सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
प्रकृतिको सुन्दरतामा रम्न चाहने म। सानैदेखि काठमाडाैंमा बसेर होला प्रकृतिको सुन्दरता हेर्न हजुरबुवा हजुरआमा हनुभएको गाउँ जानुपर्थ्याे। हजुरबुवाले स्कुलमा पढाउने भएर उहाँहरू तनहुँ जिल्लाको तनहुँसुर, गजौडेमा बस्नु हुन्छ।
बाबाममीको स्कुल, व्यापार र हाम्रो पढाइका कारण हामी स्वयम्भूको भगवानपाउँमा बस्छौं। दसैं तिहारको बेला हाम्रो स्कुल बिदा भएको बेला भाइ र म गाउँमा गएर बस्छौं।
काठमाडाैंमा घडीको अलार्म बजेपछि उठ्ने म, गाउँमा चराचुरूंगीको आवाजले अलार्मको काम गर्थ्यो। मेरो निद्रा खुल्थ्यो। गाउँको स्वच्छ हावापानी, वातावरण साच्चिँकै मन लोभ्याउने खालको छ। त्यहाँको स्वच्छ हावा, वातावरण मैले काठमाडाैंमा कहिलै अनुभव गर्न पाउँदैनथे। गाउँ बस्दा मनमनै साेच्थें, यस्तै वातावरण म सधैं बस्ने ठाउँमा भइदिए कस्तो राम्रो हुन्थ्यो।
कोरोना भाइरसका कारण स्कुलले हतारहतार परीक्षा लिएको थियो। म अहिले वनस्थली स्कुलमा कक्षा नौको परीक्षा दिएर बसेको छु। अर्को वर्ष एसइई दिने कारण पढाइको चिन्ता लागेको छ। स्कुल बिदा भए पनि घरमै बसेर अध्ययन गरेको छु। घरको अध्ययन मात्र कहाँ पर्याप्त हुन्छ? त्यसैले कोरोना भाइरस महामारी चाँडै अन्त्य भई फेरि पहिलेजस्तै स्कुल गएर पढ्न पाए हुन्थ्यो।
काठमाडाैं भन्दा गाउँमा कोरोना भाइरसको संक्रमण कम हुने आशाले स्कुल बिदा भएपछि गाउँ जाने तयारीमा थियौं। अकस्मात परीक्षा सकिने बित्तिकै सरकारले लकडाउन गर्नाले गाउँ जान पाएनौं। गाउँ जान नपाउँदा त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउन नपाउने भएँ भनेर चिन्ता लागेको थियो। तर अहिले काठमाडाैंको सुन्दरता र स्वच्छ वातावरण देख्दा गाउँ जान नपाएर खासै पछुतो लागेको छैन।
मेरो घरबाट स्वयम्भू भगवानपाउँसम्मको दुरी जम्मा तीन-चार मिनेटको छ। पहिले पहिले बाबासँग स्वयम्भू जाँदा मान्छेको कोलाहाल, 'रोड'मा बसहरूले उडाएको धुलोधुँवा देख्दा दिक्क लाग्थ्यो। अहिले पनि कहिलेकाहीँ हामी स्वयम्भूसम्म जान्छौं। अहिले यहाँको शान्त वातावरण र स्वच्छ हावा देख्दा अचम्म लाग्छ।
पहिले त यहाँका बोटबिरूवाको पात धुलोधुँवाले गर्दा सबै खैरो र सेतो मात्र देखिन्थे। अहिले हरिया चिल्ला पातहरू हावासँग खेलिरहेका देखिन्छ। सानो छँदा बाबालाई मैले सोधेको थिएँ, 'बाबा काठमाडाैंको बाेटबिरूवाको पात किन सेतो र खैरो मात्रै हुन्छ? गाउँको जस्तो हरियो किन हुँदैन?'
उहाँले यहाँको दुषित वातावरणले गर्दा यस्तो भएको भन्नुभएको थियो। साच्चिँकै हो रहेछ। अहिले आफैं देख्न पाएँ। पहिले सधैं बसहरूको आवाज र मानिसको कोलाहाल सुन्ने मेरा कानले अहिले गाउँमा जस्तै चराचुरूंगीको आवाज सुन्न थालेको छ।
गाउँमा घरबाटै टाढाटाढासम्मको हिमाल, मनोरम दृश्यहरू सजिलै अवलोकन गर्न सक्थेँ। काठमाडाैंमा घरको छतमा गएर हेर्दा पनि धुलोधुँवाका कारण हिमाल त परै जाओस्, नजिकैको दृश्य पनि देख्न सकिँदैनथ्यो। अहिले गाउँमा जस्तै परपर सम्मको हिमाल र दृथ्य सजिलै देख्न सकिन्छ।
साँच्चै काठमाडाैं कति सुन्दर रहेछ। अहिले बल्ल थाहा पाए। म बस्ने ठाँउ यस्तो सुन्दर र शान्त होला भनेर मैले कहिल्यै कल्पनामा पनि सोचेको थिइनँ।
सायद, अब भविष्यमा यस्तो सुन्दर काठमाडाैं देख्न पाइँदैन होला। कोरोना भाइरसको महामारी सकिएसँगै पहिलेजस्तै हुन्छ होला। म जस्तै प्रकृतिमा रम्न चाहने केटाकेटीहरू स्वच्छ र शान्त वातावरण खोज्न गाउँ नै जानु पर्नेछ।
तर पनि आशा छ काठमाडाैं सधैं यस्तै शान्त सुन्दर र स्वच्छ रहनेछ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)