सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
चैत ४ गते, बुढानिलकण्ठ स्कुलमा मेरो कक्षा आठको वार्षिक परीक्षा समाप्त भयो। बिरामीले सताइरहेको मलाई मेरो आमाबुबाको धेरै जरूरत थियो। हुन त विद्यालयमा क्लिनिक थियो, तर घर जाने बेला क्लिनिकमा के बसिरहनु भनेर म आमाबाबालाई पर्खिरहेँ।
नभन्दै करिब ४ः३० बजेतिर विद्यालयमा आमा र बहिनी मलाई लिन आउनुभयो। त्यसपछि हामी घर गयौं। बाबा अफिसको कामले विराटनगर जानुभएको थियो भन्ने कुरा मैले आमाबाट थाहा पाएँ।
हाम्रो बुढानिलकण्ठ स्कुलमा हरियो वातावरण छ। जसका कारण त्यहाँका विद्यार्थी स्वस्थ रहन्छन्।
विद्यालयबाट बाहिर निस्किने बित्तिकै मैले धुलोधुवाँको वातावरण सहनु परेको थियो। घर पुगिसकेपछि नियमित खाना खाएर हामी सुत्यौं। भोलिपल्ट आमा र बहिनी स्कुल जानु परेकाले घरमै बसिरहेँ। घरबाट यसो बाहिर हेर्दा ठूल्ठूला घरहरू देखेँ। आकाशमा उडिरहेका काला धूलोधुवाँ देखेँ।
मनमनै भने, 'हे भगवान! हामी मानव जातिलाई माफ गरिदेऊ। हामीलाई प्रकृतिको सही प्रयोग गर्न आएन।'
म मनमनै सोच्थेँ- मानिस र मानिसभित्र लुकेको दानवबीचको अन्तर।
जसरी दानव आफ्नो स्वार्थको बारेमा मात्र सोच्छ, अरूको बारेमा सोच्दैन, त्यस्तै त हुन् मानिसहरू पनि। मानिसहरू आफ्नो स्वार्थका लागि बोटविरूवा काट्छन्, वन फँडानी गर्छन्, जनावर मार्छन्, मिठोमिठो खानेकुरा खानका लागि कलकारखाना बनाउँछन्। आफ्नो बसाइको लागि ठूल्ठूला घर बनाउँछन्। अमेरिका, अस्ट्रेलिया जस्ता विकसित देशमा आमाछोरा, बाबाछोरी बीचको सम्बन्ध पनि कतिपय मानिसहरूले बुझ्न सकेका छैनन्।
मानिसहरू सानैदेखि ज्ञान हासिल गर्न विद्यालय जान्छन्। सबैलाई ठूलो भएपछि राम्रो जागिर पाइयोस् र पैसा कमाउन पाइयोस् भन्ने विचार हुन्छ। कसैलाई पनि अरूको परवाह हुँदैन। सबै मानिस धनवान बन्न चाहन्छन्। मानिसहरूले एकअर्कालाई विभिन्न जातजातिमा विभाजन गरेका छन्। तल्लो जातलाई हेप्ने र ठूलो जातलाई सम्मान गर्ने नियम बनाएका छन्।
मानिस जति धनवान भए पनि यदि त्यो मानिसलाई धनको प्रयोग गर्न आएन भने राम्रो मान्छे बन्न सक्दैन। यही विचारअनुसार म के भन्छु भने एउटा धनवान, निर्दयी र घमण्डी मानिसको अगाडि एउटा गरिब, सहयोगी र सबैको भलो चिताउने मानिस नै ठूलो हुन्छ। त्यो मानिसले सबैलाई सहयोग गरेको हुन्छ। यदि ऊ संकटमा छ भने उसलाई सबै मानिसले सहयोग गर्न आउँछन्। तर यदि एउटा घमण्डी र निर्दयी धनी मान्छे संकटमा छ भने उसलाई कोही पनि सहयोग गर्न आउँदैन। यसरी नै मानिसबीच रहेको भावना मेटिँदै गएको छ।
अहिले जहाँ गयो मानिसहरू सम्पत्ति, घरजग्गा, जमिन कै कुरा गर्छन्। विश्वका १९५ देशलाई विकसित, विकासशील र अविकसित देशमा विभाजन गरिएको छ। म के भन्छु भने जति विकसित एउटा देश हुन्छ त्यति नै ठूलो शत्रु त्यो प्रकृतिको हुन्छ। विकसित देशमा अत्यधिक मात्रामा धुँवाधूलो फालिन्छन्। किनभने त्यहाँ धेरै कलकारखाना हुन्छन्, जसले प्रकृतिलाई हानी पुर्याएको हुन्छ।
