सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो कक्षा ४ को अन्तिम परीक्षा चैत ४ गते सकियो। ५ गतेदेखि बिदा सुरू भयो। बिदामा कहाँ जाने, के गर्ने भनेर मनमा खुब कुरा खेलिरहेका थिए। बिदामा के-के गर्छु भनेर सोचेकी थिएँ। कोरोना भाइरसको हल्लाले मामुबाबाले फकाएरै केही दिन राख्नुभयो। चैत ११ गतेदेखि त सरकारले नै घरबाट निस्कन नपाउने गरी लकडाउन भनिदियो।
उता भारतमा पनि कोरोना संक्रमण बढ्दै गयो। हामी माघमा दिल्ली गएका थियौं। यता हाम्रो देशमा पनि डर बढ्दै गएको थियो। हजुरबुवा स्वास्थ्य जँचाउन नेपालगञ्जबाट आउनुभएको थियो। जुन दिन फर्कने टिकट थियो त्यही दिन फ्याट्ट लकडाउन भएपछि उहाँ फर्किन पाउनुभएन।
बिदामा मलाई पानी पुरी खाने, भाटभटेनी घुम्ने, साथीहरूसँग खेल्ने आदि गर्ने रहर थियो। के गर्नु बाहिर जाँदा पुलिसले हानिहाल्ने डर। अनि कोरोना लाग्ला भन्ने झन् डर। हामी त घरमा बसे पनि काम परेर बाहिर निस्केर आएपछि ह्यान्डवासले मिचिमिची हात धुन्छौं। मैले घरमै बसेर धेरै कुरा सिक्न पाएँ। हजुरबुवासँग बाघचाल खेल्न सिकेँ। डोरी खेल्न, गोटा खेल्न पनि सिकेँ। म त अब लगातार पचास चोटीसम्म डोरी खेल्न सक्छु नि।
भान्सामा मामुलाई सघाउन पनि सिक्दैछु। लकडाउनका बेला हाम्रो घरमा मःमः, पकौडा बनायौं! घरमा मःमः पकाएको त पहिलोचोटी हो।
अचेल दिउँसो हामी सधैं सिनेमा हेर्छौं। मलाई मेरी सानिमाको छोरी सायुरी बहिनीलाई कस्तो भेट्न मन लागेको छ। भेट्न जान पाइँदैन के गर्नु? एकपल्ट त मलाई मामाघर जान खुब मन लाग्यो। मेरो घर धापासीबाट चाबहिल नजिकै भए पनि जान नपाउँदा नरमाइलो लाग्यो। म घरबाटै भिडिओ च्याटबाट हजुरआमा, भाइबहिनी, सानिमा, फुपूहरूसँग कुरा गर्छु।
लकडाउनकै बेला कृष्ण अंकलको गाडीमा हजुरबुवा नेपालगञ्ज जानुभयो। कृष्ण अंकल र माधव अंकल पत्रकार भएकाले गाडी चलाउन पाउनु भयो। मलाई त मेरो बाबा पनि पत्रकार भएकाले झन खुसी लाग्यो। हजुरबुवा गएपछि मलाई एक्लै भएजस्तो लाग्यो। हजुरबुवा र म बाघचाल, गोटा के-के खेल्थ्यौं।
घरै बस्दा म टिभी खुब हेर्छु। मामुबाबाले बढी हेर्दा गाली गरेर लेख्न भन्नुहुन्छ। अनि म समाचार पनि हेर्न थालेकी छु नि! राती हामी सबैजना सँगै बैठक कोठामा बसेर समाचार हेर्छौं। नेपालमा पनि कोरोना लागेका मानिसको संख्या धेरै हुन थाल्दा मलाई डर लाग्छ। विदेशतिर जस्तो धेरै मानिसलाई नलाग्दा खुसी पनि लाग्छ। लकडाउनले गर्दा टाढा टाढाबाट मानिस हिँडेर घर गएको समाचार हेर्दा त मलाई कस्तो रून मन लागेको। उनीहरूलाई कस्तो थकाइ लाग्यो होला भनेर।
