सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार!
मेरो नाम सुलभ दहित हो। ८ वर्षको भएँ। हाम्रो सानो परिवार छ। मेरो बाबाममी, हजुरबुवा, हजुरआमा र म गरी ५ जनाको परिवार छ।
मेरो घर दंगीशरण गाउँपालिका, वडा नं. ३, हेकुलीमा पर्छ। ममीबाबासँग घोराहीमा बस्छु। अहिले दिपशिखा बोर्डिङ स्कुल, घोराहीमै पढ्छु।
म कक्षा २ को परीक्षा दिएर बसेको हुँ। लकडाउनका कारण अहिलेसम्म हाम्रो रिजल्ट आएको छैन। आजभोलि कक्षा ३ को किताब पढ्ने रहरले छिमेकी घरको दादासँग मागेर पढ्ने गरिरहेको छु। लकडाउनका कारण हजुरबुवाकाे घर र मामाघर जान पाएको छैन। हजुरबुवाको घरमा जान नपाए पनि बेलुका सधैं हजुरबुवा र मामाघरको परिवारसँग फोनमा कुरा गर्छु।
लकडाउन खुलेपछि घर आउँछु भनेर हजुरबुवा, हजुरआमासँग कुरा गर्छु। त्यसैगरी, मामाघरको मामामाइजू, नानानानी, र दादादिदीसँग फोन गरेर कोरोनो भाइरसबाट बच्नुहोला, घरबाट बाहिर घुम्न नजानुहोला र सधैं साबुनपानीले मिचिमिची हात धुनुहोला भनेर भन्छु।
म बिहान ६ बजे उठ्छु। ब्रस गरेर साबुनपानीले हातमुख धोएर घर नजिकैको छिमेकीको घरमा साइकल चढेर दुध लिन जान्छु। त्यसपछि एक छिन खेल्छु। मेरो ममीले दूध तताउनु हुन्छ। हामी सँगै बसेर चिया खान्छौं। चिया खाजा खाएर म ममीबाबासँग करेसाबारी जान्छु। साँझबिहान बाबाममीलाई तरकारी र फूलमा पानी हाल्न सहयोग गर्छु। लकडाउनमा आफैं नुहाउन र कपडा धुन सिकेको छु।
मलाई खेल्न र घुम्ने मन पर्छ। कहिलेकाहीँ धेरै खेल्दा र मोबाइल हेर्दा ममीले गाली गर्नुहुन्छ। म बाबासँग घुम्न जान मन पराउँछु। दिउँसो फेरि एकछिन पढ्छु र बाबासँग कम्प्युटरमा टाइप गर्न सिक्छु।
मलाई धेरै कथा पढ्न र सुन्न मन पर्छ। स्कुलमा पढने बेला सरमेडमले सुनाउने कथा ध्यान दिएर सुन्छु। घरमा पनि कथाको किताबहरू पढ्छु। कहिलेकाहीँ बाबाले ल्याएको पत्रिका पनि पढ्छु। सबै साथीहरूलाई कोरोनाबाट सुरक्षित भएर बस्नुहोला भन्न चाहन्छु।
धन्यवाद।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)