सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम दृष्टि भण्डारी हो। म टोखा नगरपालिका–६ मा रहेको अपी स्कुलमा पढ्छु। जताततै फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुनका लागि हामीहरूको परीक्षा पनि नियमित समयभन्दा अगाडि नै भयो।
स्कुल धेरै बिदा हुने भयो भनेर सुरूमा त मलाई धेरै रमाइलो लाग्यो। चैतको परीक्षा सकेपछि म हजुरआमासँग बुटवलको घरमा जाने, त्यहाँका साथीहरूसँग खेल्ने, सुनौली जाने, आइतबारे हाटबजार गएर फुल्की, ममः, चाट खाने अनि हाटबजारमा धेरै सपिङ गर्ने भनेकी थिएँ। यो कोरोना भाइरसले गर्दा जानै पाइएन। कस्तो नरमाइलो लाग्यो। अनि धेरै रून मन पनि लाग्यो।
पछि मामुबाबा अनि हजुरआमाले अर्को बिदामा जाउँला, अहिले त जान मिल्दैन, घरमै बस्नु पर्छ नभए कोरोना सर्न सक्छ भनेर मलाई बुझाउनु भयो। अर्को बिदामा बुटवल लैजाने पक्का 'प्रमिस' पनि गर्नुभयो।
मेरो दादा पनि हुनुहुन्छ। दादा र म एउटै स्कुलमा पढ्छौं। मैले कक्षा ३ को परीक्षा दिएकी, दादाले कक्षा ८ को। हामी दाजुबहिनी भएर घरमै विभिन्न खेलहरू खेल्छौं। दादाले मलाई माया गरेर गेमहरू खेलाउनुहुन्छ। दिनको एकपटक त हामी सबैजना लुडो खेल्छौं। हजुरआमा पनि हामीसँग लुडो खेल्नु हुन्छ। हजुरआमालाई दम भन्ने रोग छ त्यही भएर उहाँ त च्यानल गेटबाट तलै जानुहुन्न। हामीलाई पटक पटक साबुनपानीले हात धोइ राख है भन्नु हुन्छ। हामीले पनि उहाँले भनेको जस्तै गर्छौं।
यो लकडाउनका बेलामा कतै जान पनि नपाइने। बाहिर गएर केही खान पनि नपाइने। कहिलेकाहीँ त कस्तो नरमाइलो लाग्छ। तर मामुबाबा मिलेर हामीलाई मनपर्ने परिकारहरू युट्युबमा हेर्दै घरमै बनाइदिनु हुन्छ। मामुले ममः त पहिलादेखि नै मीठो बनाउनु हुन्थ्याे। दादा र मलाई ममः धेरै मनपर्छ। बाबाले लालमोहन पनि बनाउनुभयाे। राम्रो थियाे, पकाएकाे भोलिपल्ट मात्र खान मिल्छ भन्नुभयाे।
नयाँ वर्षमा त मामुबाबा मिलेर जेरी पनि बनाउनुभयो। मैले पनि मामुहरूले खानेकुरा बनाउदा सघाएँ। सँगै बसेर हेरेँ पनि। अनि पो थाहा भयो खाना बनाउन कति धेरै मिहेनत गर्नुपर्दो रहेछ।
खाना खाने बेलामा मलाई अपी स्कुलको डाइनिङ हलको खुब याद आउँछ। साथीहरूसँगै बसेर खाना र खाजा खाँदा कति रमाइलो हुन्थ्यो। स्कुलको र म्यामहरूको पनि धेरै याद आउँछ। परीक्षा चलिरहँदा स्कुलमा म्यामहरूले गार्डेन बनाउँदै हुनुहुन्थ्यो, कस्तो भयो होला है? राम्रो भयो होला अब त।
म त घर अगाडिको बाटोमा बाबासँग साइकल पनि चलाउँछु। साइकल बिग्रेको थियो तर बाबाले दिनभर लगाएर बनाइदिनुभयो। दादाको पनि ठूलो साइकल छ, गेयरवाला। हामी दुवै जना मिलेर साइकल चलाउँछौ। अनि साबुनले हात धोएर मात्र घरभित्र पस्छौं। हामी सबै जना मिलेर फिल्म, समाचार, तारक मेहताका उल्टा चस्मा अनि कार्टुन हेर्छौं। हजुरआमा छतमा हिँड्नुहुन्छ। म पनि उहाँसँगै छतमा हिँड्छु। बिहान घाम पनि ताप्छु।
हजुरआमासँग बत्ती कात्न पनि सिक्छु। दादासँग ब्याडमिन्टन खेल्छु, नाच्छु पनि।
कहिलेकाहीँ त बिदामा पनि घुम्न जान नपाएकोमा नरमाइलो लाग्छ। मामुबाबासँग यसरी दिनभरी सँगै बस्न पाउँदा भने रमाइलो पनि लाग्छ। उहाँहरू दुवैजना अफिस जानुहुन्थ्यो। शनिबार पनि के-के काम हुन्थ्यो। जति बेला पनि अहिले हामीसँगै बस्नु हुन्छ। म त ट्याबलेटमा टकिङ एन्जिला पनि खेल्छु। आजभोलि त मामु पनि त्यो गेम खेल्नु हुन्छ। कहिलेकाहीँ साथी अनुश्रियासँग फोनमा कुरा पनि गर्छु। तिमी के गर्दै छौ? भनेर। उसले पनि मलाई फोन गर्छिन्। म विभिन्न चित्रहरू बनाउँछु।
आजभोलि त दादाको र मेरो अनलाइन कक्षा पनि सुरू भएको छ। साथीहरूलाई स्क्रिनमा देखिन्छ। सर र म्यामहरूलाई देख्न पाउँदा रमाइलो लाग्छ। बिहान ११ बजेदेखि त बाबाको मोबाइलमा जुम क्लाउड एपबाट पढ्छु। दिनमा तीन वटा कक्षा हुन्छ। सर र म्यामले होमवर्क पनि दिनुहुन्छ। अनलाइन कक्षा पढ्न पाउँदा रमाइलो लाग्छ। अहिले त समय रमाइलोसँग बितेको छ। तर समाचारमा कोरोना लागेको मानिस यति जना बढे रे भनेको सुन्दा अलिअलि डर पनि लाग्छ।
स्कुल कहिले खुल्छ होला जस्तो लाग्छ। यसपालि त स्विमिङ पनि गर्न नपाइने भयो स्कुलमा जस्तो छ। मैले त स्कुलमै पढ्ने मेरो संस्कृति दिदीको कक्षा ४ को किताबहरू ल्याएर अलिअलि पढ्न पनि सुरू गरेकी छु नि। संस्कृति दिदीको र मेरो घर नजिकै छ।
यो कोरोना भाइरस छिट्टो भागोस् भनेर भगवानसँग दिनदिनै प्रार्थना गर्छु। हजुरहरू पनि म जस्तै विभिन्न काम गरेर त बस्नु भएको होला नि है। रमाइलोसँग बस्नुहोला। घरमै बस्नुहोला, सुरक्षित रहनुहोला है।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com