सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम प्रत्युष पाण्डे हो। म बुढानिलकण्ठ स्कुलमा कक्षा ६ मा पढ्छु। हाम्रो स्कुलको चैत १५ गतेसम्म परीक्षा हुने क्यालेन्डर भए पनि कोरोनाको हल्लाका कारण जाँच फागुन ३० गते सकिएकाले घर आयौं।
परीक्षा सकिएपछि म मामुसँग दोलखा गएँ। मामु दिनभर अफिस जाँदा म कोठामा इन्टरनेट चलाएर बस्थेँ। साँझतिर ममीसँग कबड्डी खेल्थेँ। मलाई त्यहाँ निकै रमाइलो लागेको थियो। यस पटक बाहिर निस्कन नपाइने भएकाले जंगलमा काफल तथा ऐंसेलु खान पाइनँ।
दोलखाबाट एक हप्तापछि काठमाडौं आयौं। काठमाडौं आएपछि मैले युट्युबमा हेरेर प्रत्येक दिन नयाँ नयाँ खाजा बनाउन थालेँ। नमकिन, पानीपुरी, मम, चिकन साँधेको, रसवरी बनाउन सिकेँ। अहिले हामीहरूले प्रत्येक दिन नयाँ खाजा बनाउने गरेका छौं। मैले केक बनाउन खोजे पनि लकडाउनको कारण केकका सामान पाउन सकेको छैन।
योसँगै मैले जेरोमिलो स्टिलटनका 'नो टाईम टु लुज', 'सेभेन एडभिन्चर एन किङडम अफ फेन्टासी', 'द रेस अजनेस्ट टाइम' जस्ता किताब पढिसकेँ। यी किताब हाम्रो लागि अत्यन्तै उपयोगी पाएको छु। अनलाइन पनि पाउन सकिन्छ।
मैले स्पाइनी ब्याबलरमा नाम दर्ता गरी प्रत्येक दिन गृहकार्य पनि गर्ने गरेको छु। यसले गर्दा नयाँ नयाँ काम गर्न उत्साह थपेको छ। धेरै दिनसम्म लकडाउन भएमा हाम्रो स्कुलले अन्य कक्षामा जस्तै अनलाइन कक्षा चलाउने भएको छ।
मैले प्रत्येक दिनको खाना पकाउने, पढ्ने, टिभी हेर्ने समय तालिका बनाएको छु। हप्ताको दुई दिन खाना र खाजा बनाउनुपर्छ।
मैले चाउचाउ, चिया, पुलाउ पकाउन र अचार बनाउन सिकेको छु। दाल र तरकारी पकाउन बाबा र ममीको सहयोग चाहिन्छ। लकडाउनको समयभरमा घरको धेरै काम सिक्दै जानेछु।
कोरोनाको कारण घरमा बस्न परे पनि यसलाई अवसरको रूपमा लिएको छु। सबैले लकडाउनको समयलाई सदुपयोग गर्न अनुरोध गर्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)