सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
भाइ र मैले धेरैबेर मोबाइल र ल्यापटपमा हेर्यौं भनेर बाबाले शुक्रबार स्कुलबाट फर्केर खाजा खाइसकेपछि र शनिबार नुवाइधुवाई सकेपछि मात्रै हेर्ने नियम बनाइदिनुभएको थियाे। हेर्दा पनि पढाइसँग सम्बन्धित कुरा मात्र हेर भन्नु हुन्छ। सुरूसुरू हामीलाई यो नियमले धेरै दिक्क बनायो।
म मोबाइलमा धेरैजसो क्रिकेट खेल्थेँ। भाइ 'टम' हेर्न पाउँदा खुसी हुन्थ्यो। ल्यापटप पाएपछि मलाई रोडिज र क्रिकेट हेर्न मन लाग्थ्यो। भाइलाई एभेञ्जर हेर्न मनपर्छ। त्यो नियम सुरू भएदेखि हामी गेम खेल्न र मन लागेको कुरा हेर्न पाउँदैनौं।
आमाबाबा धेरैबेर मोबाइल र ल्यापटप हेर्दा आँखा खराब हुने भन्दै विभिन्न समाचार र डाक्टरहरूले भनेकाे कुरा सुनाउनुहुन्छ। उहाँहरू त मोबाइल र ल्यापटपमा छोराहरू व्यस्त भएपछि यिनीहरूले बोल्न पनि बिर्सने भए भन्दै चिन्ता पो गर्नुहुन्छ।
...
यदि कोरोनाको डर हुन्थेन भने हिजोआज हामी स्कुलको कक्षाकोठामा बसेर सिक्ने-पढ्ने गर्थ्यौं। अहिलेको समय फरक छ। हामी स्कुल जान त परको कुरा घरबाट बाहिरसमेत निस्कन सकेका छैनौं।
चीनको वुहानबाट सुरू कोरोनाले इटाली, फ्रान्स, स्पेन, अमेरिका, बेलायत जस्ता देशमा धेरै मान्छेको मृत्यु भयो। हाम्रो नजिकैको छिमेकी भारतमा पनि त्यो रोग फैलिँदैछ। रोगबाट बच्न सावधानी अपनाउने भन्दै सरकारले धेरै मान्छे एकै ठाउँमा बस्न नमिल्ने नियम बनायो। मेरो कक्षाको अन्तिम परीक्षा त चैत २ गते नै सकिसकेका थियो। रिजल्ट भने सात गते आउनेवाला थियो। तर यस वर्षको रिजल्ट थाहा पाउन हामी स्कुल जान सकेनौं। स्कुलको एपबाट म पास भएको कुरा आमाबाबाले थाहा पाउनुभयो र मलाई भन्नुभयो।
आफ्नो रिजल्ट लिनसमेत स्कुल जान नपाउँदा मलाई निकै खल्लो लाग्यो। रिजल्टको दिन साथीहरू भेट हुन्थ्यो, कसको कस्तो भयो भनेर गफ गर्थ्यौं। केही पनि गर्न नपाउँदा दिक्क लाग्यो। यतिका दिन भइसक्यो म पास भएको मात्रै थाहा पाएँ। कुन विषयमा कस्तो गरेँ भन्ने कुरा अझै थाहा पाउन सकेको छैन।
मोबाइल एपबाट रिजल्ट थाहा पाएको पर्सिपल्ट बेलुकीपख मेरो हजुरबुवा चढेको गाडी तनहुँको आबुखैरेनी भन्ने ठाउँमा दुर्घटना भएको खबरसँगै हाम्रो परिवारमा निकै ठूलो संकट आयो। बाबा हतारहतार निस्कनुभयो। हजुरबुवाको उपचार चितवनमा सुरू भयो। एकातिर कोरोनाको त्रास अर्कातिर हजुबुवाको दुर्घटना, अब के हुन्छ भनेर मलाई निकै डर लाग्यो।
त्यसको भोलिपल्ट नेपालमा कोरोना नफैलियोस् भनेर सरकारले लकडाउन गर्यो।
के हो लकडाउन भनेको? मैले बुझिनँ।
आमाले भन्नुभयो, 'घरबाट बाहिर निस्कन रोक लगाउने नियम हो।'
घरमा बाबा हुनुहुन्न। देशमा रोगको डर छ। नेपालमा पनि रोग त्यसैगरी फैलियो भने के गर्ने होला? हामी कसरी सुरक्षित रहने होला? कोरोना कसरी सर्छ र यसबाट कसरी बच्न सकिन्छ होला?
