सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम प्रेसिओसा पाण्डे हो। ग्यालेक्सी पब्लिक स्कुलमा पढ्छु। हाम्रो कक्षा ५ को परीक्षा गत चैत १३ गतेबाट हुने र १९ गते सक्किने भनिए पनि कोरोना भाइरसका कारण चैत ५ गते नै सक्किएर स्कुल बिदा भयो।
परीक्षाको अन्तिम दिन साथीहरू मिलेर ५ कक्षाको कक्षा शिक्षक (सिर्जना म्याम लगायत अन्य शिक्षक) लाई सरप्राइज फेयरवेल पार्टी दिने योजना थियाे। परीक्षाका कारण पैसा उठाइसके पनि केक किन्नका लागि बाहिर जान पाएनौं। भोलिपल्टबाट स्कुल बन्द भयो।
कक्षा ६ को पहिलो दिन पार्टी गर्नुपर्ला भन्ने सोचेका थियौं। कोरोनाका कारण स्कुल खुल्ने नै निश्चित छैन। कक्षा ५ काे नतिजा चैत १२ गते हुने कुरा थियो, लकडाउन भएकाले यो सम्भव छैन। स्कुल बन्द भएपछि म घरमा नै बसेकी छु।
लकडाउन भएको झण्डै १ महिनाको अवधिमा घट्टेकुलोमा हुनुभएकी हजुरआमालाई भेट्न गएँ। लकडाउनमा सबैजना घरमै बस्नुपर्छ भन्ने कुरा मलाई थाहा छ। त्यसैले अहिले बिहान उठेर हातमुख धोइ केही समय योग गर्छु। बिहानको नास्ता खाएपछि हस्तलेखन गर्ने र गणित अभ्यास गर्छु।
खाना खाएपछि दिउँसोको समय आर्ट गर्ने, भायोलिन तथा बाँसुरी बजाउँछु। भायोलिन बजाउन मलाई असाध्यै मन लाग्छ। त्यसपछि म बाबा, भाइ (विवत्सु), बहिनी (आनिया) सँग मिलेर लुडो खेल्छु। दिउँसो खाजा खाएपछि मेरो स्विटजरल्याण्डमा रहनुभएकाे घरको आमाबुवासँग फोनमा कुराकानी गर्छु। बेलुकी कौसीमा खेल्छु।
घरमा पालेको कुकुरसँग पनि केही समय खेल्छु। साँझपख काैसीमा स्किपिङ, चुंगी, कबड्डी खेल्छु र घरमा रोपिएको फूलमा पानी हाल्छु। बेलुकी टेलिभिजन हेर्छु। कहिलेकाहीँ स्कुलका साथीसँग फोनमा कुराकानी गर्छु। वार्षिक परीक्षापछि म चितवन मामाघर जाने सोचमा थिएँ। त्यहाँ मामाकी छोरीहरू वैभवी र वैभिकालाई भेटेर रमाइलो गर्ने सोचमा थिएँ। लकडाउनका कारण जान पाइँन।
सरकारले सबैको सुरक्षाका लागि लकडाउन गरेको कुरा मेरो अभिभावकले मलाई भन्नुभएको छ। स्थिति अनुकुल भए पछि पनि जान सकिन्छ।
कोरोना त्रासका कारण मैले यो वर्ष चैत १५ गते पर्ने जन्मदिन पनि मनाउन पाइनँ। अहिले मानिसलाई हिँड्डुल गर्न गाह्रो र जमघट गर्ने स्थिति नभएकाले मेरो अभिभावकको सल्लाह बमोजिम यो वर्षको जन्मदिन नमनाएको हो। यो दिन मेरी ममीले पूजा गरिदिएर टिका लगाई आर्शीवाद दिनुभयो। लकडाउनका बेला ठूलो ममी र ममीसँग धेरै समय बिताउन पाएकी छु। उहाँहरूले मलाई व्यवहारिक कुरा सिकाउनुका साथै मीठा खानेकुरा बनाएर खुवाउनुहुन्छ।
अहिले खाली समय भएकाले म, भाइ र बहिनी मिलेर विभिन्न आर्ट बनाएका छाैं। टोलका छिमेकीहरूले हामीले बनाएका चित्रहरू किन्नुभयो। यसले हामीलाई हौसला मिलेको छ।
कोरोना भाइरस संक्रमण बालबालिका र बुढापाकामा छिटो हुन्छ भन्ने सुनेकी छु। त्यसैले यस्तो अवस्थामा म घरमै बसेकी छु। स्कुल कहिले खुल्छ भन्ने अहिले अन्योल छ। लकडाउन बेलामा सबैजना घरभित्र बसेर सिर्जनात्मक काम गर्ने, पढ्ने, खेल्ने र अभिभावकसँग समय बिताउनुपर्छ जस्तो लाग्छ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)