सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम कविराज हो। म ६ वर्षको भएँ। मेरो स्कुलको नाम एसओएस हर्मन माईनर स्कुल हो। अहिले कक्षा १ को बार्षिक परीक्षा दिएर घरमा बसेको छु।
सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ कालागाउँमा बस्छु। मामुबाबाले घरमा पढ भन्नुहुन्छ। म समय मिलाएर पढ्छु। तर कोरोना भाइरसले मेरो स्कुल नै बन्द भयो। स्कुल जान मन लागिरहेको छ, स्कुल नै चल्दैन।
घरमा बसेर फेसबुकमा ऋतु मेमले एउटा ग्रुप बनाउनुभएको छ। त्यसमा म आफूले गरेका क्रियाकलापहरू पोष्ट गर्छु।
उहाँले मलाई 'गुड' भन्नुहुन्छ। अस्ति गीत गाएको भिडिओ हालेको थिए। त्योभन्दा पछि नाचेको पनि हालेको छु। 'गुड' भन्नु भयाे। स्कुल बन्द भएर 'बोरिङ' भएको छ। कहिले स्कुल लाग्ला भन्ने लागेको छ।
कोरोना भाइरस कसले ल्याएको होला? त्यसलाई छोपेर पिट्न पाए स्कुल जाने थिएँ। घरमा बस्दा बस्दा दिक्क लागिसक्यो। बाहिर प्रहरी आएर स्कुल नै जान दिँदैनन। बाबा पत्रकार हुनुहुन्छ। उहाँलाई मात्र जान दिन्छन्। म पनि पत्रकार भएर पढ्न जान्छु।
बाबा र मामुले पढ मात्र भन्नुहुन्छ। मलाई स्कुल पठाउनु हुन्न। बरू ल्यापटपमा मिडिया क्लास हेर्न मन लाग्छ तर निद्रा लाग्छ।
मलाई बल खेल्न, चित्र बनाउन, धेरै ठाउँ घुम्न मन लाग्छ। बाहिर खेल्न जान पनि पुलिसहरू हुनुहुन्छ। मान्छेहरू माइकमा बोलेर हिँड्नुभएको छ। म त अहिले चित्र बनाउँछु।
मामाघर कैलाली जान मन लागेको थियो। बाबाले दसैंमा जाने भन्नुभएको छ। बाबा र मामुले मोबाइल हेर्दा गााली गर्नुहुन्छ र मामाघर पनि जान दिनुहुन्न।
आजभोलि त गाडी बन्द छ। लकडाउन सकेपछि स्कुल गएर चिराग साथीलाई भेट्छु। अहिले कस्तो याद आउँछ, जान मिल्दैन।
त्यही भएर कोठामा बस्छु। मलाई झ्याउ लाग्छ। दिउँसो मामु अस्पताल जानु हुन्छ, बाबा टिभीमा आउनका लागि जानुहुन्छ। म मोबाइल हेरेर बस्छु। ममीले थाहा पाए त रिसाउनु हुन्छ। बाबा र ममी आएको बेला मिडास क्लास हेर्छु।
कोरोना भाइरसले मान्छेहरू धेरै मरेका छन्। बाटोभरी मान्छेहरू भोक लागेर सुतिरहनुभएको छ। मैले टिभीमा देखेको। बाबाले पनि टिभीमा भन्नुहुन्छ।
अब उहाँहरू पनि मर्नुभयो भने के गर्ने? म त अस्ति हामी भेट्न गएको ठूलो बाबालाई। कलेन्द्र सेजुवाल, मेरो ठूलो बाबा पनि पत्रकार रे, बाबाले भन्नुभएकाे।
मेरो घरमा त मास्क, स्यानिटाइजर सबै छ। मामुबाबाले ल्याउनुहुन्छ। बाबा समाचारमा टिभीमा आउनको लागि दिउँसो जानुहुन्छ। मामु अस्पतालमा काम गर्नु हुन्छ। मन्त्रीले छुट्टी दिनु हुन्न रे, मैले सुनेको।
म त ह्यान्डवासले हात धुन्छु। कोरोना लागेको मान्छेलाई खोकी, ज्वरो र हाच्छ्युँ आउँछ। मलाई केही पनि भएको छैन। मलाई त कारोना लाग्यो भने डर छैन। मेरो डाक्टर काकुले मेरो उपचार गर्नुहुन्छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)