सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म संगीत प्रेमी हुँ। हरेक साँझ हार्मोनियम बजाउँछु। अरू समयमा भायोलिन बजाउँछु।
म विद्यालयमा भायोलिन सिक्थेँ। तर अहिले विद्यालय बन्द भएकाले तार राम्ररी मिलाउन सकेको छैन। भायोलिन अरू वाद्यवाधन भन्दा बजाउन गाह्रो हुन्छ। त्यही पनि म सकेसम्म भायोलिनलाई अगाडि बढाउने कोशिस गर्दैछु। कहिलेकाहीँ भने म किबोर्ड पनि बजाउँछु। मेरो किबोर्ड अलि सानो छ। त्यसैले दुई हातले बजाउन गाह्रो हुन्छ।
अहिलेको स्थिति कस्तो छ हामी सबैलाई थाहा नै छ। संसारमा कोरोनाको त्रास छ। लकडाउन जारी छ। हाम्रो अन्तिम वार्षिक परीक्षा चैत १६ गतेतिर सकिनुपर्ने थियो। कोरोनाको त्रासका कारण चैत २ गते नै सकियो।
केही दिनपछि लकडाउन सुरू भयो। मैले लकडाउनको समय कसरी उपयोग गर्ने भनेर सोचेँ। अनि मलाई याद आयो संगीतको। अरू बेला संगीतलाई धेरै समय दिन पाउँथिन। त्यसैले मेलै अहिलेको समयमा संगीतलाई अगाडि बढाउने सोचेँ।
अहिले म राग वृन्दावनी सारङ्ग सक्काएर राग भूपाली गर्दै छु। मलाई राग वृन्दावनी सारङ्ग सारै मन पर्छ। यसको मिठास छुट्टै छ। यसको वादी स्वर 'रे' र संवादी स्वर 'प' हो। यो राग दिनको तेस्रो प्रहरमा बजाइन्छ। म राग भूपाली पनि बजाउँछु। मलाई भूपाली बजाउन र सुन्न मनपर्छ। मैले राग भैरव गर्ने कोसिस गरेँ तर निकै गाह्रो भयो। त्यसैले म भूपालीमा आएँ। मलाई लाग्थ्यो राग भैरव र भैरवी एउटै होला तर ती फरक रहेछन्।
संगीतबाहेक अरू समयमा किताब पढ्छु। फुटबल खेल्छु। चित्र कोर्छु। चलचित्र पनि हेर्छु। हामीले यो लकडाउनको समयलाई राम्रोसँग उपयोग गर्नुपर्छ। बिदा हो भनेर त्यतिकै समय खेर फाल्नु हुन्न। पढ्नु पर्छ, नयाँ कुरा सिक्नुपर्छ, केही समय खेल्नु पनि पर्छ। परिवार सबैसँग बसेर कहिलेकाहीँ रमाइलो पनि गर्नुपर्छ। यस्तो महामारीको बेला हामीले चिन्ता नलिइकन सतर्कता अपनाइ आफूँ, आफ्नो परिवार र सबैजना सुरक्षित रहनु पर्छ।
(सुबान अधिकारी एल.आर.आई स्कुल, कलंकीमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)