सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम सम्पदा हुमागाईं हो। म नयाँबजार पोखरामा बस्छु। अहिले कक्षा ६ को परीक्षा दिएर बसेकी छु। मेरो विद्यालयको नाम कुमुदिनी होम्स माध्यामिक विद्यालय हो। पोखराको गैह्रापाटनमा पर्छ। हाम्रो कक्षा ६ को परीक्षा चैत ६ गतेबाट हुने तालिका थियो तर कोरोना भाइरसका कारणले अगाडि सरेर चैत ५ गते नै सकिएको थियो।
मैले यो बिदामा हाम्रो पुर्खौली घर काभ्रेको पनौती, मामाघर बनेपा र काठमाडाैं घुम्ने सोच बनाएकी थिएँ। ममीबाबाले हामीलाई घान्द्रुक पनि घुमाउन लैजाने भन्नुभएको थियो। लकडाउनका कारण जान पाइएन। केही दुःख त लागेको छ तर लकडाउनको समयमा घरमा बसेर रमाउन र खुसी हुन सकिन्छ भन्ने पनि बुझेँ।
यो समयमा धेरै व्यवहारिक काम सिक्ने मौका पाएँ। ममीबाबाले आफ्नो व्यवसायिक कामका कारण हामीलाई भरपुर समय दिन पाउनुभएको थिएन। अहिले हामी सबै परिवार घरमै बसेर रमाइलो गरिरहेका छौं। यो सबै लकडाउनले गर्दा भएको हो।
मेरो परिवारमा बाबा, ममी, बहिनी र म गरी जम्मा ४ जना छौं। हामी ४ जना मिलेर लुडो, क्यारम खेल्छौं। साँझपख छतमा गएर डोरी खेल्छौं। सबै जना मिलेर नाच्छौं पनि।
हामी राति ८ बजेको समाचार हेरेपछि नेपाली, हिन्दी र एनिमेटेड फिल्महरू हेर्छौं। पहिला त मलाई समाचार हेर्न मनै पर्दैनथ्यो तर अहिले सधैं समाचार हेरेर कुन देशमा कति बिरामी भए, कतिको मृत्यु भयो र कतिजना सन्चो भए भनेर हेर्ने खुब चासो लाग्छ। समाचार हेरेर देश विदेशका विभिन्न गतिविधिबारेमा जान्न र बुझ्न पनि पाइँदो रहेछ।
यो समयमा स्कुल, टिचरहरू र साथीहरूलाई धेरै मिस गरेकी छु। अहिले इन्स्टाग्राममा साथीहरूको ग्रुप बनाएका छौं। बेलाबेलामा भिडिओ कल गर्छौं। अहिले त मेरो सबैभन्दा मिल्ने साथी नै ममीबाबा र बहिनी भएका छन्। उहाँहरूसँग घरमा रमाइलो गरेर बस्दा दिन गएको पत्तो नै हुँदैन। अझ मेरी बहिनी संस्कृतीले हामीलाई अनौठाअनौठा प्रश्न सोधेर खुब हसाउँछे। उसले पनि मोबाइलमा गेमहरू खेल्छे र हेर्छे।
मलाई पढाईसँगै आर्ट गर्न एकदमै मन पर्छ। यो फुर्सदको समयमा मण्डल आर्ट बनाउन सिकेँ। बाबाले किनिदिनुभएको बाल कथाका केही किताब पनि पढेँ। यो समयमा मैले सामान्य खाना, खाजा साथै कफी, डाल्गोना कफी, नमकिन, दुनोट, एग-करी, सिम्पल केक, एग-पास्ता जस्ता परिकार पकाउन सिकेँ।
मैले पहिला देखि नै ममीलाई घरको काम सघाउँदै आएकी छु। अहिले त बिहानको खाजा खाएर घर सफा गर्ने रूटिन नै बनेको छ। दिउँसोको चिया पनि मैले नै बनाउन थालेकी छु। बाबालाई मैले बनाएको चिया खुब मिठो लाग्छ रे। सायद! मैले खुसी भएर बनाउँछु भनेर यसो भन्नुभएको होला।
लकडाउनका कारण धेरै कुरा असर गर्ने भयो भनेर सबैले भन्छन्। ग्लोबल वार्मिङ कम भएको समाचार सुनेर धेरै खुसी पनि लागेको छ। ग्लोबल वार्मिङ बढ्दै गयो भने मानिसको स्वास्थ्य र पृथ्वीलाई धेरै ठूलो असर गर्छ भनेर हामीलाई स्कुलमा पढाउनुभएको थियो।
हाम्रो स्कुलले अनलाइल कक्षा पढाउने तयारी गरेको छ। त्यसैले मैले इमेलको नयाँ आइडी बनाएर इमेल चेक गर्न र पठाउन पनि सिकेँ। अब केही दिनबाट हाम्रो अनलाइन कक्षा पनि सुरू हुने कुरा हामीलाई हाम्रो क्लास टिचरले भन्नुभएको छ। त्यसको लागि म उत्सुकताका साथ तयार भएर बसेकी छु।
कोरोना भाइरस र यसबाट लाग्ने रोगका कारण अमेरिका, युरोप, चीन जस्ता ठूलाठूला देशमा धेरै मानिस बिरामी परेको र मृत्यु भएको सुनेर मलाई धेरै दुःख लाग्छ। हाम्रो देशमा अहिलेसम्म थोरै विरामी र कसैलाई केही नभएको र विरामीहरू पनि निको भएको खबर सुनेर खुसी लागेको छ।
कोरोना भाइरसबाट बच्न घरबाट बाहिर नजाने, बाहिर जान परे मास्क लगाएर जाने, राम्रोसँग साबुनपानीले हात धुने कुरा मैले सिकेकी छु। सबै साथीहरूलाई पनि यसै गर्न अनुरोध गर्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)