सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोभिड-१९ एक नयाँ संक्रामक रोग हो। यसलाई 'सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोनाभाइरस' अर्थात् सार्स-कोभ २ पनि भनिन्छ। यो भाइरस चीनको वुहान सहरबाट सुरू भएको हो।
यो समय मानवतामा भएको एक ठूलो संकट हो। यसले विश्वको अर्थतन्त्र र धेरै मानवीय जीवनको क्षति गरेको छ। विश्वका लगभग सबै देशहरू यस भाइरसको कारण प्रभावित छन्। भाइरस चीनबाट उत्पत्ति भए पनि अहिले अमेरिका र युरोपलाई नराम्ररी प्रभाव पारेको छ। बिस्तारै नेपाल र भारत जस्ता एसियाली देशलाई पनि असर गरिरहेको छ।
कोविड-१९ ले हाम्रो दैनिक तालिकालाई अत्यन्त परिवर्तन गरेको छ। धेरै मानिस दिनदिनै अल्छी हुँदै गइरहेका छन्। हामीले अगाडि गरिरहेका नियमित कार्य गर्न सकिरहेका छैनौं। कोरोना भाइरसले सबै व्यक्तिलाई घरमा बन्द गरेको छ। यसले रोजगारीको हरेक क्षेत्रलाई असर गरेको छ। विद्यार्थी, शिक्षक, प्राध्यापक, कर्मचारी, मजदुरहरू र अधिकांश व्यापारीलाई प्रभावित गरेको छ। पर्यटन, धार्मिक स्थान, फिल्म उद्योग, होटल सेवा र खेलकुद यस भाइरसको कारण नराम्ररी प्रभावित भएका छन्।
महामारीको संकटमा रोजगारका केही क्षेत्रहरू सक्रिय छन्। यदि किसानहरूले पर्याप्त तरकारी, फलफूल र बाली उब्जाएनन् भने हामीले पौष्टिक खाना खान पाउँदैनौं। तसर्थ, कृषकहरू उत्पादनमा सक्रिय छन्। डाक्टर र अन्य स्वास्थ्यकर्मीहरू यस्तो महामारीमा जीवित देवताहरू हुन्। उनीहरू बीना, धेरै बिरामीले ज्यान गुमाउन सक्छन्।
प्रहरीले पनि बिरामीको हेरचाह गर्ने, लकडाउनलाई कडाइका साथ लागू गर्ने र संक्रमण बढ्न नदिन कोशिश गर्दैछ। पत्रकारहरू कोराेनाका बिरामीहरूका बारेमा सम्बन्धित समाचार अपडेट गर्न कडा मेहनत गरिरहेका छन्।
कोराेनाले हालको समयमा विद्यार्थीको जीवनलाई सबैभन्दा बढी असर गरेको छ। लकडाउन हुनअघि विद्यार्थीहरू बिहान सबेरै उठ्थेँ, होमवर्क गर्थेँ, तयार हुन्थेँ र स्कुल जान्थे। अहिले उनीहरूले आफ्नो दिनचर्या नै बिर्सिसकेका छन्। स्कुलमा पढ्नुको सट्टा घरमा बसेर बोर भइरहेका छन्। कुनै काम नभएका जस्ता भएका छन्।
अचेल विद्यार्थीहरू गीत सुन्न, चलचित्र हेर्न र भिडियो गेम खेल्न् सक्रिय भएर समय बिताउँछन्। उनीहरूको धेरैजसो समय टेलिभिजन र मोबाइल हेरेर बित्दैछ जुन स्वास्थ्यको लागि विशेषगरी आँखाको लागि हानिकारक छ। केही विद्यार्थी आमाबुबालाई घरको काममा पनि सहयोग गर्छन्।
मेरो दैनिक तालिका पनि कोराेनाका कारण प्रभावित छ। मेराे पनि दिनदिनै अल्छीपन बढ्दैछ। अहिले अध्ययन सम्बन्धी केही कार्य छैन। कक्षा सातको पुस्तकहरूको पूरा सेट मैले प्राप्त गर्न सकेकी छैन। मेरो समय सुत्न, मोबाइल हेर्न, भाइसँग खेल्न र कहिलेकाहीँ पुस्तक पढ्न उपयोग गरेर बिताउँदैछु। आमाबुबालाई मद्दत गर्ने र घरका सानातिना काम पनि गर्दछु।
मलाई बगैंचामा काम गर्न, खाना पकाउन र घर सजाउन मन पर्छ। लकडाउन बढ्दै गर्दा मेरी आमाले घरमा केही नयाँ परिकार बनाउने कोशिस गरिरहनुभएको छ। यस अवधिमा आमाले जेरी, रसवरी, बन्दाकोबी रोल र मोमो आदिको परिकार बनाउनुभयो। मलाई यी खानाहरू मीठो लाग्यो।
अहिले घरमा बस्दा धेरै मनतातो पानी पिउँछु। लकडाउनको समयमा घरमा बस्नुपर्दा एक किसिमले खुसी छु किनकी म आफ्नो बुबाआमाको साथ रमाउँदै घरमा बसेकी छु।
मलाई थाहा छैन हाम्रो स्कुल कहिले खुल्छ। मैले कहिले साथीहरूलाई भेट्छु, र उनीहरूसँग खेल्छु। अनलाइन कक्षा सुरू हुन्छ भन्ने हल्ला सुनेकी छु तर पक्का छैन। म कक्षा ६ को परीक्षा दिएर बसेको पनि करिब डेढ महिना भयो। मैले फोनबाट पास भएको सुने पनि मार्कसिट हेरेको छैन।
म मेरो मार्कसिट कहिले पाउँछु? हामी कहिले नयाँ झोला र नयाँ किताब लिएर स्कुल जाने हो? फेरि कहिले शिक्षकहरूबाट सिक्ने हो? कहिले कोराेनाको डरबाट मुक्त हुने हो? हाम्रो नियमित तालिका कहिले सुरू हुने हो? सबै अनुत्तरित बनेका छन्।
त्यसैले यो महामारी छिट्टै सकियोस् भन्ने कामना गर्छु।
म सबै साथीहरूलाई घरमा बस्न अनुरोध गर्छु। समयसमयमा आफ्ना हात धुनुहोस्। तपाईंको घर सरसफाइ गर्नुहोस्। परिवारलाई सुरक्षित राख्नुहोस्। लकडाउनलाई पालना गर्नुहोस्। सामाजिक दूरी कायम गर्नुहोस्।
बाहिर जाँदा मास्क प्रयोग गर्नुहोस्। स्वस्थकर खाना खानुहोस्।
(आध्या ढकाल सेन्ट मेरिज स्कुल, विराटनगरमा कक्षा ६ मा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)