सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार। मेरो नाम विधान आचार्य हो। मेरो घर तुलसीपुर उपमहानगरपालिका १२ हरीपौरीमा पर्छ। म ११ वर्षको भएँ। बाबाममीसँग घोराही बस्छु। म माउन्ट भ्यु इंग्लिस बोर्डिङ्ग स्कुल घोराहीमा पढ्छु। अहिले कक्षा ५ को परीक्षा दिएर बसेको छु। रिजल्ट आएको छैन। कक्षा ६ का किताब हेर्न हतार भएको छ।
परीक्षा दिएर केही दिन ठूलो ममीको घरमा बसेँ। दादा दिदीहरूसँग रमाइलो गरे। त्यसपछि केही दिन हजुरबुवा हजुरआमासँग बस्नका लागि गाउँको घरमा आएको छु। मलाई गाउँमा साथीहरूसँग खेल्न खुब मन पर्छ।
घर आएको केही दिनपछि बाबाममी घोराही गई हाल्नुभयो। म गाउँको घरमा बसेको छु। केही दिन घरमा धेरै रमाइलो गर्छु भनेर बसेको थिएँ। पहिले घर आएको समय छोटो हुन्थ्यो। त्यही पनि गाउँमा साथीहरूसँग खेल्न जान्थेँ। ठूलो बुवा ठूली ममीलाई भेट्न जान्थेँ। चौधरी बाजेसँग कुरा गर्न जान्थेँ। यो पटक कही जान पाएको छैन। कोरोना भाइरसले गर्दा सबै बन्द छन्। त्यसैले घुम्न गएको छैन।
घरमा नै हजुरबुवा हजुरआमासँग बसेको छु। बिहान ६ बजे उठ्छु। म उठ्दा बुवाआमा उठिसक्नुभएको हुन्छ। उठेर हातमुख धुन्छु। सुरूमा पानी खान्छु अनि चियासँग भुजा। कहिले रोटी खान्छु। आमाले सूर्यको पहिलो घामले तातो भएपछि कोरोना लाग्नबाट बचिन्छ भन्नुहुन्छ। त्यही भएर एकछिन घाम ताप्छु।
बुवासँग कुराकानी गर्छु। नुहाउँछु। मैले आफ्नो साना लुगा धुन सिकेको छु। फेरि बिहानको खाना खान्छु। आमाले घरको काम सक्दासम्म टिभी हेर्छु। आमाले काम सकेपछि फेरी आमासँग पुराना कुरा सुन्छु।
आमाले मलाई कथा अनि रामायण सुनाउनुहुन्छ। अरू भगवानका श्लोक सिकाइदिनुहुन्छ। केही त सिकिसकेको छु। कहिलेकाहीँ चित्र पनि बनाउँछु। गाउँमा कलर नभएकाले रंगाउन पाउदैन।
बुवाले पनि आफूले पढाउने समयका आफ्ना विद्यार्थीका कुरा सुनाउनु हुन्छ। मलाई कथा सुने जस्तो खुसी लाग्छ। ममी र बाबालाई फोन गर्छु। आफूले सुनेको कुरा सुनाउँछु। समय समयमा तातो पानी खाइरहन्छु। मलाई खीर मन पर्छ। कहिलेकाहीँ आमाले खीर पकाउनु हुन्छ। खीर खान्छु।
बाबाले घर आएको समयम भिण्डी, बोडी, घिरौला र करेला रोपेर जानुभएको थियो। त्यसमा मैले पानी हाल्छु। बाथरूम सफा गर्छु। आमाले खाना पकाउँदा तरकारी बनाएर सहयोग गर्छु। बुवाआमासँग मात्र धेरै समयसम्म बसेको पहिलो पटक हो। बुवाआमाले मलाई धेरै माया गर्नुहुन्छ। म बुवाआमासँग रमाउँदै बसेको छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)