सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
आज हामी नयाँ रोग कोरोनाको महामारीका कारण लकडाउनमा बसेका छौं। के होला, कसो होला? भनेर विश्व नै डर त्रासमा रहेको छ। मलाई यस लकडाउनमा बस्दा करिब ५ वर्ष अगाडिको भूकम्पको सम्झना आयो। त्यस बेला म कक्षा १ को परीक्षा सकाएर बसेकी थिएँ। म परीक्षा सकाएर बसेकाले अलि फुर्सदमा थिएँ।
त्यति बेलाको सम्झना अहिले पनि मेरो दिमागमा झलझली खेलिरहछ। शनिबारको दिन थियो। म सबेरै उठेँ। घाम टल्किरहेको थियो। मलाई मामाघर असाध्यै मनपर्थ्यो। त्यसदिन मेरी आमा मामाघर जान लाग्नुभएको थियो। म मेरी आमा मामाघर जान लाग्दा रून थालेँ। आमा भने भन्नुहुन्थ्यो, 'विद्यालय बिदा छैन। त्यसैले बिदा भएपछि जाने ल।'
म भने अटेर गरेर भन्थेँ, 'नाइँ! म जाने, २ महिना बिदा हुन्छ।'
त्यति बेला मलाई सम्झाइवरि मेरी आमा मामाघर जानुभयो। बस करिब आठ बजे छुट्यो। म निराश भएँ। त्यसपछि मैले खाना खाए र ल्यापटपमा कार्टुन हेर्न थालेँ। करिब १२ बजेसम्म म ल्यापटपमा कार्टुन हेर्दै थिएँ। बुवा आफ्नो काममा व्यस्त हुनुहुन्थ्यो। त्यही समयमा हाम्रो घर बेस्सरी हल्लन थाल्यो। के भयो मलाई केही थाहा भएन। बुवाले मलाई बाेलाएर कोठोको ढोकानिर लैजानुभयो। बुवा र म ढोकामुनि बस्यौं। काका माथिल्लो तल्लामा हुनुहुन्थ्यो। उहाँ घर हल्लिन थालेपछि टेबुलमुनी बस्नुभएको रहेछ।
भूकम्प अलि कम भएपछि उहाँ हतारहतार आत्तिदै तल आउनुभयो। उहाँ आएपछि हामी तीनै जना घर बाहिर निस्कियौं। बाहिर निस्कँदा छिमेकी सबै बाहिर आइसकेका रहेछन्। बाहिर निस्कने हामी अन्तिम परिवार रहेछौं। बाहिर गएपछि मैले बुवासँग मोबाइल मागेर आमालाई फोन गर्ने प्रयास गरे तर फोन लागेन।
अरू छिमेकी पनि बाहिर आएपछि सबै जनाले के कतिको भूकम्प गएको हो भनि डराउँदै गफ गरेर बस्नुभएको थियो। सो समयमा स-साना पराकम्प गई रहेकै थिए। त्यति बेलासम्म भूकम्प भन्ने के हो मलाई थाहा थिएन। त्यसैले म जति बेला पनि एउटा कम्पन गयो कि त्यसकै तालमा उफ्रन्थे र नाच्थेँ। एकछिन पछि जब एम्बुलेन्सको आवाज सुनिन थाल्यो, म र काका घरबाट अलि परसम्म गएर आयौं। त्यति बेलासम्म मलाई भोक लाग्न थालेको थियो। काकाले मलाई चाउचाउ किनिदिनुभयो। त्यसदिन हामी दिनभरी चौरमै बस्यौं।
रात पर्न थालेपछि चौरमा सबैजना भएर पाल टाँग्नु भयो। त्यो पालमा अरू छिमेकी पनि हुनुहुन्थ्यो। राति जब पानी पर्न थाल्यो, पालको प्वालबाट पानी पस्न थाल्यो र हामी घरभित्र आएर सुत्यौं। कतिपय छिमेकीहरू पालमा नै हुनुहुन्थ्यो। त्यही भूकम्पका कारण हाम्रो विद्यालय लामो समय बन्द भयो। म मेरो मामाघर जान पाइनँ। त्यस दिनपछि पनि अलिअलि भूकम्प आइनै रहे। त्यो वर्षभरी हामीले भूकम्पको त्रासमा जीवन बितायौं।
जब भूकम्प आएथ्याे हामी घरबाहिर निस्कन्थ्यौं। अहिले कोरोनाको त्रासका कारण घरभित्रै बसिरहेका छौं। विद्यालय जान नपाए पनि कोरोनाबाट बच्नका लागि घरभित्र बस्नु नै राम्रो हुने भएकाले मैले यस समयलाई फरक अनुभवको रूपमा लिएकी छु।
(मोनिता पौडेल सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)