सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
अहिले विश्व कोरोना भाइरस महामारीको चपेटामा छ। डिसेम्बर, २०१९ मा चीनको वुहानबाट सुरू भइ विश्वका प्रायः देशमा महामारीको रूपमा फैलिरहेको छ। विश्व स्वास्थ संगठन डब्लुएचओले यसलाई महामारी रोगको रूपमा घोषणा गरिसकेको छ। विश्वका प्रायः देशले लकडाउन कायम गरी यो महामारीबाट बच्ने प्रयास गरिरहेका छन्।
हालसम्म यसको कुनै औषधि पत्ता लागिसकेको छैन। त्यसैले यसबाट बच्न समाजिक दुरी कायम गर्नु नै उत्तम विकल्प हाे। विश्वमा लाखाैं संक्रमित छन्। करिब दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने आठ लाखभन्दा बढी निको भएर घर फर्किसकेका छन्।
हाम्रो देश नेपाल पनि यो रोगबाट अछुतो छैन। अरू देशको तुलनामा संक्रमितको संख्या कम भए पनि खतरामुक्त छैन। यो रोगबाट हालसम्म जम्मा ५२ जना संक्रमित भएका छन, १६ जना निको भई आफ्ना घर फर्किसकेका छन। मृत्यु भने हालसम्म कसैको भएको छैन। नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन कायम गरि यो महामारीबाट बच्ने प्रयास गरेको छ।
मेरो विद्यालय चैत ५ गतेदेखि बन्द छ। त्यसपछि कतै घुम्न जान पाएको छैन। हामीजस्ता लाखौं बालबालिका घरमै बस्न बाध्य छौं। नयाँ शैक्षिक सत्र हुन सकेको छैन। जसले गर्दा बालबालिकामा नकरात्मक डर चिन्ता हुन सक्छ। त्यसैले यसबाट बच्न हामी सबै बालबालिका एकजुट भइ यस दुखद घडीमा हाम्रो भूमिका निर्वाह गर्नुपर्छ।
यो मानसिक डरबाट मुक्ति पाउन आफ्नो घरमै रही विभिन्न काम गर्न सक्छौं। जस्तै, व्यायाम र ध्यान दैनिक रूपमा गर्न सक्छौं।
यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यलाई सन्तुलन राख्न सहयोग गर्छ। हामी स्कुल जान नपाए पनि आफ्ना साथीहरूसँग विभिन्न सामाजिक सञ्जाल जस्तैः फेसबुक मेसेनजर, भाइबर मा भिडिओमा कुराकानी गर्न सक्छौं। घरभित्र खेल्न सकिने खेलहरू आफ्ना अभिभावक, दाजुभाइ, दिदीबहिनीसँग खेल्न सक्छौं।
त्यस्तै विभिन्न पुस्तक पढ्ने, कथा, कविताहरू लेख्ने तथा पढ्ने। म्युजिक, गीत गाउने, टिकट मा भिडिओ बनाउने जस्ता काम गरी सिर्जनशील हुन सक्छौं। लकडाउन हाम्रा लागि घरको काम सिक्ने उपयुक्त समय हो। आफ्ना अभिभावकसँग खाना बनाउन सिक्ने, भाँडा माझ्न सिक्ने, साना कपडाहरू धुने, घर सफा गर्न सिक्ने, फूलबारीमा पानी हाल्ने जस्ता काम गर्न सक्छौं। हामीले धेरै समय मोबाइल, ल्यापटप, टिभीमा बिताउने गर्नु हुँदैन। यसले हाम्रो स्वास्थ्यमा नकरात्मक असर पुर्याउँछ।
मैले पनि यी माथिका काम गरेर सकेसम्म आफूलाई सक्रिय र सिर्जनशील बनाउने कोशिस गरेको छु। यसले गर्दा लामो लकडाउनमा घरमै बसिरहँदा पनि कुनै आलस्यता महशुस गरेको छैन। यसलाई अवसरको रूपमा लिएको छु। मेरो विचारमा तपाईं हामी सबैले यति गर्न सकेमा याे माहामारीको डरबाट हामी बालबालिका मुक्त हुन सक्छाैं।
(सुप्रिम भट्टराई बृहस्पति विध्यासदन नक्साल, काठमाडाैंमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)