सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले विश्वभर कोरोनाको त्रास छ। महामारीको रूप लिएर फैलिरहेको यो रोगबाट आफ्नो देशलाई जोगाउन नेपालका र अन्य देशका सरकारले आफ्नो देशलाई लकडाउनमा राखेका छन्। लकडाउन भनेको देशभित्रै एउटा ठाउँबाट अर्को ठाँउको आवतजावतमा रोक लगाउने काम हो। लकडाउनमा एउटा देशबाट अर्को देश जाने काममा रोक लगाइएको हुन्छ।
यही लकडाउनका कारण हामी सबैजना घरभित्र थुनिएका छौं।
लकडाउनले गर्दा नै सबै विद्यालयमा पढाइ रोकिएको छ। परीक्षा त सबै विद्यालयहरूले सरकारले भने अनुसार नै नियमित तालिकाभन्दा केही अगाडि नै लिइसकेका थिए। सरकारले चैत ५ सम्म सबै वार्षिक परिक्षा सक्न भनेको थियो। अधिकांश विद्यालयले लकडाउनको कारण परीक्षाफल भने निकाल्न सकेका छैनन्।
एसइई तथा कक्षा ११ र १२ को परीक्षा भने रोकिएको छ। यसैबीच केही विद्यालयहरू, जुन सुविधा सम्पन्न छन् उनीहरूले भने अनलाइन पठनपाठन सुरू गरेका छन्।
म बुढानिलकण्ठ विद्यालयमा पढ्छु। हाम्रो विद्यालयमा सरकारले भनेजस्तै धेरैजस्तो कक्षाको परीक्षा चैत ५ अगाडि नै सकियो। परीक्षा सकेर हामी घर फर्कियौं। अहिले बिदा सकिएको एक महिनाभन्दा बढी भइसकेको छ। पहिले अन्तिम त्रैमासिक परीक्षापछि हाम्रो बिदा यति लामो हुँदैनथ्यो।
यसपालि कोरोनाको महामारी फैलिरहेकाले विद्यालय अहिलेसम्म खुलेको छैन। हाम्रो विद्यालय मात्र नभई सम्पूर्ण शैक्षिक संस्था बन्द छन्। असाध्यै लामो बिदा भएकाले विद्यार्थीको समयको सदुपयोग गराउन र पढाइ अगाडि बढाउन हाम्रो विद्यालयले विभिन्न अनलाइन एप्सद्वारा क्लास सञ्चालन गरिरहेको छ।
मैले वैशाखको पहिलो सातादेखि विद्यालयद्वारा कक्षा ८, ९ र १० का विद्यार्थीका लागि गणित र विज्ञान विषयको अनलाइन क्लास सुरू हुने खबर पाएँ। खबर पाएको केही दिनअघि नै गणितको कक्षा सुरू भइसकेको रहेछ। अर्को दिनदेखि म पनि अनलाइन कक्षामा उपस्थित हुन थालेँ।
पहिले हाम्रो कक्षा स्काइपबाट सञ्चालन भयो। त्यसपछि स्काइपले ५० जनासम्म मात्रै धान्ने भएकाले जुम क्लाउड मिटिङबाट भयो। फेरि जुममा प्रयोगकर्ताको गोपनियता सुरक्षित नहुने प्रश्न उठेकाले अहिले हाम्रो कक्षा माइक्रोसफ्ट टिम्सबाट सञ्चालन भइरहेको छ।
लकडाउन निकै लम्बिएकाले विद्यालयले कक्षा ६ देखि १० सम्मको सबै विषयको यसरी नै अनलाइन क्लास सञ्चालन गर्दैछ। अनलाइन कक्षाको सुविधा सहरमा बस्ने र गाउँमा बसे पनि इन्टरनेट सेवाको पहुँच भएका विद्यार्थीलाई मात्र छ।
म आफू स्वयं सहरमा बस्ने र इन्टरनेटको पहुँच भएकाले मैले अनलाइन क्लासबाट लाभान्वित हुने अवसर पाएँ। तर ती विद्यार्थीहरू जो गाउँमा बस्छन् र जसको इन्टरनेटमा पहुँच छैन, उनीहरूका लागि यस्ता अनलाइन कक्षा 'आकाशको फल, आँखा तरी मर' भनेजस्तो भएको छ। यहाँ हामीले सुविधा भएर लकडाउनको समय सदुपयोग गर्न पायौं तर अरूले कसरी पढ्ने त?
अहिले हामी परिवारसँगै घरमै बसी घरायसी काममा उहाँहरूलाई सघाउँदै पढ्न पाएका छौं। त्यो त ज्यादै राम्रो हो। तर यस्ता अनलाइन क्लासहरू नियमित कक्षाजस्तो उपयोगी लागेन। यस्तो कक्षामा विद्यार्थीहरू कक्षा कोठामा जस्तो सक्रिय हुन नमिल्ने रहेछ।
दोश्रो, यसमा कुन विद्यार्थी कति दत्तचित्तका साथ पढेको छ भन्ने पनि थाहा नहुने। तेश्रो, लामो समयसम्म कम्प्युटर वा मोबाइलमा पढ्नु यसै पनि स्वस्थकर होइन।
लकडाउनमा नपढीकन बस्नुभन्दा अनलाइन भए पनि पढ्न पाउने व्यवस्था पक्कै पनि राम्रो हो। यस अर्थमा हामी भाग्यमानी रहेछौं। यस्ता अनलाइन एप्सलाई पहिले नै पर्याप्त रूपमा चल्तीमा ल्याएको भए, सबैलाई अनलाइन सुविधा पुर्याएको भए सबै विद्यार्थीहरूले पढ्न पाउने थिए।
अहिले ठ्याक्कै कति विद्यार्थीले अनलाइन क्लास पढ्न पाएका छन्? के त्यो तथ्यांक हाम्रो शिक्षा मन्त्रालयमा होला? अनि केही गरी लामो समयसम्म लकडाउन भए के सबै विद्यार्थीलाई अनलाइन क्लासमा समेट्ने योजना सरकारी निकायसँग होला?
(तेजश्वी श्रेष्ठ, बुढानिलकण्ठ विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)