सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
हाम्रो विद्यालयमा अन्तिम परीक्षा चलिरहेको थियो। एक दिन बिहानै उठेर परीक्षाको तयारी गरेर विद्यालयतिर लागेँ। बसमा हुँदा ड्राइभर दाइले रेडियो बजाइरहनुभएको थियो। रेडियोमा एउटा नयाँ भाइरसको बारेमा समाचार आइरहेको थियो। हामीले खासै बुझेनौं।
बस विद्यालयमा रोकियो र हामी हतारहतार कक्षाकोठातिर लाग्यौं। त्यो दिन हाम्रो अन्तिम परीक्षा थियो। हामी कक्षा छ बाट कक्षा ७ मा जानेवाला थियौं।
केही साथीहरू परीक्षा सकिएपछि कहाँ घुम्न जाने, कसरी मस्ती गर्ने र कसरी परिवारसँग समय बिताउँने भन्ने योजना बनाउँदै थिए। म पनि मनमनै यस्तै कुराहरू सोचेर रमाइरहेको थिएँ। परीक्षा सकियो। त्यसपछि म साथीहरूसँग बिदापछि कक्षा ७ मा भेटौंला भन्दै घरतिर लागे।
घरमा पुग्दा बुबाआमा र दिदीहरू नयाँ भाइरसको बारेमा कुरा गरिरहनुभएको थियो। उहाँहरूले यो चीनबाट फैलिएको भाइरस भएकाे र नाम कोरोना हो भन्नुभयो। मैले खासै बुझिनँ र वास्ता पनि गरिनँ।
तर दुई-तीन दिनपछि यो भाइरस फैलिन थाल्यो र त्यसलाई रोक्न भनेर धेरै देशले लकडाउन गर्न थाले। नेपालले पनि गर्यो। बुबाआमाले लकडाउनमा बाहिर जान हुन्न घरमै बसेर नयाँनयाँ कुरा सिक भन्नुभयो। तर मलाई घरभित्र मात्रै बसिरहन दिक्क लाग्यो।
एक-दुई दिन यस्तै दिक्क मान्दै बसेँ। त्यसपछि मलाई दुःख दिने र मेरा योजनाहरू बिगार्ने यो भाइरस र त्यसकै कारणले लगाइएको लकडाउनका बारेमा बुझ्न मन लाग्यो। बुबाआमालाई सोधे र गुगल र युट्युबमा पनि खोजी गरेँ।
मैले बुझेअनुसार यो भाइरस सार्स भन्ने भाइरसकै नयाँ रूप हो। यसले हाम्रो श्वासप्रश्वास प्रणालीमा असर गर्छ। मुकुटजस्तै देखिने भएकाले यसलाई अंग्रेजीमा कोरोना भनिएको रहेछ।
कोरोना भाइरस ९५ प्रतिशत सार्स भाइरससँग मिल्दो रहेछ। यो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले यसबाट बच्न लकडाउन गरिएको रहेछ। यो कहिलेसम्म हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा नहुँदा हामी के गर्ने, के नगर्ने भनेर अलमलमा परिरहेका थियौं।
मलाई भने दिक्क लागिसकेको थियो। कति टिभी र मोबाइल मात्र हेर्नु? आँखा पोल्न थाल्यो। बाहिर जान पनि नमिल्ने, साथीहरूसँग खेल्न पनि नमिल्ने। कस्तो आपत पर्यो। के गरौं, के गरौं भयो।
मोटुपात्लु भन्ने कार्टुनको मोटुको जस्तै हालत भयो मेरो। कुनै आइडिया आएन। धेरैबेर सोचेर बस्दा बल्ल एउटा आइडिया आयो।
मैले सोचेँ, मलाई त यस्तो दिक्क लागेको छ, मेरा अरू साथीहरूलाई कस्तो लागिरहेको होला। त्यसैले साथीहरूलाई पालैपालो फोन गरेँ र उनीहरू सबैलाई एउटै प्रश्न सोधेँ, 'लकडाउनका बेला तिमीहरूलाई के भइदिएको भए हुन्थ्यो जस्तो लागेको छ?'
उनीहरूले दिएका उत्तर मलाई एकदमै रोचक लाग्यो। कतिपय साथीले उत्तर दिन झिँजो माने। 'के यस्तो प्रश्न सोधिरहेको, तिमी पागल भयौ कि क्या हो' सम्म भने।
केही साथीले मेरो प्रश्नको उत्तर दिन रूचि देखाएनन्। तर अरू नै कुरा गरेर मलाई हँसाए। उत्तर नदिएकाले मलाई कता कता रिस उठेको थियो तर तिनीहरूले मलाई हँसाएकाले मेरो रिस एक छिनमै हरायो।
थुप्रै साथीहरूले मेरो प्रश्नको राम्रो उत्तर दिए। उनीहरूले दिएका उत्तरहरूलाई मैले चार भागमा बिभाजन गरेको छु।
- सरकारले सिमानातिर अलिकति कडा लकडाउन गरिदिए हुन्थ्यो। अनि गाउँमा भएका संस्था वा क्लबलाई भनेर बालबालिकाको मनोरञ्जनका लागि कार्यक्रम गर्ने,
- विद्यालयले अनलाइनबाट कक्षा सुरू गर्ने,
- मानिसहरू एकै ठाउँमा भेला हुने, तास खेल्ने, जाँड रक्सी खाने काम बन्द गर्ने र
- सबै मानिसले आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिएर चाँडै कोरोनालाई जित्ने।
अन्त्यमा, यो सानो कामले मलाई धेरै सहयोग गर्यो। साथीहरूसँग कुरा गर्न पाएँ। उनीहरूलाई लकडाउनले कस्तो असर पारेको छ भन्ने बुझ्न पाएँ। केही समयका लागि भए पनि उनीहरूसँग ख्यालठट्टा गरेर रमाइलो गर्न पाएँ।
(नयन उपाध्याय सेन्ट जेभियर्स स्कुल, गोदावरी, ललितपुरमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)