अचेल साइकल पनि चलाउन थालेकी छु। मेरो साइकल सानो भइसकेको थियो। बाबाको साइकलको सिट घटाएर मलाई सिकाउन थाल्नुभएको छ। यो साइकलको ब्रेक धेरै लाग्ने रैछ। बाबाले भनेको यो माउन्टेन बाइक हो रे। डिस्क ब्रेक हुन्छ यसमा। छुने बित्तिकै लागि हाल्ने रैछ। सिट पनि सानो ठूलो जत्रो पनि बनाउन मिल्छ।
मामु कहिलेकाहीँ छिमेकीहरूसँग सडकमा उभिएर कुरा गर्नुहुन्छ। म पनि सँगै जान्छु। हामी घर फर्किदा साबुनपानीले हात धोएर मात्र घरभित्र पस्छौं। बाबाले तल ढोकैनिरको धारामा ह्यान्डवास राखिदिनुभएको छ।
कोरोना भाइरस नभएको भए त म कहाँ कहाँ घुम्न पाउँथे होला। पोहोर साल नयाँ वर्षमा हामी पोखरा र नैनीताल घुम्न गएका थियौं।
कहिलेकाहीँ म झट्ट सोच्छु, अपी स्कुलमा पढ्ने मेरा साथीहरू के गरिरहेका होलान्? उनीहरू पनि मैले जस्तै घरमै के-के गर्दा हुन्? लकडाउनका बेला अस्ति नयाँ वर्ष आउँदा हाम्रो टोलमा खसी काटे नि! मैले यहाँ टोलमा खसी काटेर मासु खाएको देखेकी थिइनँ। सबै टोलका मानिसले बाँडेर खसी काटेर खाएको रमाइलो लाग्यो। कोरोना भाइरसको डर पनि लागेको थियो।
हजुरबुवा, बाबा र मामुले कति धेरै माटो बोकेर ल्याउनुभयो। अनि तरकारी फूल धेरै रोपेको छ हाम्रो घरमा। छतमा त लसुन, धनियाँ, सिमी, भन्टा, स्ट्रबरी पनि रोपेको छ नि। फलेको पनि छ। बेथूको साग पनि छ। स्कुसको मुन्टा छ। मलाई गमलाको फूलसँग खेल्न कस्तो रमाइलो लाग्छ।
दिनमा एउटा चित्र पनि बनाउँछु। मैले बनाएका चित्र मेरो कोठाकाे ढोकाको भित्रतिर टाँसेर राखेकाे छु। कहिलेकाहीँ झ्याउ लाग्यो भने बसेर गुडियासँग पनि खेल्छु। छतमा गएर एक्लै पनि खेल्छु। अचेल बिहान बिहान बाबामामुसँगै ब्याडमिन्टन पनि खेल्न सिक्छु। हाम्रो घरको अगाडिको घरमा एउटा भाइ मामाघर आएको छ। हामी छतबाटै खुब कुरा गर्छौं। बिहान भाइ र म ब्याडमिन्टन पनि खेल्न सिक्छौं।
म मन लागे कथाका किताब पढ्छु। टिभी पनि धेरै हेर्छु। कहिलेकाहीँ लेख्छु पनि। टिभीमा मलाई मनपर्ने 'वेष्ट अफ लक', 'निक्की' र 'खतरा खतरा खतरा' हो। मैले 'गुड न्युज, कागवेनी, पंगा, छपाक, चक एण्ड डस्टर' अनि अरू कति सिनेमा हेरेँ। मलाई चक एण्ड डस्टर भन्ने सिनेमा खुब मन पर्यो। यसमा शिक्षक र विद्यार्थीहरूको बारेमा छ। घरै बस्दा अरू मैले कति धेरै सिनेमा हेर्न पाएँ।
आजकल म कागजबाट पर्स, झोला, फूल जस्ता विभिन्न सामान पनि बनाउन थालेकी छु। तर अब मलाई त स्कुल जान मन छ। पहिले बिदा हुँदा खुसीले उफ्रन्थेँ। अब त घरमा बस्दा बस्दा बोर भैसक्यो। कहिले स्कुल जान पाइएला भनेर म त कुरिरहेछु।
बाबामामुले लेख्न कर गरेपछि लेखेको। लेखिसकेपछि त मलाई कस्तो रमाइलो लाग्यो। तपाईंको मनमा के आउँछ साथीहरु लेखेर भन्नु ल। म पनि पढ्छु नि।
(संस्कृती अधिकारी धापासी काठमाडाैंस्थित अपी स्कुलमा कक्षा ५ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)