सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम श्रुहित न्यौपाने हो। म नौ वर्षको भएँ। मिल्सवेरी स्कुल, बाँसवारीमा कक्षा ४ मा पढ्छु। घर जडिबुटी, काठमाडौंमा छ।
एक महिनाभन्दा बढी भयो स्कुल बिदा भएको। परीक्षा सकिएपछि स्कुल बिदा हुनासाथ म ममीबाबा र दाइसँग स्याङ्जा गएँ। स्याङ्जा मेरो मामाघर हो।
मलाई मामाघर जान रमाइलो लाग्छ। मामाघरमा आमाबुबा हुनुहुन्छ। बुबालाई म ड्याडी भन्छु। मेरो मामामाइजू अष्ट्रेलिया बस्नुहुन्छ। मामाघर पुगेपछि मलाई ड्याडीसँग बारीमा घुम्न मन लाग्छ। यो पटक पनि म बारीमा गएँ। बारीको रूखमा चढ्न सिकेँ। मलाई रूखमा चढ्न ड्याडीले सिकाउनु भयो।
स्याङ्जामा ठूलो खोला छ। त्यसको नाउँ आँधीखोला हो। म बाबा र दाइसँग आँधीखोला गएँ। त्यहाँ झोलुंगे पुल छ। मलाई झोलुंगे पुल तर्न रमाइलो लाग्छ। पहिले त अलिअलि डर लाग्थ्यो, अचेल लाग्दैन। धेरैचोटी यस्तो पुल तरिसकेको छु। यस अघि पनि घान्द्रुक जाँदा लामो झोलुंगे पुल तरेको थिएँ।
मामाघरमा कुखुरा छन्। मौरी छन्। मलाई कुखुरा मन पर्छ। मौरीदेखि डर लाग्छ। यो पटक मामाघरमा धेरै घुम्न मिलेन। हामी पुगेको दुई दिनमै लकडाउन भयो। लकडाउनमा बाहिर घुम्न निस्कनु भएन। हामी घरभित्रै बस्यौं। मामाघर बस्दा मैले मादल बजाउन सिकें। खैंजडी बजाउन सिकें। बाबासँग मिलेर टिकटक बनाएँ।
हामी दस दिन जति स्याङ्जा बसेपछि लकडाउनकै बेला काठमाडाैं आयौं। काठमाडाैं आएको पनि एक महिना हुन लाग्यो। मामाघरबाट आएदेखि घरबाट बाहिर जान पाएको छैन। घरबाट कतै घुम्न नपाउँदा एकदमै बोर भएको छ। मलाई बाबा ममीसँग घुम्न एकदम रमाइलो लाग्छ।
घरमा पनि बाबाममीले मलाई एकदमै 'केयर' गर्नुहुन्छ। मलाई पेन्टिङ गर्न मन लाग्छ। दाइ पनि एकदमै राम्रो पेन्टिङ गर्छ। यो पटक त हामीसँग बाबाले पनि पेन्टिङ गर्नुभयो। बाबाले पेन्टिङ गरेको मैले पहिलोपटक देखेँ। मैले धेरैवटा पेन्टिङ गरेको छु। पेन्सिल स्केच पनि बनाएको छु।
कोरोना भाइरसले गर्दा अहिले हामी घरमा बस्नु परेको हो। मलाई पेन्टिङसँगै फुटबल खेल्न, नाच्न गर्न र गीत गाउँन गर्न मन पर्छ। म राम्रै नाच्छु। 'मुकाबुला, बाला-बाला' भन्ने गीतमा नाच्न मलाई मन पर्छ।
मलाई ग्यालेक्सीहरूको पेन्टिङ गर्न मन लाग्छ। अहिले अनलाइन क्लास भइरहेको छ। ममीबाबा घरमै बस्दा एकदम रमाइलो भइरहेको छ। म बाबाममी, दाइसँग बसेर खेल्छु। दाइ गितार बजाउँछ। दाइसँग बसेर गीत गाउँछु।
मलाई फूलको आँखामा, 'कन्ट्री रोज' गीत गाउन मन पर्छ। मलाई आर्चरी खेल्न मन लागेको छ। महाभारत हेरेदेखि त्यस्तै धनुष खेल्न मन लागेको हो।
बिदामा आमाबाबा, ममीसँगै बसेर महाभारत पनि हेरें। रामायण पनि हेर्दैछु। महाभारतमा कृष्णले लीला देखाएर सबैलाई अलमल पारेको देखेँ।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)