सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कक्षा ६ को अन्तिम परीक्षा सकिएपछि पोखरा नदीपुरमा रहेको मेरो मामाघर जाउँला भनेर सोचेको थिएँ। लकडाउनले गर्दा मेरो योजना रद्द भयाे। पुल्चोकमा रहेको आफ्नै घरमा मैले दिन बिताउन थालेँ। वर्षभरी पढेर बिदा हुने दिन गनिरहेको हुनाले पनि त्यो एक महिना काट्न त्यति गाह्रो भएन। छिटै सकियो।
हुन त अहिलेसम्म ६ कक्षाको अन्तिम रिजल्ट हेर्न पाएको छैन। तर हेर्दाहेर्दै कक्षा सात जाने दिन आइहाल्यो। स्कुलबाट नयाँ शिक्षकहरूको भाइबरमा सन्देश आउन थाल्यो। स्कुलले ‘जुम’ नामको सफ्टवेयर प्रयोग गरेर अनलाइन कक्षा चलाउने योजना गरेको रहेछ।
गएको हप्ता हामीलाई जुमका बारेमा र आउने दिनमा पढाइने विषयका बारेमा जानकारी गराउने उद्देश्यले कक्षाहरू राखियो।
यो हप्तादेखि भने हामीलाई विभिन्न विषय पढाउनेगरी कक्षाहरू हुन थालेका छन्। पहिलो दिन अङ्ग्रेजी र कम्प्युटरको कक्षा भयो। दोस्रो दिन नेपालीको कक्षा भयो। तेस्रो दिन गणितको कक्षा भयो। यसैगरी अब अन्य विषयका लागि पनि अनलाइन कक्षाहरू गर्ने भनिएको छ।
नेपाली पाठको दिन हाम्रा नयाँ नेपाली शिक्षक ज्ञाननिष्ठ ज्ञवालीले आफ्नो परिचय दिनुभयो। हामीले वर्षभरी पढ्ने पाठको शीर्षकहरू भन्नुभयो। पहिलो पाठले नेपालीलाई चिनाउने भएकाले उहाँले 'हामी नेपालीलाई के ले चिनाउँछ?' भनेर सोध्नुभयो। मैले हाम्रा गोर्खाली सेनाको आँट र निडरपनबारे भने। अरू साथीहरूले सगरमाथा र गौतम बुद्धबारे भने।
कोरोनाका कारण हामी स्कुल जान पाएका छैनौं। स्कुल जान पाए साथीहरूसँग कक्षाकोठामा बसेर पढ्न पाइन्थ्यो। खाना खानेबेलामा, बाँकी समयमा साथीभाइसँग खेल्न पाइन्थ्यो। शिक्षकहरूसँग प्रत्यक्ष कुराकानी गर्न पाइन्थ्यो। अहिले त्यस्तो केही गर्न पाइएको छैन। साथीहरू र गुरू, गुरूआमाको अनुहार मात्र अनलाइनमा हेर्न पाइन्छ।
गृहकार्य कापीमा लेखेर बुझाउन पाइन्थ्यो। अहिले इमेलमा पठाउनुपर्छ। केहीको फोटो खिचेर पठाउनुपर्छ। फरक तरिकाले सिक्ने काम भइरहेको छ। यो त्यति सजिलो र मनपर्दो छैन तर प्रविधिले हामीलाई सहयोग गरेको छ। कम्प्युटर र इन्टरनेटका कारण यति भए पनि पढ्न र पाठ बुझाउन पाइएको छ। प्रविधिले हाम्रो जीवन सजिलो बनाएको भन्ने एउटा प्रमाण पनि हो यो। पढ्दै नपढ्नु भन्दा त अलिकति भए पनि पढेकै जाती। हैन त?
म कोरोनाको समस्या छिटोभन्दा छिटो समाप्त होस् भन्ने चाहन्छु। म स्कुल जान चाहन्छु। साथीभाइसँग कुराकानी गर्न र खेल्न चाहन्छु। कोरोना भाइरसको समस्या रहुन्जेल त त्यसो गर्न भएन। घरभित्रै बस्नुपर्यो। धैर्य गरेर भाइरसकाे अन्त्य कुर्न सक्नु पर्यो।
एउटा कुरा भने सरकारले ध्यानमा राख्नुपर्छ। काठमाडाैंका निजी स्कुलहरूले त इन्टरनेटको प्रयोग गरेर अनलाइन कक्षा सुरू गरे। तर सरकारी विद्यालयमा पढ्ने विद्यार्थीबारे पनि केही गर्नुपर्ने होइन र? काठमाडाैं बाहिरका स्कुलहरूको के हुने हो? कोरोनाको समस्या छिटै अन्त नहुन सक्छ भनिरहेका छन् वैज्ञानिकहरू।
सरकार, केही उपाय निकाल। हामी सानो संख्याले मात्रै पढेर त भएन नि। देशका सबै बालबालिकाले पढ्न पाउनुपर्छ। पढ्न पाउनु हाम्रो अधिकार हो।
(आश्रव वन्त रातो बङ्गला स्कुलमा कक्षा ७ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)