सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आयुश्री ढकाल हो। म ७ वर्ष भएँ। मेरो घर वीरेन्द्रनगर, सुर्खेतमा छ। नवज्योती स्कुल, वीरेन्द्रनगर, सुर्खेतबाट कक्षा २ को परीक्षा दिएर बसेकी छु। लकडाउनका कारण मेरो रिजल्ट आएको छैन। रिजल्ट पछि ३ कक्षामा जानेछु।
यति बेला कोरोना भाइरस फैलिन नदिन लकडाउन छ। अहिले म दिनभर घरमै हुन्छु। लकडाउनका कारण घरबाहिर निस्कनु हुँदैन। लकडाउन भएको पनि एक महिना भइसकेको छ। कोरोना भाइरस सर्न नदिन भिडमा जानु हुँदैन। साबुनपानीले हात धुनुपर्छ। मास्क लगाउनुपर्छ। म पनि बेलाबेला हात धुन्छु। घर बाहिर कतै जान्नँ।
मेरो परिवारमा बाबाआमा र मसहित तीन जना छौं। म बिहान ६ बजे उठ्छु। आमासँग एक घन्टा जति योग गर्छु। त्यसपछि विहान २ घन्टा पढ्ने र लेख्ने गर्छु। दैनिक ४ पेज नेपाली र अंग्रेजी लेख्छु। मेराे आमाबाबा अफिसमा काम गर्नुहुन्छ तर लकडाउनका कारण अहिले उहाँहरू पनि पालैपालो अफिस जानुहुन्छ। उहाँहरूलाई मास्क लगाउन र स्यानिटाइजरले हात सफा गर्न सधैं भन्छु।
खाली समयको सदुपयोग गर्न हामी अनलाइनबाट पनि धेरै कुरा सिक्न सक्दा रहेछौं। पढाइसँग मिल्ने उपयोगी सामग्रीहरू पढ्न पनि सकिँदो रहेछ। इ-पाठशाला, ओएलइ नेपाल लगायत वेबसाइटमा हाम्रा किताबहरू पनि अनलाइन पढ्न र अभ्यास गर्न सकिने रहेछ। मैले दिनहुँ पढ्ने र अभ्यास गर्ने गरेकी छु।
म कहिले स्कुल खुल्छ होला भनेर सोच्छु। मलाई स्कुल जान असाध्यै मन पर्छ। फुर्सदको समयमा केही न केही गरिरहुँ जस्तो लाग्छ। किताबहरू पढ्न मन लाग्छ। मलाई बाबाले ल्याइदिनुभएका 'एक दिनको यात्रा, फूलबारी, जुनपरी, बायुपंखी घोडा, राष्ट्रिय विभूतिहरू, हामी हुन्छौं बलियो, विजुली र विजुला, मंगलमानको सारंगी, बुद्धिको खेल र मैले गाउने गीत' पढेर सकेँ। साथै 'सगरमाथाको गहिराई र जीवन काँडाकी फूल' पनि पढ्न सुरू गरेकी छु।
हामीले लकडाउनमा युट्युब हेरेर खानेकुरा पनि बनायौं। बाबाले केक र चटपटे बनाउनु भयो। आमाले सेलरोटी, हलुवा र पानीपुरी बनाउनु भयो। उहाँहरूलाई मैले सहयोग गरेँ। तरकारी काट्न, भाँडा माझ्न र सरसफाइ गर्न आमाबाबालाई सघाउँछु। मलाई रोटी अत्यन्तै मनपर्छ। यो बिदामा मैले सुख्खा रोटी बनाउन पिठो मुछेर बेल्न अनि पकाउन पनि सिकेँ। साथै, चिया पकाएर आमाबाबालाई दिन्छु र आफू पनि खान्छु। बाबाले निकै मिठो खाना पकाउनुहुन्छ।
घरमा आमाबाबा र म दिनभरी कहिले लुडो त कहिले शब्द र गीतको अन्ताक्षरी खेल्छौं। साथै, म डोरी खेल्छु। त्यति बेला निकै रमाइलो लाग्छ। कहिलेकाहीँ मेरा नजिकका साथी प्रज्ञा, सिविया र दिपिकासँग डोरी, लुकामारी, भाँडाकुटी, शिक्षक-विद्यार्थी जस्ता खेल खेल्ने र सँगै नाच्ने तथा गीत गाउने पनि गर्छाैं। साथीसँग खेल्दा रमाइलो हुन्छ।
युट्युबबाट मलाई मनपर्ने कार्यक्रम हेर्छु। मैले युट्युबमा 'सूर्यवंशी, बागवान, थ्रि इडियटस, आइएम कलाम, तारे जमिन पर, रूद्रामा देवी, दंगल' लगायत फिल्म हेरिसकेकी छु। मलाई चित्र कोर्न र नाच्न मन पर्छ। मैले धेरैवटा चित्र बनाएकी छु। साथै, मलाई मनपर्ने गीत बजाएर नाच्छु। कुनै समय मलाई आमाबाबाले कथाहरू सुनाउनुहुन्छ। म पनि आफूले किताबमा पढेका कविता, कथा, चुट्किला सुनाउँछु।
मलाई आमाले डायरी लेख्न सिकाउनुभएको छ। राति सुत्नुअगाडि दिनभरी भएका, गरेका काम-कुराहरू डायरीमा लेख्छु। डायरी लेख्न रमाइलो लाग्छ। म बारीमा तरकारीमा पानी पनि हाल्छु। बारीमा काम गर्न त कति रमाइलो हुँदो रहेछ।
सुर्खेतमै भए पनि लकडाउनका कारण मैले हजुरआमा, हजुरबुबा भेट्न पाएकी छैन। उहाँहरूलाई भेट्न नपाएकाले उहाँहरूको हालखबर फोन गरी सोध्छु। परीक्षा सकेर दाङ मामाघर जाने भनेको लकडाउनले गर्दा भएन। मामाघरका हजुरबा, हजुरआमा, मामामाइजू र दादादिदीले मलाई माया गर्नुहुन्छ। उहाँहरूसँग पनि फोनमा कुराकानी भइरहेको छ।
बाबाले लेखहरू लेखिरहनुहुन्छ। मलाई पनि यो लेख लेख्न मन लाग्यो। मैले कापीमा लेखेर आमालाई कम्प्युटरमा टाइप गर्न दिएकी छु। मेरो लकडाउनको समय यसरी नै बितिरहेको छ। कतिपय साथीहरू त आफ्नो परिवारबाट टाढा हुनुहुन्छ होला। जो जहाँ जसरी जोसँग हुनुहुन्छ आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गर्नुहोला।
धन्यवाद।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)