सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
म रिजु महर्जन। पूर्णचण्डी आवासीय मा.वि. कुमारीपाटी, ललितपुरमा कक्षा ८ को परीक्षा दिएर बसिरहेकी छु। यो लकडाउनको समयमा मैले अनुभव गरेका अनुभूतिहरू लेख्ने कोशिस गरेकी छु।
म एक विद्यार्थी हुँ। प्रायः विद्यार्थीहरूको एउटै चाहना हुन्छ कि विद्यालयले लामो बिदा दिओस्। मलाई पनि कहिलेकाहीँ त्यस्तै लाग्थ्याे। जब चीनको वुहान सहरबाट विश्वभर फैलिएको काेराेना भाइरसको महामारीका कारण नेपालले अनिश्चितकालका लागि लकडाउन घोषणा गर्यो, कताकता खुसी पनि लागेर आयो।
खुसी यसकारण कि दिनदिनैको गृहकार्यको चापबाट मुक्ति पाइन्छ। चाँडै उठ्नु पर्दैन र परिवारसँग पूरा समय बिताउन पाइन्छ। जब लकडाउनको अवधि लम्बिँदै गए छटपटी पनि बढ्न थाल्यो। यसरी घरभित्र थुनिएर बस्नुपर्दा सोच्छु, हामीले पिँजडा र खोरहरूमा थुनेर राखेका जनावर कसरी जिउँछ्न् होला सारा जिन्दगी। अहिले हामी मान्छेको जीवन पनि पिँजडाको सुगाजस्तै भएको छ।
सरकारले घोषणा गरेको लकडाउनको म र मेरो परिवारले पूर्ण रूपमा पालना गरेका छौं। हामीलाई स्कुलमा सरमिसहरूले भन्नुहुन्थ्यो, हामी चाहे जहाँसुकै पुगे पनि जाेसँग भए पनि हरेक क्षण केही नयाँ कुरा सिक्न खोज्नुपर्छ। म घरमा आमालाई भान्सामा विभिन्न परिकार बनाउन सहयोग गर्छु।
यही क्रममा मैले पनि धेरै परिकार बनाउन सिकिसकेँ। टिभी हेर्छु। मन नपरे पनि समाचारहरू हेरेर बस्छु। धेरै देश, नेता र राजनीतिकै कुरा आउँछन्। यो पार्टी, त्यो पार्टी, आरोप प्रत्यारोप, झगडाको कुराहरू सुन्दा लाग्छ, यो देश बनाउँछु भनेर नेताहरूको मन छैन। एउटै लक्ष्य देश बनाउने भएपछि सबै मिलेर विकास गर्न सकिँदैन र? झ्याउ लागेर आउँछ।
साथीहरूसँग कुरा गर्छु फेसबुकमा। धेरै साथी गाउँमा छन्। गाउँको कुराहरू सुनाउँछन्। रमाइलो लाग्छ। म पनि जान पाएजस्तो लाग्छ तर म त सहरमा जन्मिए गाउँघर कस्तो हुन्छ फोटोमा बाहेक देखेको पनि छैन। युट्युबमा भिडिओ हेर्छु अनि बिस्तारै दिन बित्छ।
धन्न यो इन्टरनेट छ। यदि इन्टरनेट नै नभइदिएको भए यहाँका मान्छेहरूको हाल के हुन्थ्यो होला? म सोच्नै नसकिने कुराहरू सोचेर बस्छु। यी सब प्रविधि विज्ञानकै कारण त सम्भव भएको हो। हामीले स्कुलमा धेरैपटक पढेका छौं। विज्ञानले असम्भव कुरालाई पनि सम्भव बनाइदिन्छ। मैले पढेको विज्ञान त्यति कमजोर पनि छैन कि एउटा भाइरसलाई हराउन नसकोस्।
अर्बौं रुपियाँ खर्च गरेर एक अर्कासँग युद्ध गर्न सक्ने ठूलाठूला देशहरूले काेराेना विरुद्ध पनि छिट्टै विजय प्राप्त गरोस्। त्यतिन्जेल हामी सबै आ-आफ्नो ठाउँमा सुरक्षित भएर बसौं। सरकारले भनेका कुराहरू पालना गरौँ।
गरिब असहायहरूलाई आफूले सकेको सहयोग गरौँ। चाँडै यो महामरी र लकडाउनको अन्त्य होस्।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)