सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
डियर कोरोना,
मेरो नाम अन्सुम सुवेदी हो। म भर्खर कक्षा तीन पास भएर कक्षा चारमा गएकी छु।
सेन्ट मेरिज हाइ स्कुल, जावलाखेलमा पढ्छु। मैले अहिलेसम्म तिमीलाई देखेकी छैन तर तिम्रो बारेमा रेडियो, टिभी र युट्युबबाट सुनेकी छु।
तिमी त एकदम डरलाग्दो रहेछौ। हामीले बेलाबेला साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिची हात धुने, खोक्दा वा हाच्छ्युँ गर्दा रूमाल वा कुहिनाले मुख छोप्ने अनि लकडाउनका बेला आफ्नो घरमा मात्रै बस्ने बानी गर्यौं भने हामी तिमीसँग डराउनुपर्दैन भन्ने बुझेकी छु।
मैले रेडियो र टिभीमा तिमीबाट बच्ने तरिकाहरु पनि सिकेकी छु। म बेलाबेला साबुनपानीले हात धोइरहन्छु।
बगैंचा, आँगनतिर खेलेर घरभित्र आउँदा राम्ररी हातखुट्टा धुन्छु। खोक्दा, हाच्छ्युँ गर्दा रूमालले मुख छोप्छु। लकडाउन सुरू भएदेखि म घरबाहिर कतै गएकी छैन। घरभित्र मात्र बस्दा मलाई कहिलेकाहीँ एकदमै 'बोर' लाग्छ। अनि मलाई तिमीसँग एकदम रिस उठ्छ।
तिम्रो कारणले स्कुल सुरू हुने दिन आइसक्दा पनि स्कुल जान सकेकी छैन। साथीहरूसँग भेट्न पाएकी छैन। म मेरो कक्षाका साथीहरूलाई एकदम 'मिस' गरिरहेकी छु। कक्षा ३ को वार्षिक परीक्षा सकेर फुपूदिज्जुको घर जाने र कोहलपुर मामाघर जाने योजना गरेकी थिएँ।
यसभन्दा अगाडिको छुट्टीमा पनि म कतै जान पाएकी थिइँन। म एकदम दुःखी थिएँ। त्यसैले यसपालि त पक्कै जाने भनेर मामुबाबाले 'प्रमिस' गर्नुभएको थियो। तिम्रो कारणले गर्दा म कतै जान पाइनँ। घरभित्र मात्रै बस्नु परेको छ।
तिमीलाई थाहा छ कारोना? लकडाउन भएर घरभित्रै बस्दा मैले धेरै कुरा सिकेकी पनि छु नि। अहिले म मामुबाबालाई घरको सानो सानो काममा सघाउने भएकी छु। मलाई बिहान उठ्ने बित्तिकै आफ्नो ओछ्यान मिलाउन एकदम मन पर्छ। मैले भ्याकुम लगाउन, साना भाँडा माझ्न, आलु काट्न र घरभित्रको सरसफाइ गर्न थालेकी छु। मलाई हरेक दिन नयाँ काम सिक्न मजा आइरहेको छ।
चिया पकाउन सिक्नचाहीँ मलाई गाह्रो लाग्यो। किनभने मलाई आगोसँग डर लाग्छ। कहिलेकाहीँ युट्युबमा आर्टस क्राफ्टको भिडिओ हेरेर नयाँ नयाँ कुरा बनाउँछु।
मैले अण्डाको क्यारेटबाट क्याटरपिलर र स्नोम्यान बनाएँ। औषधिको खोल र कुचोको छेस्काबाट फूल बनाएँ। पुरानो क्यालेन्डरबाट झण्डा बनाएँ। साथीहरू, मामाघरका भाइबहिनी, हजुरबुवा हजुरआमा, दिज्जु, दादाहरूसँग भिडिओ च्याटमा कुरा गर्छु। सबैले हरेक दिन के-के गर्ने गरेको छ भन्ने बारेमा कुराकानी गर्छौं।
बिहानबेलुका बाबासँग ब्याडमिन्टन, लुडो र चेस पनि खेल्ने गरेकी छु। सधैं काममा 'बिजी' हुने मामुबाबा मसँग घर बसिरहनुभएको छ। मलाई यो पनि रमाइलो लागिरहेको छ। म बेलाबेला समाचारहरू पनि सुन्छु र हेर्ने गर्छु।
कोरोना, तिम्रो कारणले गर्दा संसारका धेरै मान्छे दुःखी छन्। त्यसैले तिमी यो संसारबाट छिट्टै गए हुन्थ्यो। तिमी यो संसारबाट बिदा लिएर गएपछि तिमीले गर्दा मैले अहिले भोगेको अनुभव चाहीँ कहिल्यै बिर्सन सक्दिनँ होला।
कोरोना, तिमी गएपछि अब फेरि कहिल्यै फर्केर नआऊ है!
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)