सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कक्षा नौ को वार्षिक परीक्षा चलिरहेको थियो। पाँचवटा विषयको परीक्षा सकिएको थियो। छैठौं दिनको विषयको पनि तयारी राम्रै थियो। सोही दिन बिहान परीक्षा स्थगित गर्नुपर्ने खबर आयो। सो खबर सुन्ने बित्तिकै मन चिसो भएको थियो।
संसारभर फैलिएको रोग कोरोना भाइरसका कारण पो हाम्रो परीक्षा रोकिएको रहेछ। सबै नागरिकको संरक्षणका लागि सरकारले बन्द गराएको रहेछ।
बाँकी विषयको परीक्षा कहिले हुने हो? परीक्षा दिन पाइएन भने नतिजा के हुने हो? आदि विषयको चिन्ता लागिरहन्थ्यो। सबैको परीक्षा छुटेको छ। चिन्ता नगर भनि बाबाले मलाई सम्झाउनु भो। साथै, आफूलाई मनपर्ने कुनै एक किताब निकालेर पढ र यसको सार लेखेर देखाउनु भन्नुभो।
मैले बाबाको किताब राख्ने दराजबाट दुइटा किताब निकालेँ। 'एक चिहान' र 'राधा'। यी किताब मलाई साह्रै राम्रो लाग्यो। मैले यी किताब पढिसक्दा बाँकी परीक्षा त मैले बिर्सिसकेछु।
एक चिहान
उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा 'एक चिहान' लेखिएको हो। यो सामाजिक यथार्थवादी उपन्यास हो। उपन्यासले वि.सं २०११ तिरको काठमाडाैंको समाज चित्रण गरेको छ। यस उपन्यासमा हुनेखाने मानिसले गरिबलाई थर्काएर र फसाएर मोजमस्ती गरिएको देखिन्छ। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा हुनेखानेको पहुँच देखिन्छ। हुनेखानेले गरिबलाई सहयोग गरेका त हुन्छन् तर त्यसभित्र स्वार्थ लुकेको हुन्छ भन्ने यथार्थ यस उपन्यासमा देखिन्छ।
किताबमा सरमान सुब्बा र डाक्टर गोदत्तप्रसाद जस्ता पात्र छन् जसले गरिबलाई सहयोग गरे पनि उनीहरूभित्र लुकेको स्वार्थ प्रष्टै दिखिन्छ।
उपन्यासमा समाजका गरिबर्गहरूको दुःख कष्टको पनि वर्णन गरिएको छ। जो किसान छ, दिनरात मिहेनत गर्छ, उसलाई हातमुख जोड्न मुस्किल पर्छ। जो सिकर्मी छ उसैको घर भत्किएर जीवन सकिने अवस्था देखाइएको छ। जातीय विभेद, रुढीवादी सोच तथा आर्थिक असमानताका कारण गरिब धेरै हेपिएको वा शाेषित भएको यथार्थ प्रस्तुत छ। शोषण धैरै भएपछि वा शोषणले सीमा नाघेपछि गरिबमा चेतना पलाउन लागेको अवस्था पनि देखाइएको छ।
उपन्यासकारले उपन्यासका माध्यमबाट सामाजिक कु-संस्कार, धार्मिक अन्धविश्वास, शोषण र जातीय विभेद जस्ता सामाजिक विकृति हटाउनुपर्ने विचार अघि सारेका छन्। बाबुआमाको किरिया गर्दा पनि गरिबले दान दिनैपर्ने, भोज खुवाउनै पर्ने जस्ता परम्पराको विरोध यस उपन्यासमा गरिएको छ।
समाजमा टाठाबाठाले गरिबलाई शोषण गर्दै आएको र यसैलाई परम्परा बनाएर ल्याएको हुँदा यस्ता गलत परम्परा तोड्नुपर्ने भान उपन्यासले देखाएको छ।
