सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम अनुपम क्षेत्री हो। म पेनउड एकेडेमी महाराजगँज चक्रपथमा पढ्छु। कक्षा ६ पास गरी कक्षा ७ मा प्रवेश गरेको छु। हुन त लकडाउनले गर्दा विद्यालयमा औपचारिक रूपमा वार्षिक परीक्षाको नतिजा प्रकाशित हुन सकेन। वार्षिक परीक्षा सकेर घरमै बसेको र विद्यालय नगएको एक महिना पुगिसकेको छ।
कोरोना रोगको महामारीले विश्वका सबै देशलाई सताएको र यसबाट थुप्रै व्यक्तिहरूको मृत्यु भएको खबर दिनदिनै आइरहेको छ। हाम्रो देशमा पनि यो रोगबाट मानिसहरूमा संक्रमण बढ्दै गएको छ। यो महामारीबाट हामी सबैलाई जोगाउन सरकारले लकडाउन घोषणा गरेको पनि १ महिना पुगिसकेको छ।
लकडाउनको समयलाई मैले विभिन्न तरिकाले बिताएको छु। पहिलो हप्ता विद्यालय जान नपर्दा घरमै बस्न पाउँदा म भित्रभित्रै खुसी भएको थिएँ। लकडाउनको समय लम्बिँदै गएपछि हरेक दिन केही नयाँ सिर्जनात्मक कार्य गर्ने अवसर पाएको छु।
मैले बाबाआमाबाट योग अभ्यास सिक्दैछु। दैनिक करिब १ घण्टा म प्राणायाम र योग आसनहरू गर्छु। भ्रास्तिका, अनलोम बिलोम, कपालभाति र भ्रामरी प्राणयाम लगायत योग अभ्यासले साँच्चिकै हाम्रो मन र मस्तिष्कलाई नयाँ ऊर्जा दिँदो रहेछ। कहिलेकाहीँ संगीतको तालमा म नृत्य पनि गर्छु जसले हाम्रो शरीरलाई निकै हल्का बनाउँछ।
म दैनिक ३,४ पेज नेपाली हस्तलेखन गरी नेपाली लेखन सुधार गर्दैछु। लकडाउनको समयमा मैले युट्युबबाट धेरै राम्रा कुरा सिक्ने अवसर पनि पाएँ। खासगरी, विभिन्न वैज्ञानिकहरू जस्तै आइन्सटाइन, थोमस अल्वा एडिसन, न्युटन, चार्लस डार्बिन लगायतको जीवनी र उनीहरूले प्रतिपादन गरेका सिद्धान्तहरू अध्ययन गरिसकेँ। यो बिदामा अंग्रेजी र नेपाली दुवै भाषा गरी ७ वटा निबन्ध पनि लेखिसकेको छु।
यो समयमा घरायसी काममा पनि ममीलाई मद्दत पुर्याएको छु। जस्तै चिया पकाउने, भाँडा माज्ने, तरकारी काट्ने, कोठा सफा गर्ने आदि। मैले खाना बनाउन पनि सिकेको छु। त्यसैगरी केही चित्र पनि बनाएको छु। दैनिक १, २ घण्टा जति म ट्याबलेटमा गेम पनि खेल्छु। कहिलेकाहीँ विज्ञान सम्बन्धी र अन्य समसामयीक ज्ञानवर्द्धक विषयका भिडिओ हेर्ने र नयाँ जानकारी लिने कार्य पनि गर्छु। यस बीच मैले केही नेपाली फिल्म पनि हेरिसकेको छु। मेरो स्कुलले मलाई डायरी तयार गर्नु भनेकोले म हरेक दिन बेलुका सुत्नुअघि डायरीमा दिनभरीको क्रियाकलाप बारेमा लेख्छु।
गत हप्तादेखि मेरो विद्यालयले अनलाइन कक्षा सुरू गरेको छ। कक्षामा सबै साथीहरू र शिक्षक शिक्षिकाहरूलाई देख्दा धेरै खुसी लागेको छ। विद्यालय छिटोभन्दा छिटो जान पाए हुन्थ्यो भन्ने पनि मनमा लागेको छ।
कोरोना भाइरस (कोभिड १९) को महामारीबाट बच्न म घरमा परिवारसँगै सुरक्षित रूपमा क्वारेन्टाइनमा बसेको छु। लकडाउन सुरू भएयता म घरको गेटबाट बाहिर निस्किएको छैन। घरभित्रै आनन्द मानेर परिवारसँग रमाएर बसेको छु।
अघिपछि भन्दा फरक तरिकाले केही नयाँ सिर्जनात्मक कार्य गर्दै यो मूल्यवान समय बिताइरहेको छु। म पटक पटक साबुनपानीले हात धुन्छु र नियमित रूपमा स्यानिटाइजर पनि प्रयोग गर्छु। नियमित रूपमा तातो पानी पिउने, स्वस्थ खानेकुरा खाने, योग अभ्यासद्वारा कोरोनासँग लड्ने प्रतिरोधात्मक शक्तिको विकास गर्दैछु।
अन्त्यमा, म सबै साथीहरूलाई घरमै बसौं, केही नयाँ सिर्जनात्मक कार्य गरौं र सुरक्षित रहौं भन्न चाहन्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)