सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म अनमोल राई। ९ वर्षको छु। आमासँग काठमाडौंमा बस्छु। मेरो विद्यालयको नाम एसियन पब्लिक स्कुल हो। गएको चैतमा कक्षा ३ को जाँच दिएँ। कोरोना भाइरसबाट बच्नका लागि आमा र म घरभित्रै बसिरहेका छौं। लकडाउनका बेला मैले आमासँग धेरै समय बिताउन पाइरहेको छु।
लकडाउनभन्दा पहिले उहाँ काममा व्यस्त रहनुहुन्थ्यो। विद्यालयको समयमा पुर्याउन लैजाने र छुट्टी भएपछि लिन आउनुहुन्थ्यो। कहिलेकाहीँ ढिला गरेर लिन आउनुहुन्थ्यो। विद्यालयमा भएका अरू साथीहरूसँग खेल्दै म आमालाई कुर्थेँ। धेरैजसो घरमै पनि उहाँलाई कुरेर बस्ने गर्थेँ।
आमाले मलाई एक वर्ष पहिले नै कालो चिया पकाउन सिकाउनुभयो। त्यसपछि दूध उमाल्न, अम्लेट बनाउन रचाउचाउ पकाउन पनि सिकाउनु भयो। कहिलेकाहीँ यी खानेकुरा आफैं पकाएर खाने गर्छु। आमालाई पनि पकाएर खुवाउँछु। निकै खुसी हुँदै आमाले खानु हुन्छ। मलाई आनन्द लाग्छ।
अहिले म र आमाले धेरै कुरा सँगसँगै गर्छौं। फिल्म हेर्छाैं। कार्टुन हेर्छाैं। चित्र बनाउछौं। आलु क्रस, लुडो र लुकामारी खेल्छौं। पकाउने काममा पालो पनि गर्छौं। कालो चिया पालैपालो पकाउछौं। अम्लेट पनि पालैपालो बनाएर एकअर्कालाई खुवाउछौं। आमाले मलाई मन पर्ने खानेकुरा पकाएर दिनुहुन्छ। मलाई अरू खानेकुरा पकाउन पनि सिकाउँदै हुनुहुन्छ।
भर्खरै प्यान केक बनाउने तरिका सिकाउनुभयो। सुख्खा रोटी बेल्न पनि सिकाउनुभयो। मैले बेलेँ। रोटी प्वालै प्वाल पर्यो। गोलो पनि भएन। बेलेकै ठाउँमा टाँसिएर च्यातियो। जति गरे नि त्यस्तै भयो। मलाई दिक्क लाग्यो। आमा भने हाँस्नुभयो। उहाँले ‘गर्दै जाऊ विस्तारै राम्रो हुन्छ’ भन्नुभयो।
मलाई अनौठो र रहस्यमयी कुराहरू सुन्न र हेर्न मन पर्छ। युट्युबमा खोजेर त्यस्ता कुरा हेर्छु। ती कुराबारे आमालाई पनि सुनाउँछु। आमा र म गाउँखाने कथा खेल्छौं।
मैले युट्युबमा हेरेका त्यस्तै अनौठा कुरालाई गाउँखाने कथामा प्रश्न बनाएर सोधेँ। आमाले धेरैको उत्तर दिन सक्नुभएन। बदलामा मलाई धेरै गाउँहरू दिनुभयो। अहिलेसम्म नसुनेका गाउँहरू दिनुहुँदा मैले मानिनँ। उहाँले ती गाउँहरू साँच्चै छन्, ती कहाँ कहाँ छन् भनेर पनि भन्नुभयो। त्यसपछि मैले ती नयाँ नयाँ धेरै गाउँ लिएँ। त्यसरी खेल्दा मलाई धेरै रमाइलो लाग्यो।
मलाई कथाहरू पढ्न र सुन्न मन पर्छ। आमाले मेरा लागि पढ्ने किताब ल्याइदिनुभएको छ। मलाई अंग्रेजीभन्दा नेपाली पढ्न र लेख्न अलि गाह्रो लाग्छ। आमाले गाह्रो लाग्ने कुरा झन् अभ्यास गर्नुपर्छ भनिरहनुहुन्छ। दुवै भाषाका रमाइला कथा पढ्ने कोशिस गर्छु। मैले पढ्दा आमाले ध्यान दिएर सुन्नुहुन्छ।
मैले उच्चारण गर्न नसकेको वा सहीसँग पढ्न नसकेका कुरा सिकाइदिनुहुन्छ। लकडाउन सुरू भएपछि मैले 'कुमारी जात्रा, पशुपति जात्रा, बाल विज्ञान, बाल संसार, जादुको कथा' भन्ने बालचित्र कथाका किताबहरू पढेँ। यी कथाबाट मैले धेरै कुराबारे थाहा पाएँ। नेपाली भाषा पढ्ने अभ्यास पनि भइरहेको छ।
