सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
‘बाबु कति ट्याबलेट हेरिराखेको? यता–उता गर्यो ट्याबलेट लिएर बसिहाल्छौ है? तिमीहरूसँग म त दिक्क भइसकेँ,’ यो मेरो मामुको भनाइ हो।
मेरो प्रिय ट्याबलेट हेर्न मलाई एकदम मजा लाग्छ। तर, त्यसो भन्दैमा म खाली ट्याबलेटमा हुन्छु भन्ने होइन है। घरमा दिदीभन्दा म अलि धेरै यसमा हुन्छु। ट्याबलेटमा गीत–संगीत लगाएर ब्लुटुथमार्फत स्पिकरमा जोडेर सुन्ने मात्र होइन, नाच्ने र सँगै गीत पनि गाउँछु। जति नै होमवर्क भए पनि नाच्ने समय निकाल्छु।
यसबाहेक म ट्याबलेटमा पजल, ट्रिकी गेम र शब्द बढाउने खालका कार्यक्रम हेर्छु। विभिन्न रमाइला खेल खेल्ने र समाचार पढ्ने समेत गर्छु। कतिपय समय त म आफैं ट्याबलेटको अघि उभिएर समाचार पढेको, डाइलग भनेको नक्कल गर्ने र रेकर्डपछि सुनाउने समेत गर्छु।
हो, ट्याबलेट एकोहोरो हेर्नु पक्कै राम्रो होइन। यसले हाम्रो आखाँमा प्रत्यक्ष असर गर्छ। यस्ता कुरा मैले ट्याबलेटमै पढेको हुँ। यो धेरै हेर्दा दिमागमा पनि असर गर्छ रे। थाहा छ। तर पनि हेर्न मन लागिरहन्छ। मलाई मामुबाबाले गाली गर्नुहुन्छ भनेर मात्र, नत्र सुत्दा पनि ट्याबलेट लिएरै सुत्ने थिएँ।
अहिले कोरोना भाइरसले विश्वलाई तर्साइदिएको छ। मानिसहरू बाहिर निस्केका छैनन्। हाम्रो स्कुल पनि खुलेको छैन। म चार कक्षा पास गरेर पाँचमा गएको समेत मेरै प्यारो ट्याबलेटमा हेरेर थाहा पाएँ।
बाबालाई स्कुल (पाठशाला फाउन्डेसन, बागडोल) बाट म पास भएको इमेल आएको रहेछ। मलाई केही नभनी मेरो इमेलमा पठाइदिनुभएछ। उहाँले लेख्नुभएको थियो – ‘केनिश पुन्टे, बधाइ छ। थप कुरा अट्याच गरेको फाइल खोलेर हेर्नु।’
हतारिएर खोले, म त छक्क परेँ। मैले मेरो मार्कसिट नै पाएँ। म पाँचमा पुगेछु। त्यो पनि चार विषयमा ए प्लस र अरूमा ए पाएर। म पाँच प्रवेश गरेको बा (हजुरबुवा), आमा (हजुरआमा), मामु र दिदीलाई पनि सुनाएँ। सबै दंग हुनुभयो। ट्याबलेटमा रहेको मार्कसिट पनि देखाएँ। यसमा रम्दै थिएँ, स्कुलबाट आएको अर्को सूचना इमेल बाबाले फरवार्ड गर्नुभयो।
त्यहाँ भनिएको थियो – ‘अब केही समय अनलाइनमा पढ्नुपर्छ।’
मैले सोचेँ कोरोनाले ल्याएको यो भर्चुअल जीवनमा यो ट्याबलेट अध्ययनका लागि गतिलो माध्यम हो।
