सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
नमस्कार! मेरो नाम श्रीविषा आचार्य हो। कक्षा १ को परीक्षा दिएर बसेकी छु। मेरो घर दाङ, तुल्सीपुर हो। पापा टीकापुर बहुमुखी क्याम्पसमा पढाउनुहुन्छ। हामी टीकापुर, कैलालीमा बस्दै आएका छौं। म आर.एम.इ स्कुलमा पढ्छु।
अस्ति चैत ४ गते मेरो परीक्षा सकेपछि दाङ घर जाने भनेको लकडाउन सुरू भएर जान पाइएन। मलाई काठमाडौं मामाघर गएर बाबामासँग बस्न मन लागेको थियो। लकडाउनले गर्दा मामाघर पनि जान पाइन। परीक्षा सकेपछि पोखरा घुम्न जाने भनेका थियौं त्यहाँ पनि जान पाइएन। नरमाइलो लागेको छ।
कोरोना नलागोस भनेर मलाई मामुपापाले कतै जान दिनुहुन्न। कोरोना भाइरसको डर भएको बेलामा घर बाहिर जान पनि हुँदैन। यो भाइरस लागेको मान्छेसँग भेट भयो भने हामीलाई पनि सर्न सक्छ। त्यसैले म घरभित्रै बसेकी छु। मैले बेलाबेलामा साबुनपानीले हात पनि धुने गरेकी छु। घरीघरी स्यानिटाइजर पनि लगाउने गरेकी छु।
के गर्नु! कतै जान पाएको छैन। त्यसैले म त घरभित्रै बसेर फिल्म हेर्छु। गुडियासँग भाँडाकुटी खेल्छु। धेरैबेर खेले मामुले गाली गर्नुहुन्छ। पढ् भन्नुहुन्छ। अनि म केहीबेर पढ्छु। मलाई गीत सुन्न, नाच्न, चित्र बनाउन मन भएकाले एक छिन नाच्छु, गाउँछु र चित्र बनाउँछु। केहीबेर मामुपापाको मोबाइलमा युट्युब खोलेर कथा, कार्टुन पनि हेर्छु।
अनि हजुरहरूलाई थाहा छ! मैले लकडाउनभरी धेरै टिकटक भिडिओ बनाएकी छु। टाइमपास गर्न टिकटकले धेरै सजिलो भएको छ। हजुरहरूले पनि आफ्नो भिडिओ नबनाई अरूले बनाएका भिडिओ हेरेर यसबाट मजा लिन सक्नुहुन्छ। रमाइलो गर्नुहोला हस्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)