सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम शेमन्तक भन्डारी हो। म मोरङ जिल्ला बुढीगंगा गाउँपालिका वडा नं २ मा बस्छु। जेभियर्स अंग्रेजी विद्यालयको पाँच कक्षामा पढ्दैछु।
आजभोलि कोरोनाले गर्दा देशभरी लकडाउन छ। मेरो विद्यालय पनि बन्द छ। खै के हुने हो, मलाई डर लागेको छ। विद्यालय जान पाएको छैन। त्यसैले आफ्नो कक्षाका साथीहरूसँग भेट्न र खेल्न पाएको छैन।
तर बाहिर निस्किन नपाए पनि घरमा बस्दा मैले धेरै कुरा सिक्ने मौका पाएको छु।
अचेल म जीवनमा उपयोग हुने धेरै किसिमका ज्ञान सिक्दैछु। बुवाले घरिघरि भन्नुहुन्छ, 'कि पढेर जान्नू, कि परेर जान्नु।'
आजभोलि म उहाँको भनाइअनुसार पढेर होइन गरेर धेरै कुरा सिक्दैछु। घरमा सधैं मामुले भाँडा माझेको देखेको थिएँ। अचेल आफैंले पनि भाँडा माझ्न सिकेको छु। भाँडा जुठो रहँदा किटाणुहरू आउनसक्ने हुनाले साबुनले सफा बनाएर माझ्नुपर्ने रहेछ।
घर वरिपरि सफा राख्दा सर्प, लामखुट्टे, भुसुना जस्ता किराबाट बचिन्छ भन्ने कुरा पनि बुझेँ। त्यसैले अचेल म घर आँगनमा कसिंगर बढार्ने गर्छु। काँक्रा र भिन्डी सारै मिठो लाग्छ। तर यो कसरी फल्छ, थाहा थिएन। यसको बिउ माटोमा रोपेर उमार्न सिकेको छु। काक्रोलाई थाँक्रो लगाउन सिकेँ। त्यस्तै साग रोप्न र गोडमेल गर्न सिकेँ।
पहिले म कपडा खोलेर त्यत्तिकै फ्याँक्ने गर्थे। अचेल यो बानी सुधार गरेर कपडा पट्याएर राख्न जानेको छु। घर वरिपरि फुल्ने फूललाई पनि अरू बिरुवा जस्तै पानी र मलको आवश्यकता हुँदो रहेछ भन्ने थाहा पाएँ। त्यसैले बेलुका फूलबारीमा पानी लगाउँछु।
घरमा साधारण काम सकेपछि फुर्सद हुन्छ। यो समयमा मादल बजाउन सिक्दैछु। पहिले अरूले मादल बजाएको देख्दा सजिलो लाग्थ्यो तर आफूले बजाउँदा त निकै गाह्रो हुँदो रहेछ।
फुर्सदमा गीत पनि गाउन सिक्दैछु। अरूले गाएको सुन्दा राम्रो लाग्छ। गीत नै त गाउने हो नि सजिलो हुन्छ होला जस्तो लाग्थ्यो तर आफूले गाउँदा स्वर मिल्दो रहेनछ। यो काम पनि निकै कठिन रहेछ नि। काम कुनै पनि सजिलो हुँदो रहेनछ भन्ने कुरा बुझेँ।
साँच्चै भन्दा किताबले नसिकाएका धेरै ज्ञान लकडाउनमा सिक्दैछु। किताब पढ्दा मात्र सिकेँजस्तो लाग्थ्यो, होइन रहेछ।
म घरमा पनि धेरै कुरा सिक्दैछु। घर सफा राख्न, दैनिक घरको काम गर्न, खेतीपाती गर्न र प्रकृतिझैं अनुशासनमा रहन यो समयले सिकाएको छ।
पक्कै पनि विद्यालयमा सिकिने कुरा अहिले छुटेको छ तर अरू धेरै कुरा सिक्दैछु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)