सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्व कोरोना महामारीको चपेटामा परेको बेला सामाजिक दुरी कायम गर्ने हेतुले संसारका धेरै मुलुकमा लकडाउनको व्यवस्था पालना गरिएको छ। याे आतंकित समयमा चिन्तनको वातावरण विश्वमै बनेको छ। नेपालमा पनि लकडाउन सुरू भएको महिना दिन भयाे। लकडाउनले मजदुर, किसानदेखि व्यापारीसम्म सबैको जीवन उथलपुथल भएको छ।
सरकारले एसइई परीक्षा स्थगित गरे लगतै मेराे पनि घरमै दिनचर्या बितिरहेको छ। कुनै समय परीक्षा दिन पाइएन जस्तो लाग्छ त कुनै समय भने परीक्षा दिँदा अरूबाट संक्रमण पनि हुन सक्थ्यो भनेर ढुक्क हुन्छ। यो समय सारा मानिसको कामकाज नै ठप्प भएको हुँदा मन त्रसित र बेचैन छ।
लकडाउनमा बस्दा मानिसहरू सामाजिक सञ्जालमा बढी सक्रिय हुने हुँदा प्रथमतः आफन्त तथा साथीहरूसँग कुराकानी गर्न पाइएको छ। यससँगै त्यहाँ फैलाइने अफवाहहरूबाट पनि कतिपय निकै त्रसित भएका छन्। चीनबाट सुरू हुँदै अमेरिका, स्पेन, इटालीलाई ग्रस्त पारेको यो भाइरसले हाम्रो मुलुकलाई कस्तो असर पार्न कसैले कल्पना पनि गर्न सकेको छैन।
संक्रमितकाे संख्या बढ्दै हजारौंको संख्यामा पुग्ने त होइन भन्ने डर मेराे मनमा उत्पन्न हुन्छ। यो लकडाउनले मानिसको त्रासलाई केही हदसम्म भने कम गराएको छ।
लकडाउनमा आफ्नो परिवारसँग भने मजाले बस्न पाइएको छ।
सधैं शनिबारझैं घरमा बसिरहँदा दिक्क त लाग्छ तर यो समय सदुपयोग गरेर अन्य सृजनात्मक काममा आफूलाई संलग्न गरेको छु। अहिलेकाे समयमा सकारात्मक सोचको विकास गर्दै छु। विश्वको धेरै विकसित मुलुकहरूमा पनि अहिले विस्तारै संक्रमण निको हुनेकाे संख्या बढ्दै छ।
मानिसहरू काेराेनाबाट बच्न प्रतिरोधात्मक क्षमता बढाउन आफूलाई केन्द्रित गर्दा मनमा आशावादी भावना उब्जन थालेको छ। नेपालले पनि आर्थिक अवस्थाले भ्याएसम्म गरेको प्रयास देख्दा अझै सकारात्मक सोच विकास हुँदै आएको छ। ढुक्क हुन भने सकिएको छैन। यो चरम अवस्थामा सतर्कता अपनाउन अपरिहार्य छ।
लकडाउनलाई मैले आउँदै गरेको एसइई परीक्षाको लागि थप तयारी गर्ने सुनौलो अवसरको रूपमा लिएको छु। पहिले आफू अलि निर्धक्क हुन नसकेको विषयमा अझै थप प्रयास गर्दै अन्य क्रियाकलापहरूमा पनि आफूलाई सक्रिय राख्न प्रयत्न गरिरहेकाे छु।
यो समय व्यापार व्यवसायमा लाग्ने, बाहिर घुम्न जाने नभई लकडाउन उचित ढंगले पालना गर्दै सेल्फ–क्वारेन्टाइनमा सुरक्षित बस्नुपर्ने कुरा थाहा पाएँ। लकडाउनको पालना गर्दा आफूलाई सुरक्षित महशुस गरेको छु।
यो समयले 'होम स्टे र स्टे होम' बीच गज्जबको भिन्नता प्रस्ट्याएको छ। होम स्टे अर्थात भ्रमण गर्दा घर जसरी नै बस्ने ठाउँ र स्टे होमचाहिँ संक्रमण फैलिन नदिन घरमै बस्ने र लकडाउनको पालना गर्ने हो। शब्द यता उता भए पनि अर्थ आकाश पातल झै फरक हुँदो रहेछ। त्यसैले अहिले स्टे होममा रहने समय हो, होम स्टेमा त महामारीबाट छुटकारा पाएपछि गइएला नि!
मैले यो समय चुनौतीपूर्ण र भयावह भए पनि एक अवसरको रूपमा लिएको छु। आफ्नो कला, क्षमता र सिपको वृद्धि गर्दै लकडाउन पछिको सुनौला अवसरले भरिपूर्ण दिनहरूमा अहिले प्राप्त गरेको सिकाइ र क्षमताको सदुपयोग गर्नुपर्छ। चाहे म जस्तो विद्यार्थी होस् या अन्य पेशा व्यवसाय भएका व्यक्ति, सबैले यसलाई एउटा अनौठो अनुभव र अवसरको रूपमा लिनुपर्छ। पहिले नगरेका गृहकार्य पूरा गर्नुपर्छ।
मेरो मन केही अशान्त भएपनि यो समयमा सकारात्मक सोच राखी धैर्यधारण गर्न सिकेको छु।
आशा छ, यो समय छिट्टै बितेर स्थगित भएको एसइई परीक्षा दिन पाऊँ। सन् २०२० बाट २०२२ मा सरेकाे नेपाल भ्रमण वर्षले अझै ख्याति कमाओस् भन्ने मेरो आकांक्षा छ। त्यसैले सबैजना आफूलाई शान्त पारौं। लकडाउनको उचित पालना गर्दै अवसर पनि खोज्दै गरौं। यसैमा सारा जगतको भलाई छ।
(दिवस पौडेल ल्याबोरेटोरी माध्यामिक विद्यालय, किर्तिपुर काठमाडाैंमा कक्षा १० मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)