केहीकेही कुरा आमाले बुझाउनुभयो। बाबाले फोनमा नडराउनु, घरै बस्नु, बाहिर ननिस्कनु भन्नु भयो। कति कुरा उहाँहरूलाई पनि थाहा छैन भन्नु हुन्थ्यो। उहाँहरू पनि डराउनु भएको थियो। हामी निकै डराइरहेका थियौं। डराएर मात्र हुँदैन, सजग रहनुपर्छ।
कोरोना बारेमा इन्टरनेटमा हेरेँ। त्यहाँ आउने सबै कुरा सत्य नहुन सक्छन्। विश्व स्वास्थ्य संगठनको वेबसाइटमा लेखेको कुरा हेर भनेर बाबाले फोनमा सम्झाउनु हुन्थ्यो।
त्यसपछि मैले कोरोनाबारे इन्टरनेटमा खोज्न थालेँ। समाचारहरू पनि हेर्न थालेँ। अनी यसको रोकथामका लागि हामी घरभित्रै बस्नुपर्ने, भीडभाडमा जान नहुने, जानै परे माक्स लगाउने, मान्छेहरू भन्दा टाढा बस्ने, कम्तिमा २० सेकेन्ड साबुनपानीले हात धोइरहनुपर्ने जस्ता कुरा थाहा पाएँ।
मेरो भाइ सानै छ। उसलाई यस्ता कुराको धेरै मतलब पनि हुन्न। ऊ जतिखेर पनि बाहिर गएर खेलौं न दादा भन्छ। बाहिर जान हुन्न भनेर उसलाई बुझाउन निकै कठिन हुन्थ्याे। हामीले बिस्तारै उसलाई पनि बुझायौं। घर भित्र बस्ने, भान्सामा सघाउने, खेलौना धुने, किताब पढ्ने, कलर गर्ने यस्तैयस्तै गरेर दिन बितायौं।
सुरूका केही दिन लकडाउनका कारण घरभित्रै बस्नु पर्दा दिक्क लागेको थियो। बिस्तारै बानी पर्यो। हजुरबुवाको स्वास्थ्य पनि सुधार हुँदै आएको खबर आयो।
...
हामी घरमै बसिरहेका छौं। अब घरबाट निस्कनै नपाउने भएपछि स्कुल कसरी जाने? दिन बित्दै गएपछि बल्ल पो मलाई चिन्ता लाग्न थाल्यो। यो वर्ष भाइ कक्षा १ मा भर्ना हुने वर्ष हो। ऊ कहाँ पढ्ने भन्ने अझैसम्म तय भएको छैन।
अब स्कुल कहिले खुल्छ? कहिलेदेखि पढ्न जान पाइन्छ? केही कुरा थाहा छैन।
यस्तै अन्योलका बेला एक दिन स्कुलको एपमा अनलाइनबाट पढाई सुरू गर्ने नोटिस आयो। म कुन सेक्सनमा परेँ भन्ने पनि थाहा छैन। मेरो कक्षामा को-को साथी छन् भन्ने पनि थाहा छैन। कसरी पढ्ने अनलाइनबाट? मलाई त अलमल भयो।
बेलुका एपमै 'नोटिस' आयो म सेक्सन बी मा परेछु। उज्ज्वल सर मेरो 'क्लास टिचर' हुनुभएछ। अनि स्कुलको वेबसाइटमा अनलाइन पढ्ने र कुराकानी गर्ने तरिका सिकाइएको सूचना पनि रहेछ। सरले फेसबुक र इमेलबाट 'असाइनमेन्ट' दिने र हामी त्यहीअनुसार गर्नुपर्ने रहेछ।
