सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम आभुषण दाहाल हो। म काठमाडौंको नरेफाँटमा रहेको लालीगुराँश बाटिका सेकेन्डरी स्कुलबाट कक्षा पाँचको परीक्षा दिएर बसेको छु। लकडाउनले गर्दा स्कुल पनि बिदा छ। नत्र अहिले कक्षा ६ को पढाई भइरहेको हुन्थ्यो।
नयाँ कक्षाको कौतुहलता मनमै छ। आशा छ छिट्टै लकडाउन खुल्ने छ। नयाँ, पुरानो साथीहरूसँग भेट्न पाइने छ। साथीहरू तपाईंहरू पनि लकडाउनमा घरमै सुरक्षित बस्नु भएको होला है?
म त घरमा बसेर धेरै साथीहरूसँग फोन र भिडिओ-कलमा भेट्ने गरेको छु। अनि गफ गर्ने गरेको छु। विदेश र स्वदेशमा रहेका आफन्तहरूसँग पनि यसरी नै भेटेर उहाँहरूको खबर लिने गरेको छु। तपाईंहरू पनि यसरी नै एक अर्कासँग नजिक रहनुस् है। हामीलाई प्रविधिले सजिलो गराएको छ। प्रत्यक्ष भेट्न नपाए पनि इन्टरनेटको माध्यमले कमसेकम कुराकानी त गर्न पाइएको छ नी।
नचिनेको साथीहरूलाई आफ्नो मनको कुरा गर्न र नयाँ साथीहरूसँग परिचय गराउन सेतोपाटीले सुरू गरेको केटाकेटीहरूको पाना मन पर्यो। मेरो बारेमा केही लेख्न मन लागेर लेखेको छु पढ्नु है। तपाईंहरू पनि केही आफ्नो बारेमा र परिवारका बारेमा लेखेर पठाउनु होला। धेरै साथीहरूले लेख्नुभएको छ। पढ्नु है, रमाइलो हुन्छ।
हाम्रो २० जनाको परिवार छ। परिवारमा हजुरबुवा, हजुरआमा र उहाँहरूको पाँच छोराहरु (मेरो बाबाचाहिँ माइलो छोरा) ठूलोबाबा, ठूलोआमा, तीनजना काका र काकी हुनुहुन्छ। जम्मा ८ जना केटाकेटी छौं। यसमा सबैभन्दा जेठी दिदी हुनुहुन्छ। उहाँहरू काठमाडौंको टोखामा बस्नुहुन्छ।
ठूलो बुबा पढाउनुहुन्छ। साइँला काका र कान्छा काकाको परिवार काठमाडौंको कपनमा बस्नु हुन्छ। उहाँहरूको आफ्नै व्यवसाय छ। अनि काइँला काकाको परिवार हजुरबुवा, हजुरआमासँगै मुलपानीमा बस्नु हुन्छ। उहाँ जागिर खानु हुन्छ। हामी दसैंमा एकै ठाउँमा जम्मा हुन्छौं।
यसपालिको बिदा त घरमै बसेर जाने भयो। आफन्तहरूसँग भेट्न पनि पाइएन। त्यही फोन अनि भिडिओ-कलमा गफ गर्ने मात्र त हो। भेटेर खेलेको, गफ गरेजस्तो त कहाँ हुन्थ्यो भिडिओ-कल गर्दा। के गर्ने? सरकारले लकडाउन गरेको छ भन्नुहुन्छ बाबा। सधैंभरी अफिस जाने बाबा आजभोलि घरबाटै काम गर्नुहुन्छ।
कामबाट फुर्सद भएपछि म अनि भाइसँग चेस खेल्नु हुन्छ। लकडाउनले गर्दा आजकाल म चेस खेल्न जान्ने भएको छु। कहिलेकाहीँ त म बाबालाई चेसमा हराइदिन्छु पनि। सधैं लकडाउन भए बाबासँग सधैं बस्न पाइन्थ्यो भन्छ मेरो भाइ। ऊ सानो छ, ८ वर्षको। उसलाई थाहा छैन बाबाले काम गरेर हामीलाई पढाउनु हुन्छ र हामी पढ्न पाएका छौं भन्ने कुरा।
