सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम दिपशीखा कार्की हो। म १० वर्ष भएँ। म अरनिको सेकेन्डरी बाेर्डिङ स्कुलमा पढ्छु। हाम्रो स्कुल शुक्लागण्डकी नगरपालिका ३, तनहुँमा पर्छ। अहिले म कक्षा ३ को परीक्षा दिएर बसेकी छु। अब कक्षा ४ मा जान्छु।
अहिले हाम्रो स्कुल बन्द छ। स्कुल मात्रै हैन, देश नै बन्द छ। कोरोना भाइरसको डरले बन्द भएको कुरा ममीबाबाबाट सुनेकी छु। कोरोना भाइरस चीनबाट फैलिएको रे। नेपालमा पनि अहिलेसम्म ५४ जनालाई यो रोग लागिसकेको छ रे। यसको औषधी अहिलेसम्म पत्ता लागेको छैन।
हामी घरभित्रै बसेका छौं। ममीले छिनछिनमा साबुनपानीले हात धुनुपर्छ अनि कोरोना भाग्छ भनेर सिकाउनुहुन्छ। म त्यसै गर्छु। मेरो एउटा भाइ छ। हामी सँगै खेल्छौं।
हाम्रो घर मोटरबाटो भन्दामाथि पर्छ। घरको आँगनबाट मोटरबाटोतिर हेर्छु। पहिलाजस्तो मोटर गुडेको देख्दिनँ। बाटो सुनसान छ। पसलहरू पनि खुलेका छैनन्। भाइ र म रमाइलो मान्दै हेर्छौं। यति लामो समय घरमै बस्नुपर्यो। स्कुल जान मन लागेको छ। तर, के गर्ने जताततै बन्द छ।
साथीहरू र सरमिसहरूको याद आइरहन्छ। म ममीलाई भान्छाको काममा पनि सघाउँछु। आफूले सकेको सहयोग गर्छु। तरकारी केलाउने, भित्रबाहिर बढार्ने, गमलाका फूलहरूमा पानी हाल्ने आदि काममा सघाउँछु।
भाइले र मैले पुराना किताबहरू फेरि दोहोर्याएर पढिरहेका छौं। मैले भाइले नजानेको कुरा सिकाइदिन्छु। आफूले नजानेका कुरा ममी र बाबासँग सोध्ने गरेकी छु।
मेरो मामाघर बुटवल हो। जाँच सकेर मामाघर जाने मन थियो। तर, लकडाउनले गर्दा कतै निस्किन पाइनँ। मलाई पढ्न, चित्र बनाउन र भाइसँग खेल्न, ममीलाई सघाउन मनपर्छ।
बन्द कहिले खुल्छ थाहा छैन। बन्द खुलेपछि सबैलाई भेट्न पाइन्छ। लकडाउन नखुल्ने बेलासम्म हामी सबै घरमै बस्नुपर्छ। म त ममीबाबासँगै घरमै साबुनपानीले मिचिमिची हात धुँदै बस्छु। तपाईंहरू पनि त्यसै गर्नुस् है।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)