पहिले मैले स्कुलको पहिलो दिन कक्षाको ढोकामा टाँसेको सूचनामा आफ्नो नाम हेरेर सेक्सन थाहा पाउँथे। 'एसेम्ब्ली' अगाडि होमरूम पिरियडमा मात्रै क्लास टिचर को हो भन्ने थाहा हुन्थ्यो। यो वर्ष त घरमै थाहा भयो। साथीहरू को को छन् मेरो कक्षामा भन्ने थाहा भएन।
भोलिपल्ट सरले त्यही फेसबुक ग्रुपमा साथीहरूको नाम र अरू विषय शिक्षकको नाम पनि लेखिदिनुभयो। के पढ्ने, कसरी पढ्ने भन्ने कुरा पनि फेसबुक ग्रुपमा राख्न थाल्नुभयो।
मेरा कतिपय साथीको फेसबुक आइडी बनेको रहेनछ। उनीहरूले पनि खोल्न थाले। मलाई फ्रेन्ड रिक्वेष्ट पठाउन थाले। कतिपय साथीहरूलाई मैले रिक्वेष्ट गरेँ। म कक्षा १ मा पढ्दा नै बाबाले मेरो जिमेल एकाउन्ट खोलिदिनुभएको थियो। त्यसको के काम होला भन्ने ठानेको थिएँ। अहिले काम लाग्यो। बाबाले केही वर्षअघि नै मेरो फेसबुक पनि खोलिदिनुभएको थियो। त्यो दुवै कुरा अहिले पढ्न काम लाग्दो भएका छन्।
लकडाउनका कारण बाहिर निस्कन नपाएपछि नयाँ कक्षाको किताब किन्न नसकेकाहरूलाई पनि हुने गरेर सर म्यामले असाइन्मेन्ट दिनुभएको छ। त्यही अनुसार मैले पढ्न थालेँ। केही अन्योल भयो भने इमेलबाट सरलाई सोध्छु। दिन त सरले आफ्नो मोबाइल नम्बर पनि दिनुभएको छ। उहाँ काममा व्यस्त हुनुहोला भनेर म केही कुरा सोध्नु पर्ने भयो भने इमेलबाटै सोध्छु।
कक्षामा सिधै सरले पढाएको र उहाँहरूलाई सोधेको जस्तो मजा त आएको छैन यसरी पढ्दा। कतिपय आफन्त र साथीहरू अब पढाइ कसरी सुरू हुन्छ भन्ने अन्योलमा रहेका बेला स्कुलले नयाँ तरिकाले पढाउन थालेकाले मचाहिँ खुसी भएको छु।
कोरोनाले के होला भनेर डराएर बसेको बेला कमसेकम सर म्यामले दिनुभएको असाइन्मेन्टले नयाँ कुरा सिक्न त पाइएको छ। बाबाले बनाइदिनुभएको मोबाइल र ल्यापटप हेर्ने तालिका भने पुरै बदलिएको छ। मोबाइल र ल्यापटप त मेरो कक्षा जस्ता भएका छन्। पढ्ने कुरामा ध्यान दिनुपर्ने भएपछि गेम खेल्ने र अरूथोक हेर्ने कुरामा ध्यानै पो जाँदो रहेनछ। म त मोबाइल र ल्यापटपमा पढ्न पो थालेको छु।
यसरी पढाइ सुरू भए पनि मलाई स्कुल, साथीहरू र सरम्याम खुबै मिस भइरहेको छ। बाबा भन्नुहुन्छ एक दिन विज्ञानले पक्कै पनि कोरोनालाई जितेरै छाड्छ। त्यतिञ्जेल हामीले हाम्रो दैनिकी बदल्नुपर्छ। सचेत हुनुपर्छ। निरोगी हुन ध्यान दिनुपर्छ। सिक्न, पढ्न भने छाड्नु हुन्न।
(प्रसुनश्री पौडेल सेण्ट जेभियर्स स्कुल जावलाखेल, ललितपुरमा कक्षा ७ ख मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)