सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम संकल्प गौतम हो। म अहिले कक्षा ३ मा पुगेँ। नन्दिनाज एकेडेमी, धनगढी कैलालीमा पढ्दैछु।
दुई कक्षाको परीक्षा पनि चैत ७ गते सकिएको थियो। त्यो पनि पढ्नका लागि तयार नभइकन। कोरोना रोगको प्रकोप सुदुरपश्चिममा एकदमै थियो त्यो बेला। त्यसैले त्यो बेला मनमा एकदम डर त्रास थियो। पछि ममीबुवाको हौसला र समाचारमा धेरै नआत्तिनु घरमै बस्दा केही हुँदैन भन्ने थाहा पाएपछि डर हरायो।
परीक्षा सकिएपछिको बिदामा काठमाडौं घुम्न जाने सोच थियाे। पशुपतिनाथको दर्शन गर्छु, फन पार्कमा रमाइलो गर्छु साचेको थिएँ। मेरो सानी आमाहरूको घर पनि काठमाडौंमा छ। भर्खर जन्मेको नयाँ भाइ आयानलाई पनि भेट्ने मन थियो। त्यो पनि पूरा भएन। चिडियाखानामा गएर बाघ, हात्ती, भालु, सर्प लगायत धेरै जनावर हेर्ने मन थियो तर पाइएन।
कोरोना भाइरसको कारणले लकडाउन भइहाल्यो। त्यही पनि अहिले घरमै बसेर बुबाममीसँग धेरै कुरा सिक्न पाउँदा एकदम खुसी छु।
यो भाइरस त एकदमै खतरनाक पो रहेछ। कयौंको ज्यान गइसक्यो। त्यसैले नेपाल सरकारले लकडाउन गर्यो। राम्रो पनि गरे जस्तो लाग्यो।
अहिले घरमै बसेर ममीबुवासँग रमाइलो गरिरहेको छु। यसरी लामो समय ममीबुवासँग कहिल्यै पनि बस्न पाएको थिइनँ। त्यसैले धेरै खुसी छु। ममीबुवासँग घरभित्रै लुडो र मामासँग ब्याडमिन्टन खेल्ने गरेको छु। उहाँहरूसँग बसेर टिभीमा समाचार हेर्ने र कहिलेकाहीँ फिल्महरू पनि हेर्ने गरेको छु। ममीलाई भाडा माझ्न पनि सघाउँछु। ओछ्यान मिलाउन पनि सिकेँ। मैले करेसाबारीमा विरूवा लगाउन, मल हाल्न र फूलको विरूवामा पानी लगाउन पनि सिकेँ।
कहिलेकाहीँ अमेरिकामा रहनुभएको सानो ममी, सामो बुवा र बहिनीसँग भिडिओ च्याट गर्ने गरेको छु। त्यहाँ पनि लकडाउन भएको रहेछ। उहाँहरू पनि घरबाट बाहिर निस्किनु भएको रहेनछ।
स्कुल र मेरा साथीहरूलाई एकदमै मिस गर्छु। साथीहरू सँगै खेलेको र पढेको एकदमै याद आउँछ। तर कोरोना भाइरसले गर्दा स्कुल चाडैं खुल्छ जस्तो पनि लाग्दैन। हाम्रो अनलाइन कक्षा पनि सुरू भएकाे छ। म धेरै उत्साहित छु। किनकी घरमै पढ्न पाउँदैछु। तपाईंहरू पनि कसरी लकडाउनको समय बिताइरहनुभएको छ? लेख्नु ल।
धेरै धेरै धन्यवाद, मेरो सानो लेख पढिदिनुभएकोमा।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com