सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चिठीः
आदरणीय ठूलो बाबा, ठूलो ममी, दण्डवत प्रणाम।
प्यारो भाइ हृदय र मेरो आँखाको नानीजस्तै प्यारी बहिनी सान्वी, न्यानो माया, मिठो सम्झना!
बाबाममी हामीहरू यहाँ सबै सन्चै छौ। हजुरहरू सबैजना सन्चै हुनुहोला भन्ने श्री भगवान पशुपतिनाथ र सिद्धबाबासँग प्रार्थना गरी बसेको छु।
बाबाममी हजुरहरू अमेरिका गएको पनि सात वर्ष भयो। म दुई वर्षको हुँदा दुवै जना नेपालबाट अमेरिका जानुभएको हो अरे। मलाई हजुरहरूसँगको नेपालको कुनै सम्झना छैन।
अहिले भाइ हृदय र बहिनी सान्वीसहित हजुरहरू पनि चार जना हुनुभयो। हृदय पनि पाँच वर्षका भए, बहिनी सान्वी २ वर्ष भइन्। मेसेन्जरमाबाहेक भेट भएको छैन। कोरोना नियन्त्रण भएपछि मिल्छ भने सबैजना नेपाल आउनुहोस्। मिल्दैन भने भाइबहिनी र ठूलो ममीलाई भए पनि पठाइदिनुहोस्।
हजुरहरू गएपछि नेपालमा २०७२ सालमा भुकम्पले घरभित्र बस्न दिएन। अहिले कोरोनाले घर बाहिर जान दिँदैन।
हजुरबुवा, हजुरआमा, सानोबाबा, सानीममी, बहिनी सोफिया र म बुटवलमा छौं। हजुरबुवा, हजुरआमा अमेरिकाबाट नेपाल आएपछि उहाँहरूसँग म बुटवल आएको छु।
मेरो बाबाममी र मेरी प्यारी बहिनी सम्राज्ञी काठमाडाैंमा हुनुहन्छ। म कक्षा ३ को परीक्षा दिएर आएको हुँ। मेरो बुटवल आउनुको एक मात्र उद्देश्य रमाइलो गर्ने, साथीहरूसँग खेल्ने र घुम्ने थियो। बुटवल आउँदा यहाँका मेरा साथीहरूको परीक्षा सकिएको थिएन। साथीहरूको परीक्षा सकियो, सरकारले लकडाउन पनि घोषणा गर्यो। त्यसैले म खेल्न पनि पाएको छैन।
कोरोनाका कारण आज नेपालमा लकडाउन भएको महिना दिन भइसक्यो। म काठमाडौंबाट बुटवल आएको त्याेभन्दा अगाडि हाे। हजुरआमाले मलाई घरको तल गेटसम्म पनि जान दिनुहुन्न। मेरो दैनिकी ओछ्यान, वाथरूम, किचन, टिभी कोठा र छत मात्र भएको छ। त्यसैले म पूर्ण रूपमा सञ्चै छु भन्न पनि सक्दिनँ।
मेरो रिजल्ट पनि निस्कियो रे। म पास पनि भएँ भन्ने काठमाडौंको मोबाइलमा म्यासेज आएको छ रे। मलाई ममीले फोन गरेर भन्नुभएको हो।
काठमाडाैंमा बाबाममी र बहिनीलाई छोडेको पनि एक महिना भयो। मैले कहिले पनि छाडेको थिइनँ। बहिनीलाई धेरै मिस गरेको छु। बहिनी सम्राज्ञी भर्खर हिँडन थालेकी थिइन्। दादादादा भन्दै पछिपछि हिँड्ने गर्थिन्। परीक्षाको कारण उनीसँग खेल्न पनि पाइएन। परीक्षा सकियो हजुरबुबा, हजुरआमासँग बुटवल आएँ।
आहा! काठमाडौंभन्दा बुटवल रमाइलो होला भन्ने सोचेर आएको थिएँ, तर के भयो? के भयो?
