सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म मेरोन कँडेल। कक्षा ७ बाट ८ मा जानुपर्ने थियो। कोरोनाले घरमै बस्ने बनायो। म ८ वर्षको थिए भुइँचालो आएको थियो। अहिले १३ वर्षको भएँ। अर्को डर लाग्दो रोगले सारा संसारलाई अति गाह्रो बनाएको छ। यो एक महिना लकडाउनमा बस्दा मैले भुइँचालोभन्दा अर्कै अनुभव गरेँ। एक महिनामा धेरै कुरा सिकेँ र अनुभव गरेँ।
इन्टरनेट गेम खेल्न, फिल्म हेर्न, गीत सुन्न अनि होमवर्कको बेला केही चाहिए खोज्न प्रयोग गर्थेँ। मैले सोचेकै थिइनँ यसबाट नै पढाइ गर्न सकिन्छ। यो हाम्रो युगको आविष्कार थियो जसले हामी विद्यार्थीलाई नयाँ कुरा सिकायो। म साथीहरू कम्युटरबाट पढाइ गरिरहेका छौं। मनमा भने दुःखी गरिबले गाउँमा कसरी पढिरहेका होलान् भन्ने कुराले पिर लाग्छ। सबैले पढ्न पाए राम्रो हुने थियो।
कहिलेकाहीँ बुबाले सामान इन्टरनेटबाट मगाएको थाहा थियो। कोरोनाले सबै बन्द भएकाले हामीले सबै सामान घरमै मोबाइलबाट मगाउने र पैसा तिर्ने गर्याैं। यो अति राम्रो कुरा लाग्यो किनकी हामीले नयाँ प्रविधिको सदुपयोग गर्न सक्यौं। तर किसानको सामान कुहिएर फालेको समाचार टिभीमा देख्दा उनीहरूलाई नि यस्तै गरी बेच्न सक्ने बनाउन पाए राम्रो हुनेथ्यो जस्तो महशुस भयो।
पहिला पहिला खाना बनाउन जानेको थिएन। कहिलेकाहीँ त चिया बनाउँथे तर मिठो हुँदैनथ्यो। दिदी र आमाबाट चिया, तरकारी मीठो बनाउन सिक्न पाए। त्यति मात्र होइन, युट्युब हेरेर पिज्जा, कुकिज, पास्ता बनाउन सिकेँ। आमालाई पनि सिकाएँ। मैले भान्छालाई पनि यो समयमा शिक्षाको एक स्कुल बनाए। यो सिकाई मेरो जीवनभर महत्वपूर्ण हुनेछ।
बुबाले लकडाउनको एक हप्तापछि दैनिक रूटिन बनाउन लगाउनुभयो। त्यही रूटिन पालन गरिरहेका छौं। बिहान ८ बजेभित्र उठेर योग, प्रणायाम अनि नाच्ने। खाना खाने र स्कुलको अनलाइन कक्षामा भाग लिने। त्यसपछि दुई घन्टा आफूलाई गाह्रो लाग्ने विषय नेपाली पढ्ने।
केही समय गेम खेल्ने र एक घन्टा आफ्नो अनुभूति कापीमा लेख्ने। अनि टिभी हेर्ने र सँगै आमाबुबा र दिदी मिलेर फिल्म पनि हेर्ने। यसरी कामलाई व्यवस्थित गर्न पनि लकडाउनले सिकायो। जीवन सफल बनाउन दैनिक जिवनलाई राम्रो व्यवस्था गर्नपर्छ भनेर बुबाले हामीलाई रूटिनमा काम गर्न लगाउनु भयो र हामीले पालना गरिरहेका छौं। सबैलाई यसरी दैनिकी अगाडि बढाउन सल्लाह दिन चाहन्छु।
(मेरोन कँडेल राजश्री गुरूकुल, भक्तपुरमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)