सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
पत्रः
आदरणीय हजुरआमा, हजुरबुवा
सादर नमस्कार!
म यहाँ सन्चै छु। हजुरहरु पनि त्यहाँ सन्चै हुनुहुन्छ होला भन्ने आशामा छु। हाल विश्वमा महामारीको रूपमा देखा परेको कोरोना भाइरसको कारण विश्वभरी मानव जाति आतंकको अवस्थामा छन्।
कोरोना भाइरसको संक्रमण बढिरहेको र ठूलो मात्रमा मानिसहरूको मृत्य भइरहेको छ। यसको औषधि एवं खोप समेत नभएको जानकारी पाएकी छु। संक्रमण फैलन नदिन सामाजिक दुरी कायम राख्न जरूरी भएकाले हाल विश्वका धैरैजसो मुलुकले लकडाउनको उपाय अपनाएको टेलिभिजन समाचारहरूबाट र परिवारसँगको कुराकानीमा थाहा पाएकी छु।
कोरोना भाइरसबाट बच्न अनावश्यक हिँडडुल नगर्ने र मानिस मानिसबीच दुरी राख्न र सम्पर्क नगर्न हाम्रो विद्यालय पनि बन्द छ। सरकारले पनि कोरोना भाइरसबाट बच्न अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण कार्यालय, विद्यालय, अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक विमानस्थल लगायत सम्पूर्ण सार्वजनिक स्थल बन्द गरेको छ।
कोराना भाइरसका कारण विश्वमा आजसम्म लाखाैं मानिस संक्रमित र धेरैकाे मृत्यु भएको जानकारी पाएकी छु। कारोनाले गर्दा सम्पूर्ण क्षेत्र बन्द भएकाले मानिसहरू बेरोजगार भएका छन्। दैनिक आय गरेर जीवन गुजारा गर्नेका लागि आम्दानी बन्द छ। खानका लागि अप्ठ्यारो परेको जानकारी पाएको छु।
सरकारले पनि कम आय भएकाहरूका लागि राहतको व्यवस्था गरेको र त्यो पर्याप्त नरहेको समाचारमा आइरहेको छ। कोरोना भाइरसको छिट्टै अन्त भएर मानिसको दैनिक जीवन सहज होस् र छिट्टै विद्यालय गई पढ्न पाए हुन्थ्यो जस्तो मलाई लागेको छ।
मेरो कक्षा ६ को वार्षिक परीक्षा पनि कोरोना भाइरसको कारण नियमित तालिकाभन्दा अगाडि नै सुरू भइसकेको थियो। परीक्षा सकिएपछि हामी घरमा नै छौं। वार्षिक परीक्षाको नतिजा पनि बाबाको इमेलमा विद्यालयबाट आइसकेको छ। विद्यालयहरूले विद्यार्थीहरूको पढाइ नबिग्रियोस् भनेर अनलाइन कक्षा सुरू गरेका छन्। मेरो विद्यालयले पनि एकहप्ता अगाडिदेखि अनलाइन कक्षा सुरू गरेको छ।
बिहान आठ बजेदेखि अनलाइन कक्षा सुरू हुन्छ। शिक्षकहरूले अनलाइन कक्षा माइक्रोसफ्ट टिम्सबाट चलाइरहनुभएको छ। इन्टरनेटको गति राम्रो हुँदा त शिक्षकहरूको पावर प्वाइन्ट प्रस्तुति निकै राम्रो हुँदो रहेछ। शिक्षकहरूले आफ्नो प्रस्तुति अपलोड पनि गरिदिनुभएकाले पछि पनि पढ्न पाइने रहेछ।
अनलाइन एसाइनमेन्ट सकाएपछि अपलोड गर्न भने मलाई अलि अप्ठ्यारो भएको थियो। अनलाइन कक्षा नेपाली विषयबाट सुरू भएको थियो। हाम्रो नेपाली विषयको पहिलो कक्षा नै चिठी कसरी लेख्ने भनेर शिक्षकले सिकाउनुभयो। मैले त्यही कक्षाको आधारमा तपाईंहरूलाई चिठी लेख्न प्रेरित भएकी हुँ।
अनलाइन होमवर्क गर्नुपर्ने भएकाले मैले कम्प्युटर टाइप पनि सिक्न पाएकी छु। अनलाइन कक्षा लिनेबाहेक सिर्जानात्मक कार्यहरू जस्तै आर्ट, संगीत, घरको सरसफाई लगायत भान्सामा ममीलाई सघाउन थालेकी छु। मसँग पहिल्यैदेखि किबोर्ड भएकाले राष्ट्रिय गीतको धुन निकाल्न सिकिरहेकी छु। ममीले युट्युब हेरेर मलाई रसवरी र जेरी बनाउन सिकाउनुभएको थियो। यसबाट खाना बनाउन सिक्न पनि पाएँ र मिठो खान पनि पाएँ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरना भाइरसले मधुमेह, उच्च रक्तचाप, मुटुका रोगी र दीर्घ रोगीका साथै वृद्धवृद्धालाई बढी असर गर्छ रे।
हजुरबुवा र हजुरआमा, घरबाहिर ननिस्किनु है। साथै, नियमित साबुनपानीले हात धुन र गुणस्तरीय स्यानिटाइजर प्रयोग गर्नुहोला।
यसपटकको बार्षिक बिदापछि तपाईंहरूलाई भेट्न आउने इच्छा थियो। अब आगामी दसैंमा भेटिएला है।
हजुरहरूकी नातिनी,
सुजिना नागिला
(सुजिना बुढानीलकण्ठ स्कुल, काठमाडौंमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)