मानव जीवनमै गम्भीर त्रास र मृत्यु भयले गिजोलेको छ।
आजको विज्ञानको युगमा आखाँले देख्नसमेत नसक्ने सुक्ष्म जीवाणुले सारा वैज्ञानिकहरूको भोक, निद्रा हराएको छ। यो त्रासदीपूर्ण भाइरसको नियन्त्रण र नियमन गर्ने एक मात्रै उपाय लकडाउन भएकाे छ। म पनि परिवारको साथमा घरभित्रै बसिरहेकी छु।
सधैं विद्यालय जाने, गुरू-गुरूआमा, साथीभाइ इष्टमित्रसँग रमाउने र नियमित शिक्षा लिने मेरो दैनिकी कोरोनाको कहरले घरका चार दिवारभित्र सीमित भएको छ। यसले गर्दा जीवनमा पहिलो पटक अत्यन्तै सकस र मनोवैज्ञानिक त्रासको गहिरो अनुभुति गरिरहेकी छु।
मलाई यति बेला स्वतन्त्रता के हो? भन्ने कुराको महत्त्व बढिरहेको छ। झ्यालभित्रबाट खुल्ला आकाशमा कावा खाँदै उडिरहेका चरा र मानवविहीन सडकमा स्वतन्त्र रूपमा कुदिरहेका कुकुर, बिराला देखेर म स्वतन्त्रताको मनमनै अनुभुति गरिरहेको छु। हामीले जति नै राम्रो लगाए पनि जति नै मीठो खाए पनि स्वतन्त्र हुन सकिएन भने त्यसको कुनै अर्थ नहुने रहेछ।
लगभग दुइ हप्ताको लकडाउनमा बस्नुपर्दा मनमा धेरै पीडा हुने नै भयो। अर्कातिर संसारभर दिन दुगुना रात चौगुनाका दरले फैलिरहेको कोरोना महामारीको भयले हामीजस्ता बालबालिकाको मनोविज्ञानमा नराम्रो असर पुगिरहेको छ। मनमा चिन्ता, डर, भय बोकेर बस्दा नियमित पठनमा समेत गम्भीर असर पुगिरहेको छ।
घरभित्र यतिका दिनसम्म लकडाउन बस्दा आफ्नो नियमित पठनपाठनलाई पनि सकेसम्म कमी हुन दिएकी छैन। नियमित पाठ्यपुस्तकका अलवा अन्य बालमैत्री पुस्तकमा पनि समय दिँदै आएकी छु। मेरो बाबा श्रीबाबु कार्की साहित्यकार भएकाले घरमा प्रशस्त पुस्तकहरू छन्। मैले उहाँले अध्ययन गर्ने पुस्तक पनि यो समयमा अध्ययन गरेर आफ्नो ज्ञानको दायरा फराकिलो बनाउने प्रयत्न गरेँ।
मैले बिगतमा पढ्न नसकेको बाबाकै दुई बालकथा संग्रह 'यतिको कथा' र 'अचम्मको चरीगाउँ' कथा संग्रह पढेर सकेँ। मलाई बालमनोविज्ञानमा लेखिएका यी कथाले कोरोनाको त्रासबाट थोरै भए पनि मुक्ति दिलाए। यी कथामा हामीले जीवनमा आउने अनेकौं समस्यामा कसरी जुध्ने भन्ने कुरा सिकायो। विभिन्न शीर्षक रहेका 'यतिको कथा' बालकथा संग्रहभित्रको एउटा कथा यतिको कथा शीर्षकबाट मैले हिमालय क्षेत्रमा पाइने डरलाग्दो जीव यति यथार्थ होला भन्ने कल्पना गरेको थिएँ। तर यो त काल्पनिक जीव पो रहेछ भन्ने थाहा पाएँ।
विभिन्न जीव, जनावर, चराचुरूंगीहरूलाई पात्र बनाएर लेखिएका यसभित्रका कथाले मलाई कतै अनुशासनका कुरा, कतै जीवनमार्गका कुरा त कतै रोचक कुराको जानकारी दिएर मेरो अज्ञानतामा ज्ञान थपिदिए। यी कथा कति म आफैंले पढेँ। कति बाबाले कथा भन्ने शैलीमा वाचन गरेर सुनाउनु भयो।
म सानैदेखि विद्यालयको अतिरिक्त क्रियाकलापहरूमा भाग लिन मन पराउँछु। खेलकुद, गीतसंगीत, नृत्य र साहित्य पढ्न मनपराउँछु। मैले विभिन्न पत्रपत्रीकामा कविता लेखेर प्रकाशित गर्दै आएको छु। विद्यालयमा पनि विभिन्न प्रतियोगितामा पुरस्कृत हुँदै आएको छु।
मलाई कविताका पुस्तक पढ्न र लेख्न मन पर्छ। मसँग धेरै श्रष्टाहरूले लेख्नु भएको बालकविता संग्रहहरू पनि छन्। तर यो पटक मैले हामीभन्दा ठूला उमेरका मानिसका लागि लेखिएको चर्चित युवा कवि श्रीमणि लोहोनीको 'मृत्युको अघिल्तिर' भन्ने कविता संग्रह पढ्ने अवसर पाएँ।
मलाई आफूभन्दा ठूला उमेरका मानिसका लागि लेखिएको कविता संग्रह पढ्न पाउँदा अर्कौ आनन्द र खुसी लाग्यो। श्रीमणि लोहनीद्वारा रचिएकाे 'मृत्युको अघिल्तिर' कविता संग्रहमा समेटिएका बत्तीस्थान कविता निक्कै राम्रा र स्वादिलाे लाग्याे। यी कवितामा हामीले भोगेको समाज राम्रोसँग प्रतिबिम्बित भएको पाएँ। कुनैकुनै कविता त यति गाह्रो र अप्ठ्यारा थिए कि मेरो दिमागले कल्पना गर्न पनि सक्दैनथ्यो।
जे होस् मैले जति बुझेँ, बुझेका कुराबाट मेरो जीवनमा उल्लेखनीय अर्थ राख्ने नै थिए।
यो पटक घरमा रहँदा परिवारमा निक्कै रमाइलो गरेर बसेँ। बाबाले हामीलाई यो महामारीको त्रासबाट मनोवैज्ञानिक असर नपरोस् भनेर रमाइला पुस्तक पढ्न प्रेरणा दिइरहनुभयो। आफूले जानेका गीत गाउने, कथा कविता भन्ने जस्तो रमाइलो गराइरहनुभयो।
साथीहरू तपाईंहरू पनि कोरोना महामारी र लकडाउनबाट कतै त्रसित त भइरहनुभएको छैन? त्रसित हुनुहुन्छ भने आफ्नो परिवारसँग घरभित्र खेलेर, खानेकुरा बनाउन सिकेर, गीत-संगीत सुनेर, विभिन्न पुस्तक पढ्दै, मन भुलाउँदै त्रासलाई दुर गराउन पछि नपर्नुहाेस्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)