सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
कोरोना सबभन्दा पहिला चीनमा देखिएको भाइरस हो। यस भाइरसले चीन, इटली, अमेरिका जस्ता ठूला देशहरूलाई पनि क्षति पुर्याएको छ। हाल सम्ममा सबैभन्दा संक्रमित देश अमेरिका हो। सबै विकसित देशमा धेरै मानिसको मृत्यु भइसकेको छ।
कोरोना भाइरस डिसेम्बर, २०१९ मा देखिएको हो। त्यसैले यो भाइरस बाट लाग्ने रोगलाई कोभिड˗१९ भनिन्छ। नेपालमा आजसम्म ७० भन्दा बढीलाई लागेको छ। अरु बढ्ने अवस्था छ। यसको औषधि अहिलेसम्म पत्ता लगाउन सकिएको छैन। अर्थात्, हालसम्म भेट्टाउन सकिएको छैन।
अहिले यसको औषधि भनेकै घरभित्र बस्ने, बाहिर ननिस्कने, मनतातो पानी धेरै पिउने र हरिया सागसब्जी खानु नै हो। त्यसैले, यस रोगको रोकथामका लागि सरकारले देशभरि लकडाउन गरेको छ। तै पनि मानिसहरू सामान किन्ने बहाना पार्दै बाटोमा हिँड्छन्।
मानिसहरूले यस्तो महामारी आएको भन्ने थाहा पाए पनि, लकडाउन आफ्नै लागि हो भन्ने बुझ्दाबुझ्दै पनि बाटोमा हिँड्छन्। अत्यावश्यक काम नपर्दा, बाटोमा हिँड्ने मानिसलाई प्रहरीले कारबाहीसमेत गरिरहेको छ।
कारोना भाइरसबाट हामीले केही पाठ पनि सिक्दैछौं। धेरै मानिसको मुखमा हात लगाउने र नङ टोक्ने बानी हुन्छ। त्यसैले हामीले हात धुन सिक्यौं। धेरै पानी पिउन सिक्यौं र हरियो सागसब्जी प्रशस्त खानुपर्छ भन्ने सिक्यौं। सधैं सफा रहनुपर्छ भन्ने कुरा राम्रोसँग सिक्यौं।
कोरोना भाइरसको कारण लकडाउन हुँदा वातावरण सफा भएको छ। याे भाइरसको कारण कोभिड˗१९ रोग लाग्दछ। यो भाइरस मानिसको शरीरमा पसेपछि १४ दिन भित्रमा यसको लक्षण देखिन्छ।
टाउको दुख्ने, १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, रूघा र सुख्खा खोकी लाग्ने यस रोगको मुख्य लक्षण हुन्। कोरोना भाइरसका कारण हाम्रो घर वरिपरि पनि लकडाउन छ। त्यसैले हामीलाई केही कुरा राम्रो र केही कुरा नराम्रो भएको छ।
लकडाउनका कारण हामी छुट्टिका बेला पनि बाहिर निस्कन पाएका छैनौं। स्कुल जान परेको पनि छैन। गृहकार्य पनि गर्न परेको छैन। घर बसेरै खेल्न र टिभी हेर्न पाएका छौं। परिवारका सबैजना एकै ठाउँमा बस्न पाएका छौं र सपरिवार एकै ठाउँमा हुन पाउँदा रमाइलो पनि भएको छ।
लकडाउन हुन्छ भन्ने समाचार सुनेपछि हामी खाद्दान्न र अन्य सामान किनेर आयौं। त्यसैले पनि हामी बाहिर निस्किन परेको छैन। घर बसेरै थरीथरीका मीठा खानेकुरा खान पाएका छौं। कोरोना भाइरसका कारण हामीलाई डर पनि लागेको छ।
लकडाउनले गर्दा हामी घरभित्रै बस्नु परेको हुँदा हामीले परिवारमा नजिक हुन पाएका छौं। परिवारसँग नजिकिँदा हामीलाई खुसी पनि लागेको छ।
(आरोग्या अर्याल सौरदिप बोर्डिङ स्कुल, बनस्थली, काठमाडौंमा कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com