राधा
याे उपन्यासका लेखक कृष्ण धरावासी हुन्। उनले २०६२ सालको मदन पुरस्कार पाएका थिए।
'राधा' एक पौराणिक यथार्थ बोकेको उपन्यास हो। यसमा हामीले सुन्ने गरेको राधाकृष्णको कथा भन्दा निकै अलग र रोमाञ्चक छ।
उपन्यासको कथाअनुसार कुनै दिन लेखक कुनै धार्मिक स्थलमा गएका हुन्छन्। उनले त्यहाँ एक संन्यासी बाबालाई भेटेका रहेछन्। त्यसै बेला उनै संन्यासी बाबाबाट रातभरी लेखकले कथा सुनेका हुन्छन् र सोही कथालाई उपन्यासकारले उतारेका छन्।
उपन्यासमा उनै बाबालाई अन्तिम पात्रको रूपमा प्रस्तुत गरेको छ। उनी अश्वस्थामा थिए। उनै बाबा सम्पूर्ण युद्धका अन्तिम पात्र, अन्तिम योद्धा र अन्तिम श्रापित व्यक्ति थिए। बालकको हत्या गरेकाले श्रीकृष्णले उनलाई श्राप दिएका थिए।
यस उपन्यासको मुख्य पात्र राधा हुन्। राधा यस उपन्यासकी 'म' पात्र हुन्। भनिन्छ, यो कथा राधाले नै लेखेकी हुन्। उनले लेखेको कथा वीरसिंहकी जेठी रानी दिलुपीकाको जिम्मा लगाएको पनि उपन्यासमा उल्लेख छ।
यस कथामा जन्म र मरणको सत्य देखाइएको छ। जसअनुसार राधा १३ वर्षमा नै संन्यासी बनेर हिँडेकी हुन्छिन्। यस कथाको अर्को अनौठो कुरा के भने कृष्णले १०९८ जनासँग विवाह गरेका हुन्छन्।
यस उपन्यासबाट हामीले धेरै ज्ञान हासिल गर्न सक्छौं। पहिलो के भने, हामीले जीवनको यथार्थ बुझेर मात्र काम गर्नुपर्छ। यसका अतिरिक्त मैले यस उपन्यासबाट निम्न ज्ञान प्राप्त गरेको छु।
- छोरी भए भनेर आफूलाई कमजोर ठान्नु हुँदैन। छोरा र छोरीमा केही फरक छैन। प्रकृतिले दिएको लिंगबाहेक बुद्धि, बलमा, चलाखीपन कुनैमा पनि छोरी कमजोर छैनन्।
- मानिसको शक्ति कमजोर पार्ने अर्को हतियार हो, उसको तारिफ र प्रसंशा। प्रसंशाले मानिसको शक्तिशाली पाखुरालाई पनि शिथिल पार्छ। प्रशन्नता, खुसी र आत्मसन्तुष्टि युद्ध विरोधी हुन्। आत्मसन्तुष्टिले बहादुरी र सोचमा शिथिलता ल्याउँछ।
- सोचेको वा चिताएको भन्ने कुरा पनि क्षणभरका लागि मात्र हुँदो रहेछ। प्रतिज्ञा, प्रतिबद्धता, वचन सबै कुरा क्षणिक हुन्छन्, यदि हामीले इमान्दारीपूर्वक साधना गर्न सक्दैनौं भने।
- जीवनलाई सधैं स्वतन्त्र र स्वच्छन्द छोड्नुपर्छ। यसलाई निरन्तरता दिनुपर्छ। आफूलाई प्रिय लाग्दैमा विगतलाई समातेर जीवनमा कहीँ कतै गतिहीन भएर बस्नुहुँदैन।
पुस्तक पढ्दा धेरै ज्ञान प्राप्त त गर्न सकिन्छ तर त्यसलाई व्यवहारमा उतार्नु नै महानता हो। म पनि यी सिकाइलाई व्यवहारमा उतार्ने प्रयत्न गर्छु।
(अर्पिता भट्टराई वीरेन्द्रनगर, सुर्खेतमा बस्छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)