बाबाले हामीलाई कोरोना भाइरसको बारेमा बेलाबेला बुझाउनु हुन्छ। यो भाइरस चीनको वुहान प्रान्तबाट फैलिएको हो रे। मानिसहरूमा छिट्टै सर्छ अरे। त्यसैले बाहिर गएर आएपछि र कसैलाई छोएपछि साबुनपानीले राम्ररी हात धोएर स्यानिटाइजर लगाउनु पर्छ। कोरोना लागेको मानिसले हाछ्यु गर्दा, खोक्दा सर्न सक्छ रे। त्यसैले सामान किनमेल गर्दा एकअर्कासँग कम्तिमा एक मिटर टाढा बस्नु पर्छ रे।
साथीहरू तपाईंहरू पनि यसै गर्नुस् है। यसो गर्दा भाइरस फैलन पाउँदैन। हामी सधैं सफा हुने र ताजा खानेकुरा मात्र खानु पर्छ रे। बाबाले भन्नुभएकाे त्यही कुरा समाचारमा पनि भनिरहन्छ। मैले बाबासँग नेपाली समाचार च्यानल पनि हेर्ने गरेको छु। उहाँले भन्नुभएकाे कारोना भाइरस फैलन नदिन सबैले सतर्कता अपनाउनु पर्छ। माक्स र पञ्जा लगाएर मात्र सामान किनमेल गर्न जानुपर्छ भन्नुभएको छ। मेरो भाइ अलि धेरै चकचक गर्छ। म उसलाई पनि सम्झाउँछु।
मलाई आजकाल घरमा मामुसँग चेस खेल्न मन पर्छ। उहाँ घरको काम सेकेर मसँग चेस खेल्नु हुन्छ। कहिलेकाहीँ टिभीमा आउने समाचार अनि नेपाली चलचित्र हेरेर दिन बिताउने गरेको छु। बिहान उठेर कसरत गर्छु। भगवानलाई प्राथना पनि गर्छु। बाबाले मलाई ल्यापटप किनिदिनु भएको छ। त्यसमा विभिन्न गेमहरू खेल्छु। विश्वका धेरै महत्वपूर्ण कुराहरू इन्टरनेटमा खोजेर हेर्ने गरेको छु। इन्टरनेट भएकाले विश्वका हरेक देशहरूको बारेमा र अरू पनि धेरै विषयमा जानकारी लिन सजिलो भएको छ।
मेरो भाइ टिभीमा डोरेमनको कार्टुन धेरै हेर्छ। म उसलाई कार्टुनबाहेक अरू पनि हेर्न भन्छु तर उ मान्दैन। उ अहिले कक्षा ३ को परीक्षा दिएर बसेको हो। मलाई हजुरबुबा र हजुरआमा भएको ठाउँ मूलपानी जान मन छ। के गर्ने लकडाउन छ। अनि मेरो दिदी र भाइहरूलाई मूलपानीमा बोलाएर सँगै गफ गर्न अनि धेरै खेल्न मन लागेको छ। लकडाउनले गर्दा सबैजना एकै ठाउँमा जम्मा हुन पाएका छैनौं।
हजुरबा-आमासँग भिडिओ-कल गरेर गफ गर्ने गरेको छु। दिदी तथा भाइबहिनीहरूसँग पनि बेलाबेलामा भिडिओ-कल गर्छु। मलाई हजुरबा-आमाले धेरै माया गर्नुहुन्छ। लकडाउन खोलेपछि म पहिला हजुरबुवाआमालाई भेट्न मुलपानी जान्छु।
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com