सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
देश अहिले लकडाउनमा फसेको छ। कोरोनाले गर्दा हाम्राे विद्यालय पनि छुटेको छ। बाहिर जान पनि खतरा छ। कोरोना संक्रमण हुने डरले सबैको मुखमा मास्क देखिन्छ। कतिपयले त हातमा पञ्जा लगाएको पनि देखिन्छ। म र मेरो परिवार कोही पनि बाहिर जाँदैनौं। हामीलाई रोगको लक्षण त कसैलाई छैन तर डर लाग्छ र एक खाले सेल्फ क्वारेन्टाइनमा बसेका छौं।
घर बस्दा धेरै कुरा मनमा खेल्दा रहेछन्। हुन त मनोरञ्जन पनि गरिएकै छ। कहिले टिभी, कहिले क्यारमबोर्ड, कहिले बाबाआमाको मोबाइलमा खेल त कहिले फुटबल अभ्यास गरेर दिन बित्छ। यसका साथै लेखपढ पनि छुटेको छैन। बाबाआमा नै पढनदास हुनुहुन्छ। हामीलाई पनि त्यसको असर त पर्ने नै भयो।
हाम्रो घरमा विभिन्न विषयमा छलफल हुने गर्छ। रामायण, महाभारत, श्रीमदभागवतका विभिन्न कथाका बारेमा म र बहिनी धेरै प्रश्न सोध्छौं। कहिले उत्तर पाइन्छ, कहिले पाइँदैन। बाबाले समाजका कुरा धेरै गर्नुहुन्छ। सायद मलाई सामाजिक शिक्षा अलि गाह्रो लाग्ने भएर होला। अनि म अचेल सामाजिक चलन, धर्म, प्रथा र चाडपर्वबारे विस्तारै चाख बढाउँदैछु। भर्खरै बुझेको मेरो सुदुरपश्चिमको समाजको एउटा रोचक कुरा सुनाउन चाहन्छु।
मेरो घर महेन्द्रनगर कञ्चनपुर हो। बाजे र बज्यै लगायत ठूलो बुवाको परिवार उतै गाउँमा बस्नुहुन्छ। बाजे ९३ वर्ष पुग्नुभयो। बज्यै पनि ८० पुग्न थाल्नुभयो। दुवैजना अहिले पनि ठीकठाकै हुनुहुन्छ। बाजेको स्वास्थ्य अलि कमजोर देखिन्छ तर आवाज भने प्रष्ट छ। कान सुन्ने, आँखा देख्ने र पुराना कथा अनि आफूले भोगेका अनुभव उहाँको दिमागमा अझै ताजै छन्। चिप्लेर खुट्टा भाँचिएको बेलाबाहेक उहाँ अस्पताल भर्ना हुनुभएको छैन रे। अस्पतालको औषधी पनि कहिल्यै खानुभएन रे। उहाँ खुसी पनि त्यत्तिकै देखिनुहुन्छ।
यो सबै देखेर मलाई अचम्म लाग्छ।
फेसबुकमा कमै उमेरमा मान्छेहरू बितेका फोटा राखिरहेका हुन्छन्। कतिपयले त अस्पताल भर्ना भएका फोटा पनि राख्छन्। तर मेरो बाजेबज्यै यतिका वर्षसम्म कसरी स्वस्थ जीवन बाँच्नुभयो होला भन्ने मनमा खुल्दुली हुन्छ।
बाजेबज्यैको आहार, व्यवहार र कामले गर्दा स्वस्थ रहन सक्नुभएको होला भन्ने लाग्छ। उहाँहरूको 'चुला खाने' चलन बडो गज्जबको छ। उहाँहरूले आजका दिनसम्म पनि कसैले पकाएको खाना खानुहुन्न। नुहाइधुवाई, सफासुग्घर भई, लुगा फेरी, देवीदेउतालाई सम्झी आफैंले पकाउने र चोखो खानु नै चुला खाने चलन हो। यसरी चुला खानेलाई खाना बनाउने बेला र खाने बेला अरू कसैले पनि छुनु हुन्न। बाबाले भन्नुभएको यो चलन सुदुरपश्चिमतिर र अरू जिल्लामा पनि छ रे।
साँच्चै भन्ने हो भने मलाई यो चलन अहिलेको कोरोना क्वारेन्टाइन झैं लाग्यो। किनभने चुला खाने चलनमा कसैले पनि छोएको खानेकुरा खाइँदैन। चुला खानेहरूको खाना चुला खानेले मात्रै बनाउन सक्छ। अरूले केही गरी छोइदियो भने त्यो खाना अशुद्ध मानिन्छ। एक दिन मेरी बहिनीले नजानेर बज्यैले खाना खाने बेला भान्छामा उहाँलाई छोइ मात्र दिएकी थिई, बज्यैले त उत्तिखेरै खाना छोडिदिनुभयो।
कोरोना लकडाउनको अहिलेको समयमा पनि बाहिरको खाना नखान, बाहिर नजान, हात नमिलाउन, समूहमा पनि टाढै बस्न, अनि सफासुग्घर रहन जस्ता कुरा बारम्बार टिभी, रेडियो र डाक्टरहरूले भनिरहेको सुनिन्छ। यो देख्दा मलाई मेरो बाजेबज्यैको चुला खाने चलन र सफा सुग्घर रहने बानीव्यहोरा याद आउँछ। उहाँहरू त करिब ७० वर्षदेखि क्वरेन्टाइन जस्तो शैलीमा बाँच्दै आउनुभएको पो रहेछ।
बाजेले ब्रतबन्ध गरेदेखि र बज्यैले विहेपछि चुला खाने चलन मान्दै आउनुभएको रहेछ। अरू बाजेबज्यैले पनि त्यसै गर्ने रहेछन्। पहिला पहिला त मलाई उहाँहरूको त्यस्तो चलन ठीक लाग्दैनथ्यो। आफ्नै सन्तानले पकाएको खाना पनि नखानु कस्तो चलन होला जस्तो लाग्थ्यो। यो चलनको बारेमा बाबालाई सोध्दा सफासुग्घर भएर खानु त ठीकै हो तर त्यसरी अलग्गै खानपिन चलनले परिवारभित्रै पनि विश्वास नभएजस्तो हुन्छ भन्नुभयो।
धेरैले यस चलनलाई अन्धविश्वास भन्ने गर्छन्। हामीलाई पनि त्यही लाग्थ्यो। अहिले आएर बाहिर गएको लुगा फेरेर, स्यानिटाइजर दलेर, मास्क लगाएर, साबुनपानीले मिचिमिची हात धोएर र अरूसँग टाढिएरै रहनुपर्ने क्वारेन्टाइनका नियम सुन्दा त बाजेबज्यैले उहिल्यैदेखि गर्दै आइरहनुभएको चलन ठीकै पो रहेछ भन्ने लागेको छ।
अहिले आएर मलाई उहाँहरूको चुला खाने चलन त विज्ञानसँग मेल खाने रहेछ जस्तो लागेको छ। परिस्थितिले गर्दा हामी पनि चुला खाने बाजेबज्यै जस्तै भएका छौं।
तपाईं पनि यो चलनका राम्रा पक्षबाट फाइदा लिनुस् र कोरोनाबाट जोगिनुस्। मेरो बाजेबज्यैको भान्छाको क्वारेन्टाइन जिन्दावाद।
(विपुल पन्त लिभरपुल स्कुलमा कक्षा ६ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)