राति खाना खाइसकेपछि आमाले प्रायः मेरो रोजाइको कथा सुनाउनुहुन्छ। केही कथा मलाई निकै मन परे। सबैभन्दा धेरैचाहिँ 'मेरो एउटा सपना छ' भन्ने मार्टिन लथर किङ जुनियरको जीवनी मन पर्यो। कक्षा २ को 'लाइफ स्किल' विषयमा मार्टिन लथर किङ कसरी हिरो बन्नुभयो भन्ने बारेमा थोरै लेखिएको थियो। सीता म्यामले हामीलाई किङको बारेमा बताउनुभएको थियो।
किङको जीवनीबारे आमाले सुनाउनु भएपछि उहाँको बारेमा धेरै कुरा थाहा पाएँ। सुन्दासुन्दै आमाले आजलाई यति नै भन्नुभयो। मलाई भने सुन्न पुगेकै थिएन। आमाले रातको साढे एघार बजिसक्यो, ढिला सुत्नु राम्रो होइन भन्नु भयो। जबरजस्ती सुतेँ।
भोलिपल्ट बाँकी रहेको कथा सुनाउन आमालाई बारम्बार सम्झाइरहेँ। रातिको खाना खाइसकेपछि फेरि कथा सुन्न म तयार भएँ। आमाले सबै कथा पढेर सुनाउनु भयो। मलाई एकदम राम्रो लाग्यो। कति चाँडै कथा सकियो जस्तै लाग्यो।
त्यसपछि एकदमै मन परेको अर्को कथा हो, 'आमाले सक्नुहुन्छ'। यो कथा मैले पढेका र सुनेका अरू कथाभन्दा बेग्लै रहेछ। आमाले कति धेरै कुराहरू गर्नुहुँदो रहेछ। केटा र केटी दुवैले राम्रो गर्न सक्छन् भन्ने कुरा मलाई धेरै मन पर्यो। कथा सुन्दा मेराे मनमा कत्ति कुरा आइरहेको थियो। आमाले कथा पढ्दै गर्दा बिचैमा रोकेँ।
‘ड्याडी फिंगर, ड्याडी फिंगर ह्वेयर आर यु? हियर आइ एम, हियर आइ एम, हाउ डु यु डु’ मा बुढी औंलालाई ड्याडी भन्छ। बुढी औंलालाई नै किन ड्याडी भनेको होला आमा?’ मैले साेधेँ।
‘रायम लेख्ने मान्छेलाई बुढीऔंला हेड अफ द फेमिली हो भन्ने लागेर होला कि?’ आमाकाे जवाफ।
‘आमाले सक्नुहुन्छ भन्ने यो कथा उसले पनि पढ्नुपर्ने रहेछ’
‘किन ?’
‘हेड अफ द फेमिली ममी पनि हुन सक्छ। ब्रदर पनि हुन सक्छ। सिष्टर पनि हुन सक्छ। यो बुढी औंलालाई बेबी फिंगर पनि त भन्न सकिन्छ नि, किन ड्याडी नै भन्नुपर्थ्यो र?’
‘ठिक भन्यौ,' आमाले सबै कथा पढेर सुनाउनुभयो। कथा सुनिसकेपछि मैले सबैभन्दा पहिले आफ्नो बाबालाई सम्झेँ।
उहाँले खाना पकाएको, लुगा धोएको, घर सफा गरेको मैले देखेको छु। त्यसैले मेरो बाबा 'आमाले सक्नुहुन्छ'को बाबाजस्तै हुनुहुन्छ भन्ने लाग्यो। खुसी लाग्यो।
अरूहरूको बारेमा ममीलाई सोधेँ, ‘तपाईंको फलाना साथीको बाबा को जस्तो हुनुहुन्छ? 'आमाले सक्नुहुन्छको' बाबा जस्तो कि काका जस्तो?’,
‘तपाईंको केटा साथीहरू बाबा जस्तो कि काका जस्तो छन्?’, ‘फलाना आन्टीको श्रीमान को जस्तो हुनुहुन्छ?’, मेरो प्रश्न सकिएकै थिएन आमाले भन्नुभयो ‘अब अर्को कथा पढ्ने तिम्रो पालो। मेरो सुन्ने पालो।’
मेरो लकडाउन रमाइलोसँग बित्दै छ। साथीहरूको कसरी बित्दैछ?
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)