मैले कक्षा चार पुगेदेखि नै बाबासँग सोधेर जिमेल अकाउन्ट खोलेर आफैं इमेल चलाउन थालेको हुँ। यसबाट मैले युट्युब र गुगल प्लसबाट ज्ञानवर्द्धक सामग्री सेयर गर्ने समेत गरेको छु। मेरो दिदीको त फेसबुक र टिकटक अकाउन्ट पनि छ। म त्यसमा खासै ध्यान दिन्नँ। कहिलेकाहीँ दिदीकोमा हेर्छु। म त युट्युब र जिमेलको माध्यम अनि दिदीको म्यासेन्जरबाट कहिलेकाहीँ आफन्त, साथीभाइसँग कुराकानी गर्छु।
बाबाले त म प्रि-स्कुल हुँदैदेखि ट्याबलेट चलाउन दिनुभएको हो। मामुले भने समय तालिकाअनुसार दिनमा एक घन्टा जस्तो मात्र चलाउन दिनुहुन्छ। मामुलाई दिक्क लागेको मेरो क्रियाकलाप अब हाम्रो दैनिकी जस्तो बनेको छ।
हामी मानवजातिलाई घरभित्र राखेर बाहिर घुमिरहेको कोरोनाले विश्वलाई भर्चुअल जीवन (ट्याबलेट, फोन, ल्यापटक, म्याकबुकबाट कुराकानी र काम) मा बानी पार्न थालेको छ।
लकडाउनमा मेरो ट्याबलेटको उपयोगीता बढेको छ। अब त ट्याबलेट र ल्यापटप नहुनेले पनि अनलाइनमार्फत काम गर्नुपर्ने हुनाले किन्नै पर्ने भएछ। यो संसारको गति मात्र होइन हाम्रो दैनिकी चलाउन र अध्ययन गर्न अब यसकै सहारा लिनुपर्ने भएको छ।
ट्याबलेटको माध्यमबाट मैले धेरै कुरा सिकेको छु। लकडाउन उपयोगी पनि बनाएकोमा सबै दंग हुनुहुन्छ। म लगातार ट्याबलेट हेर्नेमा भने पर्दिनँ है।
बिहान उठेपछि आफ्नो काम सकेर ब्रेकफास्ट खाने, सामान्य व्यायाम गर्ने र छतमा गएर साइकल चलाउने गर्छु। बाहिर जान बन्देज छ। नत्र छतमा जाने समयमा म स्कुल हिँडिसकेको हुन्थेँ। साइकल चलाएपछि एक छिन ट्याबलेटमा रम्छु। अनि त्यही पढेका विषयहरू लेख्ने पनि गर्छु।
अब त स्कुलले सोमबार (वैशाख १५) देखि अनलाइन कक्षासमेत सुरू गरेको छ। याे कार्य मेरा लागि सहज छन्। त्यो थाहा पाउने बित्तिकै बाबाले मेरो इमेल नै मेरो क्लास टिचरलाई पठाइदिनुभएको रहेछ। टिचर पनि छक्क हुनुहोला।
मैले घरमा बुबाआमाले यही भर्चुअल माध्यमबाट काम गरेको, कन्फरेन्समा भाग लिएको देखेको छु। अब आफैं भर्चुअल शिक्षामा लाग्नुपरिरहेको छ। अब त मेरो पनि फेसबुक खोल्न पर्ने जस्तो देखिएको छ। किनकी दिदीले अहिले फेसबुक म्यासेन्जरबाटै होमवर्क गरिरहनुभएको छ। लाग्छ अब मेरो ट्याबलेटमा अर्को एउटा एप थपिने भयो।
कोरोनाले विकराल रूप लिँदै विश्व ठप्प बनाइदिएको मात्र छैन। हामीलाई नयाँ कुरा सिक्ने अवसर पनि दिएको छ। घरमा बसेर सबै रमाइलो गर्ने मौका पनि जुराइदिएकोझैं लागेको छ। अनि मेरो प्रिय ट्याबलेटको उपयोगिता झनै बढेको छ।
(केनिश अधिकारी, पाठशाला नेपाल फाउन्डेसनमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)