सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कविताः
अचानक के भयाे आज? विश्वभरि पहिरो गयो
समयको रौद्र रूपले नसोचेको घटना भयो
आफ्ना दुई आँखाअघि देख्दैछु यो दृश्य कस्तो?
वास्तविक घटना पनि लाग्न थाले स्वप्नजस्तो।
अनिश्चितताको भुमरीमा आशाको दीप खोज्दैछु म
खाली पानाभरि अक्षरहरू पोख्दै छु म
शिशासरि अनायसै टुक्रिँदैछ मेरो मन
विश्वभरि जता हेरूँ आहतमा देख्छु जन।
विश्वदृश्य देखेर कति आँसु पिएँ मैले
च्यातिएको मनलाई धेरैचोटि सिएँ मैले
प्रकृतिका उतारचढाव प्रत्यक्ष नै भोगेँ मैले
संघर्ष नै जिन्दगीको पहिलो पाठ ठानेँ मैले।
भीडभित्रै पो बिर्सिएछु मैले विगतका कर्म
प्रकृतिको सुरक्षा नै रैछ हाम्रो मुख्य धर्म
आफूभित्र घोत्लिएर आज आफैलाई खोज्दैछु म
सुन्दर भविष्य बनाउने सूत्रहरू रोज्दै छु म।
चल्ने बेग्लै गति रैछ लीला छुट्टै प्रकृतिको
भन्दो रैछ यसले नहोस् गन्ध कतै विकृतिको
संसारमा कोही छैन यसभन्दा माथि
सबै मिली प्रकृतिको रक्षा गर्न जुटौँ साथी।
(प्रकृति बडाल काञ्जीरोवा नेसनल माध्यमिक विद्यालय कोटेश्वर, काठमाडौंमा कक्षा १० मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)