ठूलो बाबा, अमेरिकामा पनि कोरोना भाइरसका कारण लकडाउन भइरहेको छ भन्ने समाचार सुनेको छु। हजुरहरू पनि घरमै बस्नुभएको छ होला। घर बाहिर ननिस्कनु होला। भाइबहिनीहरूलाई पनि धेरै मोबाइल हेर्न र टिभी हेर्न नदिनु होला। सबैजना बसेर टिकटक बनाउनु होला, हामी नेपालमा बसेर हेर्छौं। ग्रोसरीमा सानो कुरा किन्न पनि बाहिर नजानु होला। अनलाइनबाट सकिन्छ होला है।
मैले लकडाउनको समयमा हजुरबुबा-आमासँग रामायण हेरेँ। कति रमाइलो रहेछ। रामायण हेर्दा १० दिन बित्यो। सानो बाबा, सानी ममीसँग २० वटा जति फिलिम पनि हेरेँ। दिउँसो परिवारसँग लुडो खेल्छु। बेलाबेलामा तास खेलेर समय बिताएको छु। हजुरबुबालाई हैरान पारेको छु।
सोफिया बहिनी पनि मसँग खेल्न धेरै सानी छन्। काठमाडौको बहिनी पनि सानी छिन्। मसँग खेल्ने मेरो प्यारो भाइ हृदय मभन्दा सात समुद्र टाढा छ। कोरोनाका कारण बन्द कोठामा थुनिएर बसेका छन्।
कोरोनाले गर्दा मेरो मस्तिष्कमा कति नकारात्मक असरहरू पारेको छ। किताब पल्टाउन मन लाग्दैन, अब स्कुल जान नपरे हुन्थ्यो जस्तो लाग्न थालेको छ। मेरो साथी तल कोठाभित्र बसेका छन्। म माथि कोठामा बसेको छु। सामाजिक दूरी कायम गर्ने भनेर हामीलाई भेट गर्न पनि दिनु हुन्न।
कस्तो भाइरस हो यो? कहिलेसम्म यस्तो हुने हो? अब कहिले पुरानो जस्तै अवस्थामा आउला र उस्तै अवस्थामा खेल्न पाइएला जस्तो भएको छ। स्कुल खुल्ने त कहिले हो कहिले? त्यतिबेलासम्म क, ख, एबिसिडी पनि बिर्सिन्छ होला।
दिमाग त टिभी हेर्ने, लुडो खेल्ने, तास खेल्ने, फिल्म हेर्नेमा मात्र छ।
लकडाउनकै बीचमा मेरी प्यारी बहिनी सोफियाको जन्मदिन पर्यो। जन्मदिन मनाउने, केक काट्ने गर्न पनि पाइएन। युट्युबमा हेरेर केक बनाइयो। केक पसलको जस्तो बनाउन पनि नसकिने रहेछ। यस्तै पीडा र रमाइलो गर्दै टाइम पास गरेका छौं।
ठूलो बाबाममी, यो लकडाउन कहिलेसम्म हुने हो? बुटवलबाट काठमाडाैं जान कहिले पाइने हो? म लकडाउन खुलेपछि काठमाडाैं जान्छु।
लकडाउन खुलेपछि पनि हजुरहरू सामाजिक दुरी कायम गरेर बाहिर निस्कनु होला है। यो कोरोना धेरै समयसम्म रहन्छ रे।
ठूलो बाबा जति लेखे पनि मेरो लकडाउन पीडा सकिँदैन। हजुरको पिएचडी पनि सकिन लाग्यो हाेला। हजुरले क्यान्सरको औषधिमा पिएचडी गर्दै हुनुहुन्छ रे। हजुर र हजुरका वैज्ञानिक साथीहरूले कोरोनाको औषधि छिट्टै बनाऊन् र संसारका मान्छे सबै पुरानै अवस्थामा फर्किन पाइयोस्।
श्री पशुपतिनाथले नेपालको मात्र होइन विश्वकै संरक्षण गरून्।
भाइबहिनीलाई खुसी बनाएर राख्नु होला। मन खुसी नभए पनि मुखमा खुसी देखाउनु होला, भाइबहिनी पनि खुसी हुन्छन्।
हजुरको प्यारो छोरा,
संयोग घिमिरे
(संयोग घिमिरे सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा पढ्छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com