सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कथाः
राजा रामबहादुरको राज्यलाई संसारभर चिनिन्थ्यो। उनको राज्य पतालीवनलाई संसारकै सबभन्दा धनी राज्य मानिन्थ्यो।
एकदिन जब राजा रामबहादुर आफ्ना मन्त्रीहरूसँग सल्लाह गर्दै थिए, एक जना अधवैंशे मान्छे दौडँदै आए र भने, 'सरकार! पतालीवन र हामीलाई बचाउनुहोस्। वनमा विशाल आगलागी भएको छ। आगो यता बस्तीतिर बढ्दै छ।'
राजा रामबहादुरले बाहिर हेरे र भने, 'यो आगो साह्रै नै विशाल छ। यसलाई रोक्न सकिँदैन।'
राजाले धेरै बेर सोचेपछि भने, 'सबैजना नदी पारि भागौं।'
सबैले राजाको आदेश पालना गरे र नदी पारि पौडँदै गए।
आगोले उनीहरूलाई भेटेन तर सारा राज्यलाई सखाप पार्यो। सबैजना रूँदै थिए तर मुख्यमन्त्री रोनक भने खुसी देखिन्थे।
राजाले सोधे, 'रोनक, यस्तो अवस्थामा तिमी कसरी खुसी हुन सक्छौ?'
रोनकले भन्यो, 'सरकार, जे हुन्छ राम्रैका लागि हुन्छ।'
राजा क्रोधित भएर सोधे, 'तिमीले यस्तो अवस्थामा कसरी यसो भन्न सक्छौ? के तिमीलाई आफ्नो राज्यको माया लाग्दैन?'
रोनक केही बोलेनन्।
राजाले भने, 'आजदेखि तिमी यो राज्यमा बस्दैनौ। गइहाल यहाँबाट।'
रोनक केही नबोली गए।
अर्को दिन सुतला राज्यका राजा आफ्नो विशाल सेनासँग पतालीवनलाई आफ्नो बनाउन आए।
पतालीवनको अवस्था देखेपछि उनले भने, 'यस्तो ठाउँ मलाई चाहिँदैन। न खेती गर्न मिल्छ, न त वनजंगल नै छ। यस्तो ठाउँले घाटाबाहेक केही दिँदैन।'
यति भन्दै उनी त्यहाँबाट फर्किए।
राजाले रोनकलाई फिर्ता बोलाएर भने, 'साँच्चै जे हुन्छ राम्रो कै लागि हुँदोरहेछ।'
त्यसपछि राजा रामबहादुरले भने, 'मेरा जनताहरू! हाम्रो राज्य आगलागीले विनाश त भएकै छ, तर अर्को राज्यले हडप्नुबाट त बच्यौं। अब हामी सबै एकजुट भएर राज्यको विकासतर्फ लाग्नुपर्छ।'
शिक्षा: संसार अहिले कोरोनाको महामारीबाट ग्रसित र त्रसित छ। हामी सबैले लकडाउनलाई नियमपूर्वक पालना गरौं। सफा बसौं र यस दुखद समयबाट विचलित नहाेऔं। अहिलेको परिस्थितिमा लकडाउन नै उत्तम उपाय हो। अन्ततः जे हुन्छ राम्रो कै लागि हुन्छ।
(श्रीयन्स श्रेष्ठ मिल्सवेरी स्कुल, बाँसबारी, काठमाडौंमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)