सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउनमा धेरै मानिसलाई दिन कटाउन गाह्रो हुन्छ। तर याे समय हामीलाई एकदम महत्वपूर्ण छ। हामीले लकडाउनको समयलाई सदुपयोग गर्नु पर्छ। यस समयमा हामीले फुर्सद नभएर गर्न नपाएका काम गर्न सक्छौं। हामीले धरै नयाँ काम पनि सिक्न सक्छौं। जस्तै, नयाँनयाँ परिकारहरू बनाउने, लेख्ने, चित्र कोर्ने, सिर्जनात्मक काम गर्ने आदि।
हामीले सकेसम्म आफूलाई व्यस्त राख्नुपर्छ। व्यस्त राख्यौं भने हामीलाई दिन कटाउन धेरै गाह्रो हुँदैन। हामी टिभी, मोबाइलमा धेरै सक्रिय हुनु हुँदैन। सबै काम कुन समयमा गर्ने भनेर एउटा रूटिन बनाउनुपर्छ। नयाँनयाँ काम गर्नुपर्छ। दिनमा एकपाना भए पनि लेख्नुपर्छ। अहिले हामीले लेखेनौं भने पछि हाम्रो अक्षर बिग्रिन्छ। विद्यालय नखुले पनि हामीले आफ्नो पढाइमा ध्यान दिनुपर्छ। स्कुलको किताबबाहेक अरू किताब पनि पढ्नु पर्छ।
हाम्रो घरमा मसँगै भाइ, बुवाआमा र बाबाममी बस्नुहुन्छ। लकडाउनको समयमा हाम्रो ठूलोबाबा पनि हामीसँगै बस्नुभएकाे छ। घरमा हजुरबुवाले भजन, कविता लेख्ने, पढ्ने साथै हामीलाई रामायण, गुणरत्नमाला, गौरी लगायतका किताबका श्लोक भाका हाली पढ्न सिकाउनुहुन्छ। म र ममी दैनिक रामायण पढ्छौं। हामी परिवारका सदस्य मिली दैनिक योग, ध्यानगरी सामूहिक पूजापाठ आरती शंख घण्ट बजाउँछौ।
लकडाउन हुनुभन्दा १ वर्षअघि हामीले पाशुपत सिद्धमहायोगको साधना तालिम लिएका थियाैं। हामीलाई यो समयमा धेरै काम लागेको छ। बाबाले पनि सन्देशमूलक कविता लेखि फेसबुकमा राख्नुहुन्छ। साथै, उहाँले हाम्रो बिरामी हजुरआमालाई तेल लगाई थप सेवा गरिरहनुभएको छ। मेरो ठूलो बाबाले घरबाटै अनलाइनमा कार्यालयको काम गर्नुहुन्छ। उहाँले पनि विभिन्न नयाँ लेख, कविताहरू अनलाइनमा पोष्ट गर्नुहुन्छ।
ममीले बिहानदेखि बेलुकीसम्म भान्साको काम गर्नुहुन्छ। मैले अहिले उहाँलाई धेरै काममा सहयोग गर्छु। नयाँ परिकार बनाउने, पानी लिन जाने, दूध-तरकारी किनमेल गर्न जाने काम निरन्तर गरिरहेकी छु। विभिन्न सन्देशमूलक फिल्म, भानुभक्तका साथै साइबाबा, गणेश, रामायण आदि सिरियल पनि हेर्ने गर्छौं। यो समयमा हामीले दैनिक १ पटक बेलुकी समाचार हेरेर देश, विदेशको खबर थाहा पाउछौं।
अहिलेको मान्छेको व्यवहारले गर्दा नै कोरोना रोग फैलिएकाे हाे। मान्छेले आफ्नो व्यवहार सुधारे मात्र यसलाई जित्न सकिन्छ। भविष्यमा कोरोनाभन्दा अरू महामारी पनि आउनसक्छ भन्ने हामीले बुझ्नुपर्छ। आजैदेखि हामीले आफूलाई सुधार्नुपर्छ।
धन्यवाद।
(प्रियम्बदा पौड्याल शान्ति पाठशाला, कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा कक्षा ७ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)