देशलाई अर्थतन्त्रअनुसार होइन, प्रकृतिको मात्रा अनुसार र मानिस बीच रहेको भावनाअनुसार विकसित, विकाससिल र अविकसित देशमा विभाजन गर्नुपर्छ।
करिब १२ बजेतिर मैले खाना खाएँ र एकछिन टिभी हेरेपछि फेरि त्यही बारेमा सोच्दै आफ्नो कोठाको झ्यालबाहिर हेरेँ।
अहिलेको कोरोना भाइरसको प्रकोप पनि त विकसित देशबाटै आएको हो। विश्वको सबभन्दा बढी अर्थतन्त्र भएको देश अमेरिकाले आज के गर्न सकेको छ? पहिला लाखौंलाख पैसा गन्ने देशले अहिले शव गनिरहेका छन्। हैन र? यदि मानिस पैसाको लोभी नभएका भए? यदि मानिसले प्रकृतिलाई सदुपयोग गरेका भए? यदि मानिस स्वार्थी नभएका भए यस्तो अवश्य नै हुँदैनथ्यो होला।
त्यतिकैमा आमा र बहिनी आउनुभयो र त्यो दिन यसरी नै बित्यो।
अहिले वैशाखमा फेरि म आफ्नो विचारलाई झल्झली सम्झन्छु। वर्तमानको समयसँग तुलना गर्न खोज्छु। अहिले मानिसहरू घरमै बस्नु परेको छ। मानिसलाई जागिर गुमाउने डर छ। परिवार कसरी चलाउने भन्ने डर छ। कतिपय मानिसले त आफूलाई कृषिमा संलग्न गर्न थालिसकेका छन्। होटलमा खाना खाने व्यक्तिले अहिले पसलमा रहेका फास्ट फुड एउटा ठूलो झोलाभरि किन्छन्। अझ पनि सहरका मानिस कलकारखानामा विभिन्न रसायनको मिश्रणबाट बनाइने प्याकेट फुडहरूमा निर्भर छन्। यी स्वार्थी मानिसले एउटा सुन्दर गाउँ पछि गएर सहरमा परिणत भएको गल्ती अहिले बुझिरहेका छन्।
मानिसहरू अहिले घरमा बसेका कारण प्रकृति हराभरा बन्दै गएको छ। कलकारखानाहरू बन्द भएका छन्। धुलोधुँवा घट्दै गएको छ। अहिले मानिसहरू घरबाट बाहिर निस्किन पनि पाएका छैनन्। पशुपन्छीलाई स्वतन्त्रता मिलेको छ। लोप हुँदै गएका चरा र जनावर देखिन थालेका छन्। जंगली जनावरलाई अहिले सिकारीबाट कुनै डर-त्रास छैन। जसरी एउटा चिडियाखानामा जनावरलाई कैदी बनाइएको हुन्छ। त्यसरी नै अहिले मानिसहरू आ-आफ्ना घरमा कैदी बनेर बसेका छन्।
आकशमा उड्ने चराचुरूंगीलाई धुलोधुँवाबाट मुक्ति मिलेको छ। बोटविरूवालाई किट्नाशक औषधिहरूसँग उन्मुक्ति मिलेको छ। समस्त संसार विस्तारै स्वस्थ बन्दै गएको छ। पानीमा फालिने फोहोरमैला घट्दै गएका छन्।
कोरोनाका कारण मानिसहरू एकजुट भएर एउटा परिवारमा मिलेर बस्न सिकेका छन्। मानिसबीच भावना बढ्दै गएको छ। प्रकृति र वातावरण स्वच्छ सुन्दर हुँदै गएको छ। यसरी म त्यो दिन कोरोनाको करामतको बारेमा सोच्दै गए। यसबाट मानिसहरूले धेरै कुरा सिक्न पाएका छन् होला भन्दै सोच्दै बसेँ।
अन्तमा, हामीले प्रकृतिलाई हानि पुर्याउनु हुँदैन। आफू स्वार्थी नभइकन, सबैको भलो कसरी हुन्छ भन्ने बारेमा सोच्दै आफ्नो जीवनमा अगाडि बढ्नुपर्छ।
(उद्धव ठाकुर बुढानिलकण्ठ स्कुल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)